खेमराज न्यौपाने
दाङ । दाङको प्रमुख यातायात मार्ग घोराही–तुलसीपुर सडकखण्डमा टिप्परको लापरवाही र अनियन्त्रित सवारी चलाउने प्रवृत्तिका कारण सवारी दुर्घटनाको खतरा बढ्दै गएको छ। उक्त सडकमा साना सवारीसाधन तथा पैदलयात्रुहरूसमेत त्रसित हुने गरी टिप्पर आतंक मच्चिएको यो सडकमा यात्रा गर्ने यात्रुको गुनासो छ।
हिजो शनिबार मात्र बिजौरी क्षेत्रमा ना ८ ख ४४१६ नम्बरको टिप्परले अनियन्त्रित रूपमा सवारी चलाउँदा सार्वजनिक सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको थियो। सोही घटनापछि इलाका प्रहरी कार्यालय हेमन्तपुरले टिप्परलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको थियो।

तर आज फेरि सोही टिप्परलाई कार्यालयबाट निकाल्ने क्रममा अर्को दुर्घटना घटेको हो। इलाका प्रहरी कार्यालय हेमन्तपुरका अनुसार, टिप्पर निकाल्ने क्रममा कार्यालय अगाडिको विद्युत् पोलमा ठोक्किँदा पोल सडकमा ढलेको छ। पोल ढल्दा सडकको ठूलो भाग अवरुद्ध भएको र त्यसले गर्दा सवारी आवागमनमा समस्या उत्पन्न भएको बताइएको छ। यद्यपि, प्रहरीको सक्रियतामा सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
विद्युत् पोल ढलेपछि आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सडकमा लत्रिएको विद्युत् तारका कारण थप जोखिम देखिएको छ। तत्काल मर्मतको काम जारी रहेको जनाइएको छ।
स्थानीय बासिन्दाहरूले दोहोरिएका यस्ता घटनाले टिप्पर चालकहरूको लापरवाही र राज्य संयन्त्रको कमजोरी उजागर भएको बताउँदै यथाशीघ्र कठोर निगरानी र नियन्त्रणको माग गरेका छन्। घोराही–तुलसीपुर सडक दाङको मुख्य यातायात नाकामध्ये एक भएकाले यस्ता घटनाले यात्रु तथा स्थानीय बासिन्दाहरूमा त्रास फैलाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
