घोराही। कक्षा १२ को परीक्षामा दाङको एउटै विद्यालयबाट शिक्षा संकायमा जिल्ला प्रथम, द्वितीय र तृतीय भएका छन्।
घोराहीस्थित ज्ञानसिन्धु माविका तीन जना विद्यार्थी क्रमशः प्रथम, द्वितीय र तृतीय भएको विद्यालयले दाबी गरेको छ। विद्यालयका प्लस–टु संयोजक तिलक अधिकारीका अनुसार कृष्णा बसेलले ३.६८, मनिसरा घर्तीले ३.६३ र सुरज बिकले ३.६० जिपिए लिएर क्रमशः जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका हुन्।

यस विद्यालयबाट ३४३ विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए, जसमा २६४ जना उत्तीर्ण भएका छन्। तीमध्ये ३.६० जिपिएभन्दा माथि ६ जना, ३.२०–३.६० जिपिएका ६४ जना, २.८०–३.२० जिपिएका १२५ जना, २.४०–२.८० जिपिएका ६५ जना र २–२.४० जिपिएका ५ जना रहेका छन्। साथै ७३ जनाले स्तरवृद्धिको अवसर पाएका छन्।
विद्यालयमा शिक्षा, व्यवस्थापन र कानुन संकायमा पढाइ हुने गरेको छ। नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा अहिलेसम्म झण्डै चार सय विद्यार्थी भर्ना भइसकेका छन्।
गणितमा आकर्षण बढ्दो
यो वर्ष ग्रामीण क्षेत्रका विद्यार्थीमध्ये शिक्षा संकायमा गणित विषय रोज्ने संख्या उल्लेख्य रूपमा बढेको संयोजक अधिकारीले जानकारी दिनुभयो। ग्रामीण क्षेत्रमा गणित शिक्षकको अभाव हुन थालेपछि अभिभावक र विद्यार्थीको रोजाइमा गणित विषय पर्न थालेको हो। हालसम्म गणित अध्ययन गर्ने विद्यार्थीको संख्या मात्रै झण्डै ५० पुगेको उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रथम, द्वितीय र तृतीय विद्यार्थी राप्ती शिक्षा क्याम्पसमा भर्ना
यसैबीच, कक्षा १२ मा शिक्षा संकायतर्फ जिल्ला प्रथम, द्वितीय र तृतीय भएका तिनै जना विद्यार्थी राप्ती शिक्षा क्याम्पसमा भर्ना भएका छन्। शिक्षा संकायमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुने राप्ती क्षेत्रकै स्थापित यो क्याम्पस शिक्षक जनशक्ति उत्पादनको हब मानिन्छ। राप्ती शिक्षा क्याम्पस र ज्ञानसिन्धु मावि एउटै व्यवस्थापनअन्तर्गत सञ्चालित शैक्षिक संस्था हुन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
