गोविन्द खड्का
घोराही । भ्युटावरमा उक्लिएपछि दक्षिणतिर हेर्दा सर्प गुडुल्किएझैँ लमतन्न फैलिएको बबई नदी देखिन्छ। उत्तरबाट दक्षिणतिर आएर फेरि मोडिँदै उत्तरतिर बग्ने यो नदी यतै बगेको हो भनेर झट्टै चिन्न सकिँदैन। अचल, कञ्चन र हरियो बबई नदी चारैतिरबाट घने वनस्पतिले सजिएको छ।
यही नदी अवलोकन गर्न बाँसको भ्युटावर बनाइएको हो। खुइलिँदै जर्जर देखिने कपडाले मोडिएको गेट पार गरेपछि भ्युटावर पर्छ। गेटको कपडा समयमा–समयमा फेरिने हो भने भ्युटावरको इज्जत पनि बढ्ने संचालकहरूको बुझाइ छ।
भ्युटावर हेर्दा खज्मजिएका सिँढी, कालो रङ लागेका बाँस र भाँचिएका अङ्गसहितको जीर्ण संरचना देखिन्छ। रेलिङ आधा झरेर उक्लिनै नसक्ने अवस्थामा पुगेको छ। मक्किएको बाँसले बनेको भ्युटावरमा एक जना माथि–तल गर्दा पनि पूरै हल्लिन्छ।

“माथि गएर हेर्न चाहनुहुन्छ, तर उपाय छैन,” गुरुकुलका संचालक प्रकाश भट्टराई भन्नुहुन्छ। उहाँका अनुसार सऱ्यु नदी अवलोकन गर्ने चाहना धेरैले राखे पनि थोरैले मात्र जोखिम मोलेर चढ्न सक्छन्। नजिकैको सुन्दर प्रतीक्षालयबाट नदी हेरेर पर्यटकहरूले चित्त बुझाउनुपर्ने अवस्था छ।
गुरुकुल उत्तरबाहिनी सरेपछि ढिकाबाट बबई नदीको मनमोहक दृश्य देखिन थाल्यो। परिसरभरि आँपसहित विविध जातका रुखले वातावरण हरियाली छ्यापिएको छ। उत्तरबाहिनी सजिलै देखिने र आकर्षक बन्ने विश्वाससहित भ्युटावर निर्माण गरिएको संचालक प्रकाश बताउनुहुन्छ।
“स्थानीय जातका बाँस प्रयोग गरेर बनाएका हौँ,” उहाँले भन्नुभयो, “शुरुआतमा आर्थिक अवस्था कमजोर थियो, तर भ्युटावर अत्यावश्यक थियो, त्यसैले जति सकिन्छ त्यति बनाएौँ।” अहिले दाता खोज्ने काम भइरहेको र केहीले सहयोग गर्ने इच्छा पनि व्यक्त गरेको उहाँको भनाइ छ। “चार–पाँच लाख रुपैयाँ जति लाग्ने भएकाले सबै झस्किन्छन्। कोही दीर्घकालीन योगदान देखाउन चाहनेले अवसर छ; यसमा लगानी गर्नेले सधैँ धेरैको धन्यवाद पाउँछ,” उहाँले भन्नुभयो।
जोखिम बढेकाले बाँसको भ्युटावर भत्काउने तयारी भइरहेको घोराही–७ का वडा सदस्य चिजबहादुर चौधरी बताउनुहुन्छ। उहाँका अनुसार सुरक्षित र टिकाउ भ्युटावर निर्माण अत्यावश्यक छ, जसले यहाँको पर्यटन आकर्षण बढाउनेछ। सऱ्यु नदीको अवलोकन गर्ने इच्छा भ्युटावरबाट मात्रै पूरा हुन्छ, किनकि त्यहाँबाट देखिने सुन्दर दृश्य भुईँबाट महशुस गर्न सकिँदैन।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
