संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा कांग्रेस र एमाले बाहेकका राजनीतिक दलहरूको बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार सम्पन्न भयो।
बैठकमा सहभागी नेताहरूले निर्वाचन आयोगले ल्याएको ‘स्वमूल्यांकन कार्यविधि’ संविधान र कानुनविपरीत रहेको ठहर गरेका छन्।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भन्नुभयो, “निर्वाचन आयोगले ल्याएको कार्यविधि संविधान र कानुनविपरीत रहेको हाम्रो बैठकको ठहर भयो। कांग्रेस र एमाले बाहेकका दलहरूलाई खत्तम पार्ने योजनामा आयोग पनि लागेको निष्कर्ष बैठकले निकालेको छ।”
पुनका अनुसार आयोगको कार्यशैलीप्रति साझा धारणा बनाउने तयारी गरिएको छ।
बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भन्नुभयो, “आयोग सत्तारुढ कांग्रेस र एमालेलाई मात्र संरक्षण गर्दै अन्य दलहरूलाई अंकुश लगाउने नियतका साथ अघि बढिरहेको देखिन्छ। स्वमूल्यांकनको नाममा स्वयं आयोगले मूल्यांकन गर्ने आधार बनाउन खोजेको छ, जुन संविधान र निर्वाचन ऐन विपरीत छ।”
गौतमले निर्वाचन आयोगले ऐनमार्फत प्राप्त प्रत्यायोजित विधायनको दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो।
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाकी सांसद सोबिता गौतम, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालकी सचेतक रेखा यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहभागी हुनुहुन्थ्यो।
बैठकले आयोगको कार्यविधि संविधानको दायराभन्दा बाहिर गएको ठहर गर्दै चाँडै साझा धारणा सार्वजनिक गर्ने निर्णय लिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
