श्रवण कुमार यादव
राजपुर। दाङ जिल्लाको राजपुर गाउँपालिका-२, मटेरीया स्थित जन ज्योति माध्यमिक विद्यालयमा आइतबार बिहानैदेखि असाधारण उत्साहले भरिएको थियो । विद्यालयको प्राङ्गणमा प्रवेश गर्ने जो-कोहीले आज यहाँ कुनै विशेष गतिविधि भइरहेको छ भन्ने अनुभव नगरी रहनै सक्दैनथ्यो । रंगीन ब्यानरहरू, विद्यार्थीहरूले सजाएका साना–ठूला पोस्टरहरू र विभिन्न परियोजनाका लागि ल्याइएका सामाग्रीले विद्यालयको वातावरणलाई पूर्णतया बदलिदिएको थियो।
विद्यालयको प्राङ्गणमा प्रदर्शनीको लागि विशेष रूपमा सजाइएको थियो । पंक्तिपंक्तिमा टेबल राखेर त्यसमा विद्यार्थीहरूले आफ्ना परियोजना राखेका थिए। सेतो कागजमा लेखिएको पोस्टर टाँगिएको थियो। यसैबीच, विद्यालयको प्राङ्गणमा सयौँ विद्यार्थीहरू चहलपहल गरिरहेका थिए। कसैले आफ्नो मोडल मिलाउँदै थियो, कसैले पोस्टर टाँग्दै थियो, कसैले तार जोड्दै थियो। शिक्षकहरू कतै प्राविधिक सहयोग दिइरहेका थिए भने कतै उत्साहजनक शब्द उच्चारण गर्दै विद्यार्थीहरूलाई आत्मविश्वासी बनाउन व्यस्त देखिन्थे।
यही माहोल बीच विद्यालयले आयोजना गरेको STEAM शिक्षा अन्तर्गत विज्ञान प्रदर्शनी औपचारिक रूपमा सुरु भएको थियो।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र ‘बिलिभ कार्यक्रम’ को आर्थिक सहयोग र राजपुर गाउँपालिकाको समन्वयमा सम्पन्न सो कार्यक्रममा कक्षा ९ र १० का छात्र–छात्राले १५ वटा परियोजना कार्य तयार गरी प्रदर्शन गरेका थिए।
विद्यालयकाे मोडेल, प्रदूषण नियन्त्रण देखि पानी शुद्धीकरण प्रणाली, इलेक्ट्रिक मोटर, स्वास्थ्य देखि वातावरणीय संरक्षण सम्मका विविध विषय समेटिएका परियोजना तथा अन्य विज्ञानसँग सम्बन्धित यन्त्र र तीनका मोडलहरु प्रदर्शन गरेका थिए जसले प्रदर्शनीलाई ज्ञान र सिर्जनशीलताको खुला मञ्च बनाइदिएको थियो।
यस अवसरमा संवाद कक्षाका विद्यार्थीहरूले भविष्यमा जीवन वृत्ति विकासका सम्भावित पेशा–व्यवसायहरू जस्तै: डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, वकिल, बैंक मेनेजर, होटल मेनेजर, आर्मी, गायक आदि बन्नका लागि आवश्यक चरण र गर्नुपर्ने कार्यलाई आकर्षक चित्रमार्फत प्रस्तुत गरेका थिए।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र ‘ विलिभ कार्यक्रम’ की मूल्यांकन तथा अनुगमन अधिकृत अर्चना भुषालले,- `यहाँको विद्यालयमा भएकोे प्रदर्शनीले विद्यालयका भाइबहिनीहरुले साँच्चैको धेरै अगाडी बढिरहेको अनुभूति भएको बताउनुभएको छ। उहाँले स्टिम एजुकेसन लाई राम्राेसँग अध्ययनमा प्रयोग गरिराख्नुभएको बताउनुभएको हो।
त्यस्तै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर राज गिरीले यस्ता खालका प्रदर्शनी तथा सृजनात्मक गतिविधिहरुलाई विद्यालयले निरन्ता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले याे प्रकारको विज्ञानमैत्री विद्यालय बनाउनमा अझै धेरै भूमिका र समन्वय गर्नुपर्ने बताउनुभयो। आफ्नो विद्यालय अहिले राजपुर गाउँपालिकामै प्राथमिकतामा रहेको र अझै अगामी दिनमा विज्ञानमैत्रीमा पहल गरिने जानकारी दिनुभएको थियो।
त्यस्तै गरी विद्यालयका प्रधानाध्यापक केशव राम यादवले उक्त प्रदर्शनीमा तयार भएका सामग्रीहरू हाम्रोे गाउँघरमा पाइने नो कास्ट र लो कास्टका सामग्रीहरू जस्तै गत्ता, सिसा, काठका टुक्रा, प्लाष्टिक, कागज लगायतका टुक्राहरूबाट निर्माण गरिएकोे जानकारी दिनुभयो। उहाँले यो परियोजना निर्माण गर्ने काम विद्यालयमा बर्खे विदाको समयमा आफ्नो स्वयं निगरानी पहल र सहकार्यमा सफल भएको भन्नुभएको थियो।
उहाँले भन्नुभयो, “STEAM शिक्षा भनेको विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत गरेर पढाउने प्रक्रिया हो । यसले विद्यार्थीलाई केवल सूत्र र परिभाषा सम्झाउने होइन, समस्या समाधान गर्ने सीप, नयाँ सोच्न सक्ने क्षमता, सिर्जनात्मक ढङ्गले समाजको आवश्यकता पूरा गर्ने क्षमता प्रदान गर्छ । हामीले पढाउँदै आएका परम्परागत अभ्यासहरू महत्वपूर्ण छन्, तर ती अभ्यासलाई व्यवहारमा उतार्ने माध्यम भने यही STEAM हो।“
कार्यक्रमकाे योजना बारे जानकारी गराउँदै कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सीप र भविष्य निर्माणमा STEAM शिक्षाको महत्वलाई अझ प्रभावकारी रूपमा प्रष्ट पार्दै विद्यालयका प्रधानाध्यापक यादवले बताउनुभएको थियो।
प्रदर्शनी कार्यक्रम विद्यालय व्यवस्थापन समिति (बि.व्य.स.)का अध्यक्ष अमरराज गिरीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्य, वडा नं. २ का वडा अध्यक्ष ओम प्रकाश यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तैगरी शिक्षक अभिभावक संघका अध्यक्ष मोहनलाल बि.क., अतिथि शिक्षक पंकज शर्मा, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका प्रतिनिधि-कर्मचारी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।
प्रदर्शनीको अर्को विशेष पक्ष भनेको अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। बालबालिकाले बनाएका सामग्रीहरू हेरेर अभिभावकहरू उत्साहित भएर प्रश्नहरू गरी विद्यार्थीहरूको ज्ञानको स्तर र बुझाइको प्रशंसा गर्नुभएको थियो। विद्यार्थीहरू आफ्ना सिर्जनात्मक प्रयोगहरू आफ्नै अभिभावक तथा अन्य अतिथिहरू समक्ष प्रस्तुत गर्न पाउँदा उत्साहले भरिएका देखिन्थे। यस्तो अवसरले उनीहरूमा आत्मविश्वास र अभिव्यक्तिको क्षमता बढाउने मात्र नभई वैज्ञानिक सोचको विकासमा समेत टेवा पुर्याएको समेत देखिएको थियो।
उक्त प्रदर्शनीले देखाएको उत्साह, रचनात्मकता र भविष्यमा वैज्ञानिक सोच विकास गर्ने वातावरणले सबैको मन जितेको थियो। विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायत आगन्तुकहरू सबैले कार्यक्रममा सक्रिय सहभागिता जनाई जन ज्योति माध्यमिक विद्यालयको शैक्षिक दृष्टिकोण र व्यावहारिक शिक्षामा जोड दिने प्रयत्नको सराहना गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
