तुलबहादुर कवँर मगर
सिसहनियाँ । दाङको राप्ती गाउँपालिका–४ जनकपुरकी ४६ वर्षीया शान्ती चौधरी दुई साताअघि घर निर्माणका क्रममा छतबाट खस्दा मेरुदण्ड भाँचियो।
घटनापछि परिवारले उहाँलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए। तर आर्थिक अवस्था कमजोर भएकाले शल्यक्रियाका लागि आवश्यक रकम जुटाउन नसक्दा उपचारमा समस्या आयो। त्यसपछि परिवारले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई फोनमार्फत सहयोगका लागि अनुरोध गरे। अध्यक्ष विष्टले तत्कालै बुटवलका प्रख्यात हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठलाई सम्पर्क गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो।

डा. श्रेष्ठसहितको टोलीले सरकारी अस्पतालको भन्दा न्यून शुल्कमा एडमन्ड सिटी अस्पताल, जितगढीमा सफल शल्यक्रिया गरेपछि शान्तीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। दुबै खुट्टा चलाउन नसक्ने अवस्थामा रहेकी उहाँको अहिले खुट्टामा शक्ति फर्कने प्रक्रिया जारी रहेको डा. श्रेष्ठले जानकारी दिनुभयो।
शल्यक्रियापछि शान्तीलाई गाउँ नजिकैको राप्ती आधारभूत अस्पतालमा भर्ना गरी पोस्ट–अपरेटिभ हेरचाह दिइँदैछ। अस्पतालका चिकित्सकहरूले डा. श्रेष्ठसँग नियमित सम्पर्क राख्दै गुणस्तरीय सेवा प्रदान गरिरहेका छन्।
शान्ती मात्र होइन, राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका ४७ वर्षीय हरिकराम चौधरी पनि साउन २५ गते आफ्नै घरको छत ढलान गर्ने क्रममा खस्दा गम्भीर घाइते भए। उहाँको पनि बुटवलमा टाउकोको सफल शल्यक्रियापछि हाल गाउँकै राप्ती आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका चिकित्सकका अनुसार हाल त्यहाँ यस्तै जटिल प्रकृतिका तीन बिरामीको उपचार भइरहेको छ। घर नजिकै स्वास्थ्य सेवा उपलब्ध हुँदा बिरामीका आफन्तलाई रेखदेख गर्न सहज भएको छ भने कमजोर आर्थिक अवस्थाका परिवारलाई ठूलो राहत पुगेको छ।
पहिले गम्भीर बिरामी परे बुटवल, भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता भए पनि अहिले गाउँमै गुणस्तरीय उपचार उपलब्ध हुँदा ठूलो राहतको अनुभूति बिरामीहरूले गरिरहेका छन्।
डा. राजकृष्ण श्रेष्ठ हरेक महिनाको चौथो शुक्रबार राप्ती आधारभूत अस्पतालमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ। उहाँको निरन्तर सेवाभावले यहाँका बासिन्दामा स्वास्थ्य उपचारप्रति विश्वास र आशा जगाएको स्थानीयवासीहरूले बताएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
