• २ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संविधान र लोकतन्त्रबारे व्यवहारिक सिकाइ: बुटवलमा नमुना संसद अभ्यास




बुटवल। नेपाल प्रगतिशील युवा सञ्जाल, रुपन्देहीको आयोजनामा दुईदिवसीय प्रथम लुम्बिनी प्रदेशस्तरीय संघीय नमुना संसद अभ्यास बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो दिन नेपालको संसदीय पद्धति, कानुन निर्माण प्रक्रिया तथा संसदको अधिवेशन आह्वानदेखि अन्त्यसम्मका विषयमा प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो। साथै नमुना निर्वाचनसमेत सम्पन्न गरिएको आयोजकले जनाएको छ। दोस्रो दिन भने वास्तविक संसदको झल्को दिने गरी अभ्यास सत्र सञ्चालन गरिएको थियो।

संसद सत्रपश्चात् संस्थाका अध्यक्ष आकाश ओलीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता यमलाल खनालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले कानुनका विद्यार्थीका लागि नमुना संसद कार्यक्रमले सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासबीचको खाडल पुर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वर्तमान अवस्थामा कानुनका विद्यार्थीहरू संविधान, विधिको शासन तथा लोकतन्त्रको रक्षामा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लका निर्देशक अधिवक्ता बद्री प्रसाद शर्मा गौतम, पीपीएलए रुपन्देहीका सचिव अधिवक्ता मेघनाथ खनाल, अनेरास्ववियु रुपन्देहीका सचिव सरोज खनाल, युवा अधिवक्ता नवीन खनाल तथा आरम्भ कानुन शिक्षा केन्द्र बुटवलका सञ्चालक सुनिल पौडेललगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापकसमेत रहनुभएका पीपीएलए रुपन्देहीका सचिव मेघनाथ खनालले नेपाल प्रगतिशील युवा सञ्जाल देशभरबाट रुपन्देहीमा आई विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जोड्ने सेतु बनेको बताउनुभयो।

देशका करिब ३५ भन्दा बढी जिल्लाका ९० जना सहभागी रहेको कार्यक्रममा उत्कृष्ट वक्ताका रूपमा निर्जना थारु र लक्की पुन, उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा अङ्किता पराजुली र खेमप्रसाद आचार्य तथा उत्कृष्ट नेतृत्वकर्ताका रूपमा तेजबहादुर बिक पुरस्कृत हुनुभएको थियो।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष आकाश ओलीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै देशका युवाहरू भीडको पछि होइन, सत्यको पक्षमा अघि बढेर देशलाई निकास दिनुपर्ने समय आएको बताउनुभयो। संस्थाका उपाध्यक्ष ललित बुढामगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव टोपजङ्ग बुढाथोकीले गर्नुभएको थियो।

Facebook Comments