• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संस्मरणः नेताको भाषणभन्दा गाउँको मौनता धेरै सुखद !





गोविन्द खड्का

झन्डै दुई वर्षपछि यसपटक २०८२ कार्तिक ५ गते जन्मघर मुसिकोट–१०, चुन (रुकुम पश्चिम) पुगें। त्यो रात र भोलिपल्ट गरी दुई रात दाजु लोकबहादुर खड्काको घरमा बस्नुपर्‍यो। त्यहाँ वाइफाइ पनि रहेछ, त्यसैले दुई सुविधा एकैचोटि मिले—घरको माया र इन्टरनेटको सुविधा।

तिहारअघि नै म घोराहीबाट यात्रा थालेको थिएँ। तुलसीपुर–सल्यान हुँदै रुकुम पश्चिमको शितलपोखरी पुग्दा बाटोभरि दुई–तीनवटा मात्र भैलो भेटिए। बसमा धेरैबेर सुतिरहेकाले छेउका यात्रुहरूलाई भैलो देख्नुभयो? भनेर सोध्थेँ, तर उत्तर सबैको एउटै—कहीँ देखिएन। सल्यानतिर करिब एक दर्जनजति भैलो देखियो, रुकुम पश्चिममा केही बढी। त्यसबाहेक बाटो सुनसान नै। घोराहीमा भने चोक–चोकमा भैलो, डेगका स्वर, बाद्यवादन—पूरै शहर तिहारमय।

शितलपोखरी ओर्लिएपछि स्थानीय मैतालुसँग अटोमा यात्रा गर्ने मौका मिल्यो। सोलाबाङसम्म बसमा भेटिएका धेरैजना दंगाली नै थिए, त्यसपछि अटोमा सँगैका यात्रुहरू सबै स्थानीय। तिनै मैतालुहरू अटोको ढल्काइले निकै डराएका थिए—कतै गुर्किने, कतै चिप्लिने, कतै चिरामा परेर पल्टिने जस्तो। चालकको सानो गल्तीले ज्यानै जोखिम हुने अवस्था। ठाराढुंगादेखि सालघारीसम्मको ओरालोमा त सास रोकेरै यात्रा गर्नु पर्‍यो।

अटोमै ती मैतालुहरू भन्दै थिए—चुनावताका मेयर महेन्द्र केसीले ‘झुल्खेत–खलंगा’ र ‘सोलाबाङ–खलंगा’ रुटमा निःशुल्क बस चलाउँछु भनेका थिए। तर अहिले बाटोको हालत यस्तो। “भोट माग्दा एकथरी कुरा, काम गर्दा अर्कै,” उनीहरू रुष्ट थिए। कांग्रेस–कम्युनिस्ट उस्तै हुन् भन्दै गुनासो पोख्दै थिए। भदौ २४ गतेको क्षतिको प्रसंग पनि ल्याए—“नेताको घरमा समेत आगो लगाइयो—ठिकै भयो,” भन्दै असन्तुष्टि झिक्दै गए।

झुल्खेतमा उनीहरूसँग छुटिएँ। म भने दाजु जीवन र भाई वेदलाल खड्काले पठाइदिएको मोटरसाइकलमा घरतर्फ लागेँ। भान्जा विशाल बुढाको हातमा स्टियरिङ थियो। बाटो उकालो–ओरालो, ढुंगा–माटो सबै छिचोल्दै मोटरसाइकल चढ्दा अटोको डरभन्दा धेरै सहज लाग्यो।
२०५०–०५४ तिर हरेक दिन यहीँ बाटो हिँडेर बालकल्याण मावि झुल्खेत पढ्थ्यौँ। त्यतिबेला गाडी त कहाँ—बस आउँछ भन्ने कुरा मात्र सुनेको। आज भने अटो, बस, जिप—सबै चल्दै भेटिए। विकास नहुँदै कहाँ हो र? नेताहरूले भन्छन्—विकास भएन। नागरिकले भन्छन्—नेताले गरेनन्। तर बीपीले भनेझैं—“मेरो घरमा सडक आएन भनेर विकास भएन नभन्नू”—यही सत्य लाग्यो।

घरतर्फ जाँदै गर्दा मोबाइल खोलेर सामाजिक सञ्जाल चलाउने समय नै आएन। घरमा पुगेपछि वडा अध्यक्ष वसन्त खड्कासँग भेट भयो। उहाँको कार्यकाल डेढ वर्ष बाँकी रहेछ। मुसिकोट–चुन सडक कालोपत्रे गर्ने, केन्द्रीय प्रसारण लाइन ल्याउने योजना सुनाउनुभयो।
हामी सानैमा मुसीकोट खलंगाको बिजुली देखेर मोहित हुन्थ्यौँ—तर अहिले अधिकांश गाउँ झिलिमिली छन्। अब त केन्द्रीय लाइन आउने कुरा सुन्दा नै विकासको अनुभूति।

दाजुको घरमा भतिजी नविनाले—“वाइफाइ यतै राम्रो चल्छ, यहाँ बस्नुहोस्”—भनेपछि त झन् मिठो लाग्यो। त्यसैबखत मनमा आयो—अब गाउँ–गाउँमा वाइफाइ रहेछ। घोराहीमा फाइबर चलाउने बानी बिग्रेको रहेछ—जसरी पनि नेट चाहिने। भिडियो पोस्ट गर्ने बानी पनि पुगेको रहेछ। त्यो रात कुनै नेताको भाषण सुन्नुपरेन, कुनै समाचार हेर्नुपरेन। नेट पनि स्लो थियो, त्यसैले टाढै रहियो।
र आश्चर्य—मन निकै शान्त भयो।

भोलिपल्ट बेलुका मैतालु, चेली–बेटी सबै भेला भई भैलो खेलियो। डेग, मादल—सबैको तालमा राति नौ बजेसम्म रमाइलो। पुरानो सिङारु नाच, पैसेरुनाच, मयुर नाच अहिले प्रायः हराउँदै गएको देखेर मन खिन्न पनि भयो। खड्का डेरामा पहिले जति चहलपहल थियो, अहिले उतिकै छैन—वैदेशिक रोजगारी र बसाइँसाराइका कारण।

यो तीनदिने यात्रामा कुनै नेता भेटिएनन्, रेडियो–टिभी सुनेन, भाषण सुनेन। त्यसैले न पार्टी, न भ्रष्टाचार, न आरोप–प्रत्यारोपले मन भरियो। मन शान्त, स्वच्छ, हल्का।
त्यसैले लाग्यो—नेताको भाषण नसुन्दा पनि आनन्दले सुतिँदो रहेछ।

आजको पुस्ता लामो भाषण सुन्दैन। प्रोफाइल खोलेर—के काम गर्‍यो?—त्यही मात्र हेर्छ। जेन्जी विद्रोह पनि नेताको व्यवहार–बोलाइकै परिणाम थियो। अब उचाल्ने–खसाल्ने कुरा सुन्दै नखाने समय आइसक्यो।

एआई युगमा कसैलाई भ्रममा पार्ने कथा–कहानी चल्दैन। गोप्य कागजको पनि गोप्यता रहँदैन।
चार सेकेन्डको भिडियोले नै सत्य–असत्य छर्लंग हुन्छ। बालेन शाहजस्ता नेतृत्वको एउटा स्टाटस नै प्रभाव पार्छ।

त्यसैले राजनीतिक दलहरूले पुराना नारा, लामो प्रशिक्षण, शक्तिप्रदर्शन, महँगो सभा–जुलुस छोड्नुपर्ने समय आएको छ।
अब कामले बोल्ने, छोटो–छरितो र पारदर्शी राजनीति अगाडि बढ्नुपर्ने हो।

गाउँमा बाल्यकालमा ३०–५० बाख्रा, ४–१० भैँसी पालिने। तिनका खुरले बाटो बनाउँथे। अहिले घर–घरमा आठ–दश बाख्रा—घरैमा भकारा। तर बाटो पहिरोले बगाएको, मासिएको—कठिन। धन्न वडा अध्यक्ष खड्काले ढलान गरेर मुख्य बाटो जोगाउनुभएको छ।

यसरी गाउँको यात्रा, विकासका अनुभूति, सांस्कृतिक बानी, सामाजिक चेत—सबै मिसिएका ती तीन दिनले एउटा कुरा सिकाइदियो— नेताको भाषणभन्दा गाउँको मौनता धेरै सुखद हुन्छ। मौनता कै कारण मन पनि शान्त सुत्छ।

Facebook Comments