रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको बताए।
आफू बोल्ने समय आउने उल्लेख गर्दै लामिछानेले अझै हिसाबकिताब गर्न बाँकी रहेको बताए। उनले भने, “न्यायको यो लडाइँ मेरो मात्रै होइन। मैले अहिले लड्न बाँकी छ भनेको तपाईंहरूका लागि, यो देशको न्यायका लागि हो। यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरिएको अन्याय केही पनि होइन। त्यसको सबै हिसाब गर्न बाँकी छ। आजलाई यति मात्रै भन्छु—हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी नै छ।”

काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा आउने तयारी भए पनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएका थिए। त्यसपछि उनी सडकमार्ग हुँदै साँझ पौने छ बजे भैरहवा कारागार पुगेका थिए।
लामिछाने कारागार आइपुग्दा र रिहा भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले हुटिङ गर्दै खुशियाली मनाएका थिए।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतका कागजात पूरा भएपछि लामिछानेलाई रिहा गरिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो। बिगोबापत दुई करोड चौहत्तर लाख चौरासी हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
