घोराही । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं बरिष्ठ साहित्यकार पत्रकार नारायणप्रसाद शर्माले दाङमा नाट्य परम्परामा पुनर्जागरण आउने विश्वास व्यक्त गर्नुभएको छ ।

दाङमा सुरु भएको दुई दिने नाट्य सङ्गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
आफूहरुले दाङमा २००४ सालबाट नाटक प्रदर्शन सुरु गरेको जानकारी दिंदै पछिल्ला वर्षहरुमा यसमा ह्रास आए पनि फेरि अहिले आएर पुराना नाट्यकर्मीको एउटै मञ्चमा गरिएको सम्मान र नाट्य थिएटर सञ्चालनको उद्घोषणले दाङको नाट्य परम्परामा पुनर्जागरण आउने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिमा साहित्यलाई मरोञ्जनको रुपमा मात्र ल्याइने भए पनि नेपाली साहित्यले रुपान्तरणकारी अभियानको अगुवाई गरेको उल्लेख गर्दै उहाँले सबैलाई समेटेर नयाँ पुस्ताले नाट्य परम्परालाई पुनर्जागृत गर्न सके यो निकै ठूलो उपलब्धि हुने बताउनुभयो । अहिले ठूलो संख्यामा नेपालीहरु बैदेशिकमा रोजगारीमा गएको प्रसंग कोट्याउँदै शर्माले यस्ता कला संस्कृतिको माध्यमबाट उनीहरुलाई देशभित्रै केही गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
पहल नेपालका अध्यक्ष केएल बुढाथोकीको आयोजनामा भएको कार्यक्रममा विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि दोवकोटा, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव सविन प्रियासन लगायत विभिन्न क्षेत्रका अगुवाहरुले शुभकामना दिनुभएको थियो भने डा. सुदीप गौतमले सञ्चालन गर्नुभएको थियो ।

पहल नेपाल र शैली थिएटरको आयोजना तथा प्रज्ञा प्रतिष्ठान र रोल्पाली सेवा समाजको सहयोगमा सञ्चालित सङ्गोष्ठी दुई दिनेसम्म चल्ने छ । सो अवसरमा दाङमा नाट्य परम्पराको थालनी गर्ने अगुवाहरुलाई सम्मान गरिएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
