• २६ माघ २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजनीति स्वार्थका लागि होइन, जनताको मुक्तिका लागि हो : महासचिव विप्लव




श्रवण कुमार यादव
दाङ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी) का महासचिव विप्लवले आफ्नो पार्टीको राजनीति व्यक्तिगत लाभ वा सत्ता प्राप्तिका लागि नभई नेपाल र नेपाली जनताको मुक्तिका लागि समर्पित रहेको बताएका छन्।नेकपा(माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा लमहीमा चुनावी विषेश प्रशिक्षण कार्यक्रममा उनले पार्टीसँग व्यक्तिगत सम्पत्ति केही नभएको उल्लेख गर्दै “हाम्रो सम्पत्ति भनेकै नेपाली जनता, श्रमिक वर्ग, उत्पीडित समुदाय र नयाँ पुस्ता हो,” भने।

महासचिव विप्लवले पार्टीले जनताको पक्षमा निस्वार्थ रूपमा लामो समयदेखि संघर्ष गर्दै आएको बताउँदै त्यसका लागि त्याग, बलिदान, जेल जीवन र पीडाका अनेक चरण पार गरेको उल्लेख गरे। “हामी उत्साहित हुन्छौँ भने जनताका कारणले हुन्छौँ, संघर्षमा होमिन्छौँ भने पनि जनताकै कारणले हो,” उनले भने।

उनका अनुसार पार्टीले आफ्ना विचार र मुद्दा सशस्त्र संघर्ष, विद्रोह, आन्दोलन, जेल र सडकमार्फत पनि जनतासम्म पुर्‍याइसकेको छ भने अहिले निर्वाचनमार्फत प्रत्यक्ष घरघरमा पुगेर जनताको बीचमा आफ्ना कुरा राख्ने अवसर प्राप्त भएको छ। “हाम्रा विषय भनेका जनताकै विषय हुन् , दुःखी, पीडित र श्रमिक जनताको विषय,” उनले स्पष्ट पारे।

महासचिव विप्लवले देशभर उम्मेदवार तथा कार्यकर्ताले जनताबाट सकारात्मक प्रतिक्रिया र समर्थन पाइरहेको दाबी गर्दै किसान, मजदुर, सुकुम्बासी, महिला, जनजाति र बुद्धिजीवी सबै वर्गले पार्टीप्रति विश्वास व्यक्त गरिरहेको बताए। “यो समर्थन केवल एक क्षेत्रको होइन, देशैभर फैलिएको छ,” उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लवले सत्य र परिवर्तन एकैचोटि हासिल नहुने उल्लेख गर्दै त्यसका लागि दीर्घकालीन त्याग र संघर्ष आवश्यक पर्ने बताए। निर्वाचनलाई पनि पार्टीले संघर्षको एक मोर्चाका रूपमा लिएको उनको भनाइ छ। “हामी संसद सुविधा भोग्न होइन, जनताको मुद्दा उठाउन र राज्य व्यवस्था बदल्न जान खोजिरहेका छौँ,” उनले बताए।

महासचिव विप्लवले वर्तमान राज्य संरचना र अर्थतन्त्र जनताको पक्षमा नरहेको आरोप लगाउँदै श्रम गर्ने जनताको सम्मान हुने, मेहनतको मूल्य सुनिश्चित हुने र दलालमुखी अर्थतन्त्रको अन्त्य हुने व्यवस्था निर्माण गर्ने पार्टीको लक्ष्य रहेको स्पष्ट पारे।

उनका अनुसार पार्टीका आगामी कदमहरू नेपाली जनताको सुझाव, सल्लाह र मतका आधारमा तय हुनेछन्। “हाम्रो अन्तिम लक्ष्य जनताको राज्य स्थापना गर्नु हो,” उनले जोड दिए।

कार्यक्रम नेकपा (माओवादी) का लुम्बिनी प्रदेश समिति इन्चार्ज सन्तोष बुढा मगर (विषम) को अध्यक्षता तथा नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘ विप्लव’ काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Facebook Comments