श्रवण कुमार यादव
देउखुरी। लमही जेसीजको २६ औं पद हस्तान्तरण, पुरस्कार वितरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार लमहीस्थित होटल आश्रयमा सम्पन्न भएको छ। कार्यक्रममार्फत वर्ष २०२५ को कार्यसमितिबाट वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरिएको हो।
नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष सन्दीप भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी रामदिन चौधरीले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष जेसी जय प्रकाश पौडेललाई चाँदीको चेन लगाइदिँदै पद हस्तान्तरण गर्नुभएको थियो। बाजागाजासहित नव नियुक्त अध्यक्ष पौडेललाई मंचमा प्रवेश गराइएपछि औपचारिक पद हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा निर्वाचन संयोजक मुकेश चौधरीले वर्ष २०२६ का नयाँ पदाधिकारीहरूको औपचारिक घोषणा गर्नुभएको थियो। त्यस अवसरमा वर्ष २०२५ का अध्यक्ष जेसी रामदिन चौधरीले नव नियुक्त अध्यक्ष जेसी जय प्रकाश पौडेललाई सपथ ग्रहण गराउनुभएको थियो भने अध्यक्ष पौडेलले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जेसी रामदिन चौधरीले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले लमही जेसीजलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अघि बढाउन सबैको निरन्तर सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
नव निर्वाचित अध्यक्ष जेसी जय प्रकाश पौडेलले जेसीजको मूल्य, उद्देश्य र अनुशासनलाई आत्मसात् गर्दै युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वर्ष २०२५ मा आर्थिक सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। साथै सुपरिवेक्षण मूल्यांकन समितिका अध्यक्ष खेमराज घिमिरेले उत्कृष्ट कार्यसम्पादन गर्ने पदाधिकारीहरूलाई अवार्ड पत्र प्रदान गर्नुभएको थियो। पूर्व अध्यक्ष उमा कान्त चौधरीले नव निर्वाचित पदाधिकारीहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।
सम्पन्न कार्यक्रममा विभिन्न विधामा जेसीजलाई योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने लमही जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड अफ ट्रस्टीजका प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अतिथिहरू तथा जेसीज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।
लमही जेसिजका कानुनी सल्लाहकार सरोज पाैडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन लमही जेसीजका महासचिव विदुर शर्माले गर्नुभएको थियो।



सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
