तुलबहादुर कवँर मगर
देउखुरी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले देउखुरी उपत्यकाभित्रको जग्गा तत्काल कित्ताकाट गरी फुकुवा गर्न माग गरेको छ। बिहीबार राप्ती गाउँपालिका–४ मौरीघाटमा आयोजित पत्रकार सम्मेलनमार्फत कमिटीले भदौ १५ देखि सशक्त आन्दोलनको चेतावनीसमेत दिएको हो।

पार्टीले आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता र समर्थनको आह्वान गर्दै पाँच वर्षसम्म सरकारले कुनै वैकल्पिक व्यवस्था नगरेकोप्रति आपत्ति जनाएको छ। पार्टीले जग्गा रोक्काले नागरिकको जीवनशैली प्रभावित भएको र उपचार, विवाह, अध्ययन, व्यापारलगायतका कार्यमा समस्या भइरहेको बताएको छ।
२०७७ असोज १६ मा लुम्बिनी प्रदेश सरकारको निर्णयअनुसार देउखुरी क्षेत्रका राप्ती गाउँपालिकाका ९ वटै वडासहित गढवा गाउँपालिका र शितगंगा नगरपालिकाको केही वडाको सम्पूर्ण जग्गा रोक्का गरिएको थियो। तर, संविधानको धारा २५ ले तोकेको सम्पत्तिको हकमा हस्तक्षेप भइरहेको भन्दै पार्टीले आपत्ति जनाएको छ।

पार्टीले नागरिक दबाब र संघर्ष समितिले पटक–पटक फुकुवाको माग गर्दा पनि प्रदेश सरकारले गम्भीरता नदेखाएको बताएको छ। लामो समयदेखिको रोक्का र बढ्दो आर्थिक संकटले देउखुरीका कृषक, उद्योगी र व्यवसायी थप समस्यामा परेका भन्दै पार्टीले तत्काल कित्ताकाट खुलाउन आग्रह गरेको छ।
पत्रकार सम्मेलन पार्टीका अध्यक्ष रणबहादुर पुजालीको अध्यक्षता, श्यामेश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सहजीकरण सचिव जगत थापाले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
