• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जुम्लेपानी गढी : वीरताको इतिहास बोकेको धरोहर




नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) केवल एउटा युद्ध मात्र थिएन, त्यो नेपालले आफ्नो अस्तित्व र सार्वभौमिकताको रक्षा गर्न गरेको ऐतिहासिक संघर्ष थियो।

यस संघर्षलाई आज पनि जीवन्त पार्ने स्मारकहरू देशका विभिन्न ठाउँमा छन्। त्यसमध्ये दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामा अवस्थित जुम्लेपानी गढी विशेष महत्व बोकेको छ।

इतिहासका पानामा उल्लेख भएअनुसार करिब २०० जना सैनिकसहित कर्णेल कालु आलेको नेतृत्वमा यो गढी सञ्चालन गरिएको थियो। यो गढी केवल ढुंगा–माटोको संरचना मात्र होइन, रणनीतिक सोच र आत्मबलको प्रतीक थियो। गढी वरिपरिको संरचना, पर्खालमा बनाइएका फायरिङ प्वालहरू, सैनिकहरूलाई सुरक्षित राख्ने चउर, पँधेरो, दुगाहरू ल्याउने व्यवस्था—यी सबैले स्पष्ट पार्छन् कि तत्कालीन नेपाली सेनाले आफ्नो सीमित स्रोत साधनमै कस्तो विवेकपूर्ण रणनीति प्रयोग गरेर शक्तिशाली ब्रिटिश सेनासँग जुधेका थिए।

यो गढी केवल सैन्य प्रयोगका लागि मात्र बनेको थिएन; यो राप्ती क्षेत्रका अन्य गढीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन्थ्यो। रुङ्कोट, ढुङ्गेगढी, प्यूठान खलङ्गासम्म संकेत प्रणालीमार्फत जानकारी आदानप्रदान गर्ने व्यवस्था हुनु त्यो समयको अद्वितीय सैन्य सूझबूझको प्रमाण हो। यसले देखाउँछ कि नेपाल केवल साहसको भरमा मात्र होइन, योजनाबद्ध र संगठनात्मक दृष्टिले पनि सशक्त थियो।

तर आजको वास्तविकता के छ भने—इतिहास बोकेका यस्ता स्थलहरू संरक्षणको दृष्टिले भने अझै उपेक्षित छन्। जुम्लेपानी गढी वरिपरिका भग्नावशेष, सालका पुराना रुख, पर्खालका अवशेषहरू बिस्तारै लोप हुने अवस्थामा पुगेका छन्। राज्यले यस्ता धरोहरलाई उपेक्षा गर्ने हो भने यो केवल संरचना गुमाउनु मात्र होइन, इतिहास र भविष्यको कडी नै हराउनु हो।

हाम्रो पुस्ताले वीर पुर्खाहरूको साहस, बलिदान र आत्मसमर्पणलाई केवल पाठ्यपुस्तकका पानामै सीमित नराखेर प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनुपर्ने हो। त्यसका लागि जुम्लेपानी गढीलाई व्यवस्थित संरक्षण गरेर ऐतिहासिक अध्ययन–अनुसन्धान र पर्यटनको केन्द्र बनाउन सकिन्छ। यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मात्र होइन, राष्ट्रिय गौरवलाई पनि अझ उजागर गर्नेछ।

Facebook Comments