तुलबहादुर कवँर मगर
भालुबाङ। दाङको राप्ती गाउँपालिकाले स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ।
गाउँपालिकाको आयोजनामा हुने सो कार्यक्रम आगामी कार्तिक १४ गते बिहान ११ बजेदेखि सुरु हुने भएको हो। महोत्सव राप्ती गाउँपालिका–३, मसुरियामा रहेको कृषि हाटबजारको उत्तरतर्फ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
महोत्सवमा गाउँपालिकाभित्र उत्पादन भएका विभिन्न पोषणयुक्त खाद्य परिकारहरू भुटेको मकै, भट्मास, सिन्की , कोदो/फापरको रोटी, बदाम, तरुल , मासको खरिया, ढिक्री, बटुक, केरा, मेवा, उखु, बधिया भालेलगायतका परिकारहरूको प्रदर्शनी र बिक्रीवितरण गरिनेछ। साथै, स्थानीय माैलिक कला, संस्कृति, भेषभूषा झल्कने देउसीभैलोका विविध सांस्कृतिक प्रस्तुति पनि रहने छ।
स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा सँगै पोषणयुक्त खाद्य बस्तुहरुको प्रवर्द्धन गरि आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने उदेश्यले साे कार्यक्रम आयोजना गरिएको बताइएको छ।
त्यसैगरी, महोत्सवमा स्टल दर्ता गर्न इच्छुक व्यक्ति, संस्था तथा समूहहरूलाई कार्तिक १२ गतेसम्म दर्ता गर्न आग्रह गरिएको छ।
स्टल दर्ता तथा थप जानकारीका लागि सुवास भट्टराई (९८४७८५०९८९) वा तुलबहादुर कवँर मगर (९८४७९६९२६८) मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महोत्सवले गाउँपालिकाको मौलिकता, ऐक्यता र सांस्कृतिक गौरवलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
