नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो।
कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्।
आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।
पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।
पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।