घोराही । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नगरस्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, महाशाखा तथा शाखा प्रमुखहरू, वडा सचिवहरूको सहभागिता थियो।
समीक्षा कार्यक्रममा महाशाखा, शाखा तथा वडाहरूले विगत वर्षमा गरेका गतिविधिहरू र प्रगति विवरणहरू प्रस्तुत गरेका थिए। दुई दिनसम्म चलेको समीक्षामा नगरको कुल बजेटको ७७ दशमलब ६७ प्रतिशत खर्च भएको जानकारी दिइएको छ।

गत आर्थिक वर्षमा दुई अर्ब ३३ करोड ८२ लाख ३२ हजार दुई सय ५० रुपैयाँ बजेट प्रस्ताव गरिएकोमा एक अर्ब ८६ करोड २६ लाख २५ हजार ९७ रुपैयाँ बजेट स्वीकृत भएको थियो। सोमध्ये एक अर्ब ८१ करोड ६२ लाख ३५ हजार ९२२ रुपैयाँ खर्च भएको छ।
लुम्बिनी प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त तीन करोड ६४ लाख ६२ हजार रुपैयाँमध्ये दुई करोड ८९ लाख ९६७ रुपैयाँ, अर्थात् ७९ दशमलब २६ प्रतिशत खर्च भएको उल्लेख गरियो। संघीय सशर्त अनुदानअन्तर्गत आएको ८७ करोड ३९ लाख ४९ हजार रुपैयाँमध्ये ७३ करोड ९७ लाख ९६ हजार ३९४ रुपैयाँ अर्थात् ८५ दशमलब ६२ प्रतिशत खर्च भएको छ। नगरस्तरीय आन्तरिक राजस्वबाट संकलित ३८ करोड ८६ लाख ३१ हजार ७५० रुपैयाँमध्ये ३० करोड ८७ लाख ७५ हजार ७२१ रुपैयाँ, अर्थात् ७९ दशमलब ४५ प्रतिशत खर्च भएको छ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहकार्यले योजनाहरू कार्यान्वयन हुन सकेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, खानेपानी, सरसफाइ, कृषि तथा युवा उद्यमशीलता जस्ता क्षेत्रमा नगरले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो।
“जनताको विश्वासलाई केन्द्रमा राखेर हामीले हरेक योजनामा पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएका छौं,” नगर प्रमुख चौधरीले भन्नुभयो, “स्थानीय सरकारको मूल जिम्मेवारी जनताको सेवा हो, त्यसलाई हामी सबै मिलेर अझ प्रभावकारी बनाउँदै लैजानेछौं।” उहाँले सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र जनमुखी बनाउन पारदर्शिता, जवाफदेहिता र सेवा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
नगर उपप्रमुख हुमाकुमारी डिसीले प्रशासनिक संयन्त्र जनताको हितमा क्रियाशील नहुँदा जन–सरकारबीचको विश्वास खस्कने भन्दै जनताले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सबै योजनाहरू पारदर्शी बनाई ढिलासुस्ती र अनियमितताको अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जनतालाई नतिजामुखी सेवा दिनु आवश्यक रहेको बताउँदै विकास योजनामा स्रोतको सही प्रयोग, जनसहभागिता र कार्यको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो। कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय, सहकार्य र विश्वासबाट मात्रै समृद्ध उपमहानगर निर्माण सम्भव हुने बताउँदै उहाँले सबैलाई सकारात्मक सोच, लगनशीलता र उत्तरदायित्वका साथ काम गर्न आग्रह गर्नुभयो।
सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण तथ्यांक अधिकृत भीमबहादुर चौधरी र सूचना प्रविधि अधिकृत विमल अग्रहरीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
