रोल्पा। जनज्योति नवप्रतिभा जनसंस्थाको आयोजनामा “क्लास टु करियर इन्डिपेन्डेन्ट कन्क्लेभ २०८२” भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। असोज सत्र गते सिद्धार्थ नमुना माध्यमिक विद्यालय, घोप्टेओढार–३, गंगादेब, रोल्पाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूमाझ संवाद गरिँदै विद्यार्थीलाई प्रेरणा र मार्गदर्शन प्रदान गरिएको थियो।

कार्यक्रममा ब्युरोक्रेसीतर्फ कमलराज वली, स्वास्थ्य क्षेत्रमा डा. जगतकिरण वली, शिक्षा क्षेत्रमा नेत्रलाल वली, प्राविधिक क्षेत्रमा इन्जिनियर चूडामणि डाँगी, मूर्तिकला क्षेत्रमा टोपबहादुर डाँगी, व्यवसाय क्षेत्रमा रुद्र खड्का, संगीत क्षेत्रमा रमेश डाँगी, कृषि तथा पशुपालन क्षेत्रमा लोकमान वली, सूचना–सञ्चार तथा प्रविधि क्षेत्रमा तिलक केसी, मिडिया तथा कन्टेन्ट क्रिएसन क्षेत्रमा के.बी. गुरुङ, युवा तथा खेलकुद क्षेत्रमा प्रेमबहादुर बिक, सुरक्षा क्षेत्रमा प्रहरी अधिकारी देवराज केसी र सिलाइकटाइ (टेलरिङ) क्षेत्रमा जिवराज परियार प्यानलिस्टका रूपमा सहभागी भएका थिए।
कन्क्लेभको सहजिकरण तेजबिक्रम वली, प्रविनकुमार वली र रस्मिता गिरीले गरेका थिए। कार्यक्रममा “काम सानो वा ठूलो हुँदैन” भन्ने सन्देशमार्फत सबै पेशा–व्यवसायलाई समान सम्मान दिनुपर्ने विचार प्रस्तुत गरिएको थियो। साथै विद्यार्थीलाई भविष्यबारे देखिने अन्योलता चिर्दै आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिइएको थियो।
विशेष उपलब्धिमध्ये पशुपालक लोकमान वलीले बाख्रापालन सिक्न इच्छुक युवालाई तीन महिनाको निःशुल्क तालिम दिने र एक जोडी उन्नत जातका बाख्रा उपहारस्वरूप उपलब्ध गराउने घोषणा गरे। मूर्तिकार टोपबहादुर डाँगीले मूर्तिकला सिक्न इच्छुक युवालाई निःशुल्क सीप तालिमसहित पारिश्रमिक र रोजगारीको ग्यारेन्टी दिने घोषणा गरे।
कार्यक्रम संयोजक तेजबिक्रम वलीका अनुसार यस कन्क्लेभले युवालाई स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता हासिल गर्न प्रेरित गर्ने कार्य गरेको छ।
भरत खड्काको स्वागत गीतबाट सुरु भएको उक्त कार्यक्रम लोकबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
