घोराही, २ फागुन । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान बीरगञ्जले गोतामे पत्रकारिताको स्वर्ण पदक दाङका वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मालाई प्रदान गरेको छ । प्रतिष्ठानले आज शनिबार घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा सो पदक शर्मालाई प्रदान गरेको हो ।

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान बीरगञ्जका अध्यक्ष जगदीश प्रसाद शर्माको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्व अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शर्मालाई एक तोलाको सुनको पदक र सम्मान पत्रले सम्मान गरिएको थियो ।
प्रतिष्ठानका सचिव हिमाल चन्द्र गौतमले पत्रकार गोपालचन्द्र गौतमको बारेमा जानकारी दिँदै पञ्चायती कालमा गौतमले गरेको साहसिक पत्रकारिता अविस्मरणीय रहेको बताउनुभयो । उहाँले गौतमको २०४६ फागुन २ गते निधन भएपश्चात् उहाँको स्मृतिमा प्रतिष्ठान गठन गरेर हरेक वर्ष पत्रकारिता क्षेत्रमा काम गर्ने एकजना पत्रकारलाई नगद १० हजार पुरस्कारदेखि लिएर हाल एक तोला सुनको पदक दिँदै आएको समेत बताउनुभएको थियो ।
प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले साहित्यकार तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको बारेमा संक्षिप्त परिचय दिँदै
शर्मा बिद्रोह र निरन्तर परिवर्तनका लागि लडेको योद्धा भएको बताउनुभयो । उहाँले शर्मा राजनीतिक र पत्रकारितामात्र नभएर बहुआयामिक व्यक्तित्वको रुपमा पनि रहनुभएको समेत स्पष्ट पार्नुभयो । हिजोको त्यो कठिन परिस्थिति, समय र संर्घषका बीचमा पनि उहाँले समाजको निरन्तर क्रान्ति र परिवर्तनका लागि आफ्नो साहित्यकार र पत्रकारितालाई निरन्तरता दिँदै आएको उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखका अध्यक्ष सन्तोष सुवेदी, सम्पूर्ण साहित्यकारको तर्फबाट राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त लगायतले शुभकामना व्यक्त गर्दै दाङको पत्रकाररिता र साहित्य क्षेत्रमा नारायणप्रसाद शर्माको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार महासंघ दाङका सचिव जेएन सागरले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
