• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मटावा र गुरुवा प्रथालाई कानुनी मान्यता दिनुपर्छ : आचार्य




नारायणपुर। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य निर्मल आचार्यले थारु समुदायको मटावा र देशबन्ध्या प्रथालाई सामाजिक मान्यता मात्र नभई कानुनी मान्यता दिनुपर्ने बताउनुभएको छ।

मटावा महासंघ दाङको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता आचार्यले थारु समुदायका परम्परागत धार्मिक, सांस्कृतिक प्रथाका रूपमा रहेका मटावा, देशबन्ध्या प्रथा तथा भुहियारथान संरक्षणका लागि राज्यले कानुनी मान्यता दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। यसो गर्न सके थारु समुदायप्रति न्याय सुनिश्चित हुने उहाँको भनाइ थियो।

मटावा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले थारु समुदाय धर्म, संस्कृति र परम्पराले समृद्ध समुदाय मात्र नभई आफ्नै पहिचानसहितको राष्ट्रसरह भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “थारुहरूको आफ्नै कानुन, आफ्नै धर्म–संस्कृति, चालचलन, परम्परागत जन्म र मृत्यु संस्कार, आफ्नै नीति र नेतृत्व छन्। त्यसैले थारु समुदाय समुदाय मात्र होइन, एउटा राष्ट्र नै हो। यी मान्यता र परम्परालाई कानुनी रूपमा वैधानिकता दिनुपर्छ।”

थारु समुदाय ऐतिहासिक रूपमा उत्पीडन र विभेदमा परेको जाति भएकाले यसको उत्थान र विकासका लागि जनयुद्धदेखि हालसम्म कम्युनिस्ट पार्टी निरन्तर लागिपरेको उहाँले बताउनुभयो। वर्गीय र जातीय विभेदविरुद्धको आन्दोलनमा थारु समुदाय उत्साहका साथ सहभागी हुँदै आएको पनि उहाँको भनाइ थियो।

थारु समुदाय सिर्जनशील र उत्पादनशील भएकाले यसको समग्र विकासका लागि आधुनिक सीप विकास, आधुनिक उपकरणको प्रयोग, सीपमा आधारित शिक्षा तथा कृषिमा आधारित रोजगारी प्रवर्द्धन आवश्यक रहेको नेता आचार्यले औंल्याउनुभयो।

उहाँले थारु समुदायका भुहियारथानको संरक्षण र संवर्द्धनका लागि राज्यले ती स्थललाई धार्मिक सम्पदाभित्र सूचीकृत गरी पूजा–आजाका लागि आर्थिक अनुदान वा व्यवस्थापनको व्यवस्था गर्न सके धार्मिक गतिविधि थप चलायमान हुने धारणा राख्नुभयो।

कार्यक्रममा मटावा महासंघका केन्द्रीय सदस्य हल्लु चौधरीले थारु संस्कार र संस्कृतिको संरक्षणप्रति राज्यले निरन्तर निराशाबोध गराउँदै आएको टिप्पणी गर्नुभयो। थारु समुदायका धार्मिक तथा सांस्कृतिक चालचलन भूमि र मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि राज्यले थारुहरूको वैधानिक नीति र विधिलाई उपेक्षा गर्दै आएको उहाँको भनाइ थियो।

कार्यक्रममा मटावा दगीशरण अध्यक्ष जगत चौधरी, बुझौना चौधरीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो। मटावा महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बुद्धिराम चौधरीले गर्नुभएको थियो।

अधिवेशनमा जिल्लाका करिब दुई सयभन्दा बढी थारु मटावा, गुरुवा तथा अगुवाहरूको सहभागिता रहेको थियो।

Facebook Comments