• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कोहलपुरमा ‘मुकुर’ विमोचन र विमर्श




कोहलपुर। पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा शनिबार बद्री ढकाल हिरामणिको लघुकथा कृति ‘मुकुर’ एक समारोहबीच विमोचन गरिएको छ। पूर्णिमाले प्रकाशनमा ल्याएको कृतिको नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य महानन्द ढकाल, प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, कृतिकारकी आमा लगायतले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महानन्द ढकालले पूर्णिमाका कृतिगत उपलब्धिको चर्चा गर्दै ‘मुकुर’ साहित्यिक यात्रामा थपिएको अर्को इँटा भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले बहुप्रतिभाका धनी कथाकार बद्री ढकालको कथाकारिता ‘मुकुर’मा स्पष्ट रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै यसलाई विविध विषयवस्तु समेटिएका पठनीय कथाहरूको सँगालोका रूपमा वर्णन गर्नुभयो।

कृतिमाथि समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले समीक्षात्मक विश्लेषण प्रस्तुत गर्दै ‘मुकुर’ले समसामयिक सामाजिक, शैक्षिक र राजनीतिक संवेदनालाई प्रभावकारी रूपमा समेटेको बताउनुभयो। उहाँले कृतिको संरचना, पात्र र परिवेशका पक्षहरूबारे पनि प्रकाश पार्नुभयो। अर्का समीक्षक प्रमोद सुवेदीले ‘मुकुर’को अङ्ग्रेजी अनुवादमा भाव, संस्कृतिचेतना, शब्दचयन र काव्यिक ओज सबै हिसाबले उत्कृष्टता देखिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित ‘मुकुर’ले नेपाली पाठकसँगै कोहलपुरको साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्राज्ञ शशिराम कार्की, लघुकथाकार जितबहादुर शाह, छविलाल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिबारे आफ्ना धारणा राख्नुभयो। प्रतिष्ठानका सल्लाहकार सागर गैरेले कृतिकार र संस्थाको परिचयात्मक जानकारी दिनुभएको थियो भने कृतिकार बद्री ढकालले सहभागीहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो।

समारोहमा भारतको भोपालबाट साहित्यकार शारिक रब्बानीसहित बाँकेका डा. इन्द्र भण्डारी, डा. राजकुमार थारू, इन्द्र वस्नेत, कल्पना पौडेल जिज्ञासु, खगेन्द्र गिरि कोपिला, ईश्वरी रिजाल, कपिल अन्जान, नवीन अभिलाषी, विष्णु पादुका, एकराज शर्मा, चरित्रा शाह, सुमित्रा न्यौपाने, खगेन्द्र अतल लगायत दाङ, बर्दिया, पोखरा, धनगढीलगायत क्षेत्रका सात दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो।

संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गर्नुभएको थियो।

Facebook Comments