दाङ। घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई तालिम दिन थालेको छ। सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा वडा अध्यक्ष, स्थानीय पञ्जिकाधिकारी तथा अनलाइनमार्फत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताको काम गर्ने कर्मचारीहरूका लागि तालिम सञ्चालन गरिएको हो।
तालिमले सामाजिक सुरक्षा भत्ता नविकरण तथा दर्तालाई प्रभावकारी बनाउने, व्यक्तिगत घटना दर्ताका क्रममा आइपर्ने कठिनाइ समाधान गर्ने, अनलाइन प्रणालीबाट हुने घटना तथा भत्ता दर्ता कार्यमा रहेका समस्या पहिचान र समाधान गर्ने, साथै वडा तथा शाखा कार्यालयबाट प्रदान गरिने अन्य सेवालाई सरल र प्रभावकारी बनाउने उद्देश्य राखेको शाखा प्रमुख दिवाकर योगीले जानकारी दिनुभयो।
कार्यवाहक नगरप्रमुख हुमा डिसीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनतालाई सरल र प्रभावकारी सेवा दिन राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिले आ–आफ्नो कर्तव्य, अधिकार र कानुनी सीमाभित्र रही सेवा दिनुपर्ने बताउनुभयो।

तालिममा दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा भत्ता नविकरण, बैंक खाता सञ्चालन, राहदानी निर्माण तथा अन्य सरकारी सेवामा अनिवार्य बनाइएको जानकारी दिनुभयो। उहाँले जिल्ला प्रशासन कार्यालयबाट बनाइएका परिचयपत्र आइसके पनि वडास्तरमा शिविरमार्फत बनाइएका परिचयपत्रहरू वितरण हुन बाँकी रहेको र सोका लागि गृहकार्य भइरहेको बताउनुभयो।
जनप्रतिनिधि र कर्मचारी गरी करिब ६० जनाको सहभागिता रहेको सो तालिममा व्यक्तिगत घटना दर्ता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ता, नागरिकताको किसिम र प्राप्तिका आधार, VIRSP MIS प्रणाली लगायतका विषयमा प्रशिक्षण दिइनेछ।
चार दिनसम्म चल्ने तालिममा शाखा प्रमुख दिवाकर योगी, MSI अपरेटर विराज अधिकारी लगायतले प्राविधिक तथा कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिनेछन्। प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको सहजीकरण शाखा प्रमुख योगीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
