नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ । ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो ।
कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन् । यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै गरेका युवायुवती छन् । शुरुमा सदस्यता दिलाउने र चार दिनको आधारभूत प्रशिक्षण दिने गरिएको छ ।
प्रशिक्षणपछि उनीहरुलाई अरुलाई सदस्यता बनाउन र सामान बेच्न पठाउने गरिन्छ । युवायुवतीलाई सदस्य बनाउने, प्रशिक्षण दिने काम भारतीय शहरमा हुने गरेको छ । सामान भने नेपाल र भारत दुवैतिर बिक्री गर्ने गरिन्छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा बाँके प्रहरीले सोमबार सीमावर्ती शहर रुपैडिहाबाट ओरियन्स कम्पनीको प्रशिक्षणमा बसेका ४४ जना युवायुवतीलाई नियन्त्रणमा लिएपछि वास्तविकता बाहिर आएको छ ।
रुपैडिहामा छात्राबास खोलेर दाङ, कैलाली र सल्यानका युवायुवतीलाई प्रशिक्षण दिने काम भइरहेको थियो । दाङका २९, कैलालीका ११ र सल्यानका चार जना युवायुवतीलाई बाँके प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले ठूलो संख्याका नेपाली युवायुवतीलाई रुपैडिहामा राखेर प्रशिक्षण दिने गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग मिलेर छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार, नियन्त्रणमा लिइएका सबैसँग सोधपुछ पछि युवतीहरुलाई माइती नेपालमा पठाइएको छ ।
ओरियन्स कम्पनीले शुरुमा युवायुवतीलाई सदस्यता बनाउने गर्दछ । फाराम भरेको दुई हजार पाँच सय लिन्छ । सदस्यका दुई प्रकार हुन्छन्, टुडी र थ्रीडी । टुडी बनेपछि ३४ हजार रुपैया तिर्नुपर्छ । थ्रीडी बन्दा एक लाख रुपैया बुझाउनु पर्छ । जस्तो, टुडी सदस्य बनेका व्यक्तिले पैसा बराबरको औषधी पाउँछन् ।
त्यो औषधी घरपरिवारलाई खुवाउने या अरुलाई बेच्ने उसको हातमा हुन्छ । एकजनाले दुई जना सदस्य बनाउनु पर्छ । एकजना सदस्य बनाएवापत १० प्रतिशत उसले पाउँछ । जस्तो, थ्रीडीवाला सदस्य बनाएमा उसले २० हजार पाउँछ ।
‘आफू स्वस्थ रहौ, अरुलाई पनि स्वस्थ बनाऔं’ ओरियन्सको मूल नारा रहेको छ । ओरियन्सले शुरुमा रुपैडिहामा प्रशिक्षण दिने, त्यसपछि बहराइच, दिल्ली र चेन्नाई प्रशिक्षण दिने पक्राउ परेकाहरुले बताएका छन् । ओरियन्सले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु हुन् ।
ओरियन्सको दाङको तुलसीपुरमा कार्यालय रहेको छ । एसपी वलीले रुपैडिहा, बहराइच, दिल्ली, चेन्नाई हुँदै खाडीमुलुकसम्म मार्केटिङ गर्न युवतीहरुलाई पठाउने आशंका गर्नुभयो । ‘यो त एकप्रकारले मानव तस्करी नै हो, मैले राम्ररी बुझ्दैछु, एसपी वलीले भने, कमिसनको नाममा युवायुवतीलाई फसाउने काम भइरहेको छ ।’
भारतमा एकताका ताज, फेसन र विन–विन नामक यस्ता नेटवकिङ कम्पनीले नेपाली युवायुवतीलाई यसरी नै ठग्ने गरेका थिए, नेपालमा युनिटीजसरी ।
(नयाँ युगबोध दैनिकबाट)
तस्विर सौजन्यः कुमार श्रेष्ठ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।