घोराही । प्रेस सेन्टर नेपाल दाङको कोषाध्यक्षमा शान्तकुमार बुढा मनोनित हुनु भएको छ। आज घोराहीमा बसेको प्रेस सेन्टर नेपाल दाङको बैठकले यस्तो निर्णय गरेको हो।
बैठक संगठनका अध्यक्ष जनक नेपाली तथा पार्टी जिल्ला सह–इन्चार्ज रामबहादुर दहित ‘अञ्जान’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले दाङका दशवटै स्थानीय तहमा संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। जसअन्तर्गत संगठनको भेला, बैठक तथा पालिका अधिवेशन गर्ने निर्णय भएको छ।
यस्तै, बैठकले जिल्लाका दशवटै स्थानीय तहसँग सहकार्य गर्दै आम नागरिकसँग जोडिन ‘प्रेस सेन्टरसँग नागरिक’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष जनक नेपालीले जानकारी दिनुभयो। साथै, संगठनले पत्रकारिता तालिमसमेत सञ्चालन गर्ने निर्णय गरेको सचिव दीपक बोहराले जानकारी दिनुभयो।

बैठकले मिडिया काउन्सिल विधेयक, र जिल्ला प्रशासन कार्यालयमा अनलाइन सञ्चार माध्यमको दर्ता तथा नविकरण गर्ने व्यवस्था खारेज गरी हुलाक कार्यालयमार्फत गर्नुपर्ने माग गरेको छ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरूले प्रेस सेन्टरले आम नागरिकको भावनालाई समेट्ने गरी अघि बढ्नु पर्ने सुझाव दिएका थिए। प्रमुख अतिथि रामबहादुर दहित ‘अञ्जान’ले आफ्नो धारणा प्रस्तुत गर्दै गणतन्त्रको रक्षा गर्नु प्रेस सेन्टरमा आबद्ध सम्पूर्ण सदस्यको जिम्मेवारी भएको बताउनुभयो। देशमा आएको परिवर्तन खतरामा परेको उल्लेख गर्दै दहितले यसका विरुद्ध कलम चलाउन आवश्यक रहेको बताउनुभयो।
बैठकलाई माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, पार्टी प्रचार विभाग प्रमुख अजयदीप शर्मा, केन्द्रीय प्रचार–प्रसार विभाग सदस्य उदय जिएम, संगठनका केन्द्रीय उप–महासचिव लक्ष्मी आचार्य, सचिव मानसिङ विश्वकर्मा, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष भूपेन्द्र ओली, घोराही नगर अध्यक्ष हेमराज नेपाली, तुलसीपुर अध्यक्ष टेकराज भण्डारी, शान्तिनगर अध्यक्ष एन. बी. निर्दोषलगायतले सुझाव प्रस्तुत गरेका थिए।
बैठकको सञ्चालन सचिव दीपक बोहराले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
