सुर्खेत: नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योस तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले बिहीबार वीरेन्द्रनगर, सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय परिवारसँग अन्तरक्रिया गरेका छन्।
सो अवसरमा राजदूत म्योसले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम सहित विश्वविद्यालय परिवारसँग छलफल गर्नुभएको थियो। राजदूत म्योसले मध्यपश्चिम विश्वविद्यालयमा समावेशी शिक्षाको प्रवर्द्धनमा नर्वेको सहकार्यको स्मरण गर्दै आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत म्योसले पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयमा अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षका हैसियतमा उपकुलपति प्रा. डा. गौतमले नेपाल र नर्वेबीचको सम्बन्ध मित्रतापूर्ण, सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित रहेको बताए। महामहिम राजदूत डाग्नीसँगको अन्तरक्रियाले आगामी दिनमा उच्च शिक्षाको विकासमा नेपाल-नर्वे सहकार्य नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उपकुलपति गौतमले मानव विकास सूचकांकका हिसाबले पछि रहेको कर्णाली क्षेत्रको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको र विश्वविद्यालयमार्फत हुने सहकार्यले दुई देशबीचको सम्बन्ध अझ सुमधुर बन्न टेवा पुग्ने बताए।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो भने कार्यक्रम सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले कार्यक्रम सञ्चालन गर्नुभयो।

विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसीले दुई मुलुकबीच औपचारिक रूपमा सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछिका सहकार्यहरूलाई स्मरण गर्दै नर्वेली राजदूत म्योसको अन्तरक्रियालाई महत्वपूर्ण र अर्थपूर्ण रहेको बताए।
कार्यक्रमको अन्त्यमा उपकुलपति प्रा. डा. गौतमले राजदूत म्योस, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रतिनिधि क्योको योकोसुका लगायतको टोलीलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरी विदाई गर्नुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
