दाङ । “नयाँ सोच, नयाँ अठोट – यसपालि रुखमा भोट, बदल्यौं कांग्रेस, बदल्छौँ देश” भन्ने मूल नारासहित नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण किशोर घिमिरेले सोमबार घोराही–४ र १७ का विभिन्न टोलमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार घिमिरेले राष्ट्रिय राजनीतिक परिस्थिति, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा तथा सुशासनको सवाललाई केन्द्रमा राख्दै मतदातासँग संवाद गरेका थिए । उनले देश अहिले राजनीतिक संक्रमण, आर्थिक सुस्तता, युवापलायन र रोजगारी संकटजस्ता गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै अब स्थिर, जिम्मेवार र लोकतान्त्रिक नेतृत्वको आवश्यकता रहेको बताए ।
उनले विगतका कमजोरीबाट पाठ सिक्दै कांग्रेसलाई रुपान्तरण र सुदृढीकरण गर्ने अभियान सुरु भएको दाबी गर्दै भने, “अबको कांग्रेस पुरानै शैलीमा होइन, नयाँ सोच र स्पष्ट नीति–दृष्टिका साथ अघि बढ्छ । पार्टीभित्र सुधार र देशमा समृद्धि—यी दुई लक्ष्य हाम्रो प्राथमिकता हुन् ।”
घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन, आर्थिक पुनरुत्थान, कृषि र पर्यटन प्रवर्द्धन, साना तथा मझौला उद्यमको संरक्षण, तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखिएको बताए । उनले केन्द्रको नीतिगत स्पष्टता र स्थानीय विकासबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै दाङ क्षेत्र नम्बर–२ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति, कृषिमा मल–बीउको सहज उपलब्धता, स्वास्थ्य सेवाको पहुँच तथा युवाका लागि रोजगारी सिर्जनाजस्ता विषय उठाएका थिए । मतदाताले चुनावका बेला मात्र नेता गाउँ आउने र जितेपछि बेवास्ता गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै यसपटक प्रत्यक्ष जवाफदेही नेतृत्व चाहिएको बताएका थिए ।
त्यस अवसरमा घिमिरेले आफू निर्वाचित भएपछि नियमित रूपमा जनतामाझ फर्किने, गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
“राजनीति सेवा हो, सत्ता होइन,” उनले भने, “जनताको विश्वास जित्न व्यवहारमै परिवर्तन देखाउनुपर्छ ।”
राष्ट्रिय राजनीतिमा बढ्दो वैकल्पिक शक्तिको बहस र पुराना दलप्रतिको आलोचनालाई स्वीकार्दै उनले कांग्रेसले आत्मसमीक्षा गर्दै सुधारको बाटो रोजेको दाबी गरे । लोकतन्त्रको रक्षासँगै पारदर्शिता, उत्तरदायित्व र नीतिगत स्थिरतामार्फत देशलाई समृद्धिको दिशातर्फ लैजान कांग्रेस सक्षम रहेको उनको भनाइ थियो ।
घोराही–४ र १७ का विभिन्न टोलमा सम्पन्न घरदैलो कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य लिला नेपाली, दाङका नेता एवं महासमिति सदस्य भुप बहादुर डांगी, क्षेत्र नम्बर–२ (क) का सभापति प्रकाश श्रेष्ठ, वडा नम्बर–१७ का सभापति बुझौना चौधरी , वडा नम्बर–४ का सभापति नारायण जिएमलगायत स्थानीय स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
