घोराही, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ निर्वाचन क्षेत्र नं. २ को मूल निर्वाचन परिचालन समितिको प्रचारप्रसार बैठक सम्पन्न भएको छ । समितिको आज शनिबार घोराहीस्थित झिंगौरामा बसेको बैठकले निर्वाचन आयोगको नियमअनुसार फागुन ४ गतेदेखि १८ गतेसम्म चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाउने निर्णय गर्ने गरेको हो ।
बैठकले फागुन ४ गते खैरा – नारायणपुर, ५ गते सौडेकुला, ७ सर्रा, ८ गते बिजौरी, ९ दुधरास, १० मजगैं, ११ र १२ गते बंगलाचुली, १३ गते सुनपुर, १४ र १५ घोराही बजार, १६ गते ६ र ७ वडा, १७ गते ओखरा र १८ गते डुम्मरगाउंँमा चुनावी घरदैलो अभियान गर्ने निर्णय गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ का सबै वडाहरुमा निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसार अभियानलाई तीब्र बनाउने समेत बैठकले निर्णय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ निर्वाचन क्षेत्र नं. २ का मूल निर्वाचन परिचालन समितिका संयोजक पाटन सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
पार्टीका जिल्ला इञ्चार्ज सविन सीले पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी चुनावी अभियान अगाडि बढेको बताउनुभयो । उहाँले चुनाव भनेको लडाइको एउटा मोर्चा भएको हुँदा मेहनतकासाथ चुनावी प्रचारप्रसार अभियानलाई व्यापक बनाउनुपर्ने समेत बताउनुभयो । अहिले भोट कता जाने भन्ने कुनै टुंगो नभएको हुँदा मतदाताहरुसम्म पुगेर पार्टीका नीति र योजना बुझाएर गुलाफको फूलमा मत हाल्न अपील गर्नुपर्ने उहाँको भनाइ छ । पार्टी र संगठन भएका वडा र बस्तीहरुलाई सुरक्षीत बनाउन सकियो भने निर्वाचनमा परिणाम राम्रो आउने उहाँले बताउनुभएको थियो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले दाङमा तीन वटा मूल निर्वाचन परिचालन समिति गठन भएर चुनावी अभियान अगाडि बढीरहेको बताउनुभयो । उहाँले विभिन्न भ्रमित प्रचारलाई राजनीति रुपबाटै जवाफ दिन सक्नुपर्ने समेत बताउनुभयो । जिल्लाभरी नै निर्वाचनको माहोल पार्टीप्रतिको राम्रो रहेको जानकारी दिँदै चुनावलाई संघर्षको रुपमा लिनुपर्ने उहाँको भनाइ छ । घरदैलो अभियानको क्रममा मतदाताहरुको घरघरमा पुग्दा पार्टीप्रति बढ्दो आकर्षण देखिएको हुँदा चुनावी अभियानलाई बस्तीस्तरमा व्यापक बनाउनुपर्ने उहाँले बताउनुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को दाङ निर्वाचन क्षेत्र नं. २ का मूल निर्वाचन परिचालन समितिका संयोजक पाटन सीले बैठकको बारेमा जानकारी दिँदै निर्वाचन आयोगको नियमअनुसार फागुन ४ देखि १८ गतेसम्म क्षेत्र नं. २ को बिजौरीदेखि बंगलाचुलीसम्म औपचारिक चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाउनुपर्ने बताउनुभयो । उहाँले वडा तहसम्मको कमिटीहरुले पनि चुनाव प्रचारप्रसारलाई योजनाबद्द रुपमा अगाडि बढाउनुपर्ने समेत बताउनुभएको थियो ।
निर्वाचन क्षेत्र नं. २ समानुपातिक उम्मेदवार अशोका भण्डारीले हालसम्म चुनावी लक्षित घरदैलो अभियानलाई तीब्रता दिएको बताउनुभयो । उहाँले घरदैलो अभियानको क्रममा व्यक्तिगत र पार्टीको परिचय दिँदै चुनावमा गुलाफको फूलमा भोट माग्ने र भोट हाल्ने विषयमा मतदाताहरुलाई सहजीकरण गर्दै आइरहेको समेत बताउनुभएको थियो ।
बैठकमा सहभागी वडका इञ्चार्ज तथा सेक्रेटरीहरुले चुनावी रिपोर्टिङ राख्दै फागु २१ गते हुने निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि बस्तीस्तरसम्म पुगेर प्रचारप्रसार व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
