• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका आचार्य प्रेस काउन्सिल अध्यक्षमा नियुक्त




घोराही । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि नेपाल मेलमिलाप परिषद्मा करिब तीन वर्षसम्म विज्ञ सदस्यका रूपमा कार्यरत आचार्य वरिष्ठ अधिवक्ता हुन्। उनकी नियुक्ति सम्बन्धमा केही टिकाटिप्पणी भए पनि प्रेस काउन्सिल ऐन–२०४८ अनुसार सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्तामध्येबाट अध्यक्ष चयन गर्न सकिने व्यवस्था छ। ऐनले पत्रपत्रिका क्षेत्रका विशिष्ट व्यक्तिबाट पनि चयन गर्न सकिने प्रावधान राखेको छ।

प्रेस काउन्सिलमा वरिष्ठ अधिवक्ता नियुक्त भएको यो पहिलो घटना होइन। यसअघि २०६९ सालमा बोर्णबहादुर कार्की पनि अध्यक्ष भएका थिए।

दाङमा जन्मिएका आचार्य २०४० सालमा अधिवक्ता बनेका हुन्। २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका उनले २०५१ मा नेपाल बार एशोसिएसनको कार्यसमितिमा सदस्यको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २०६० सालको कार्यसमितिमा उपाध्यक्षका रूपमा पनि कार्य गरे।

लामो समय नेपालगन्जलाई कर्मथलो बनाएका आचार्य हाल पूर्णकालीन वकालतमा सम्लग्न छन्। उनी ए.एच.एन. लिगलका सक्रिय वरिष्ठ साझेदार हुन्। करिब चार दशकदेखि वकालत पेसामा सक्रिय आचार्यले मेलमिलाप परिषद्मा पनि महत्त्वपूर्ण अनुभव बटुलेका छन्।

यसबाहेक उनले यूएसएड, द एशिया फाउन्डेसन, यूएनडीपी, नेपाल सरकार तथा नेसनल बिजनेस इनिसिएटिभलगायत प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाताका रूपमा काम गरेका छन्।

Facebook Comments