• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषदमा एकल रचना वाचन




दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्दै आएको नियमित एकल रचना वाचनको त्र्यासीऔँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गर्नुभएको छ।

शुक्रबार आयोजित कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमाध्यमबाट आफ्ना अनुभूति र समाजप्रतिको दृष्टिकोण श्रोतामाझ प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वाचन गरिएका रचनामा माया–प्रेमका सूक्ष्म भाव, व्यक्तिगत भोगाइ, समाजको यथार्थ र समसामयिक राजनीतिक परिवेशप्रति व्यङ्ग्य समेटिएको थियो।

स्रष्टा योगीले संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै समाजमा विद्यमान विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुभएको थियो। सरल शब्दचयन र गहिरो भाव समेटिएका उहाँका रचनाले उपस्थित श्रोताको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक तथा साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। ती सबै गुण स्रष्टा योगीका रचनामा स्पष्ट रूपमा देखिएको उहाँको भनाइ थियो। साहित्यमा सानो कविताले पनि सिङ्गो आख्यान बोकेको हुनसक्ने उल्लेख गर्दै डा. गिरीले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष वा साङ्केतिक रूपमा योगीका रचनाले अभिव्यक्त गरेको बताउनुभयो।

‘साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्न संवेदनशील पाठक आवश्यक पर्छ,’ उहाँले भन्नुभयो। स्मृति योगीका रचनामा समाज, माटो र आत्मप्रतिको जिम्मेवारी स्पष्ट देखिएको उल्लेख गर्दै डा. गिरीले लेखनलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

राप्ती साहित्य परिषद् केन्द्रका पूर्व अध्यक्ष पुरुषोत्तम खनालले योगीले वाचन गर्नुभएको रचनाले समाजको यथार्थतासँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेकोमा खुसी व्यक्त गर्नुभयो। जीवनका भोगाइलाई साहित्यिक माध्यमबाट कलात्मक शैलीमा प्रस्तुत गर्न सके रचना अझ जीवन्त बन्ने उहाँको धारणा थियो।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ छ। स्रष्टा योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारहरूको धारणा रहेको थियो।

Facebook Comments