• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कथा: बाल्यकालको प्रेम भाग ३




khemraj neupane
खेमराज न्यौपाने

जीवनको हरेक मोडमा कुनै न कुनै पात्र अनायासै पस्दछ—कतै सजीव भएर, कतै स्मृति बनेर। ती पात्रहरू कहिले पाठशालाका सँगतिहरू हुन्छन्, कहिले बाटोमा भेटिएका अपरिचित अनुहारहरू। तर कहिलेकाहीँ तिनले यति गहिरो छाप छोडेर जान्छन् कि उनीहरू फेरि कहिल्यै सम्पर्कमा नआए तापनि, तिनको सम्झनाले जीवनभरिको खालीपन भरिदिन्छ।

मानवका लागि त्यो पात्र थिई—प्रकृति।

सिटी प्लाजा होटलको को कार्यक्रम सकेर घर सकेपछि फेसबुकको सर्च बारमा गएर सर्च गर्यो प्रकृति मुस्किलो अनुहारमा नजर अडियो। नाम थियो—प्रकृति। त्यो नामले झनक्क सम्झनाको सानो चिहान खुलाएको थियो—मानवको बाल्यकालमा मन परेकी शीत नामकी एउटी युवती थिइन्। उनी पनि यस्तै शान्त स्वभावकी, सरल बोलीकी थिइन्। मानवको मनले अनायासै जोड गर्‍यो प्रकृति बीच। यद्यपि, यी दुवै फरक थिए। तर मन कहाँ तर्कमा बाँच्दो रहेछ र?

मानव, विवाहित थियो। घर थियो, परिवार थियो। उसले जीवनको जिम्मेवारीलाई अंगालिसकेको थियो। तर मनको एक कुनामा सधैं अधुरो केही बाँकी थियो। त्यो अधुरोपन, कहिल्यै प्रकट नभएको प्रेमको अनुहार थियो—प्रकृति।

फेसबुकमा मानव र प्रकृति साथी भएपछि कथा तेस्रो भाग शुरुआत केही औपचारिक संवादबाट हुन्छ।

“नमस्कार मिस,”
“नमस्ते सर।”

मानवले ‘मिस’ भन्यो, प्रकृतिले ‘सर’। त्यो सम्बोधनको दूरी, संवादको सुरुवातमा नै स्थापित भएको थियो। तर त्यो दूरी पनि कति कोमल थियो! कुनै पर्दा जसरी, जसले सम्पर्क रोक्दैन तर दृश्य धुँवाधुँवा बनाइदिन्छ।

एक दिन मानवले सोध्यो, “तपाईंको पढाइ कति पुगेको हो?”

प्रकृति थोरै लाजालु भइन्, उत्तर दिइन्, “लामो समयपछि पढ्न थालेकी छु, अहिले महेन्द्र बहुमुखी क्याम्पसमा छु।”

मानव भन्छ कुन लेभल?”
“प्रकृति भन्छिन बी.एड फस्ट ईयर।”

मानव झसङ्ग भयो। ऊ पनि त त्यहीँ थियो—बी.एड. फस्ट ईयरमा, पढाइमा फर्किएको लामो समयपछि। कस्तो संयोग! लाग्यो, जीवनले कुनै पुरानो अध्याय फेरि सुरु गर्न खोजिरहेको छ।

त्यसपछि उनीहरूको सम्बन्ध गहिरिँदै गयो। कुरा फेसबुकमा मात्र रहेन। मोबाइल नम्बर साटासाट भयो। बिहान–बेलुकीको संवाद दैनिक हुन थाल्यो। गफ, समाचार, मौसम, र सम्झनाहरू पनि सँगै बाँडिन थाले।

प्रकृति दाङको हापुरे क्षेत्रकी थिइन्। क्याम्पसको हरेक कार्यमा उनीलाई घोराही आउनुपर्ने। फारम भर्नेदेखि विषय चयन गर्नेसम्मका सबै प्रक्रिया मानवले गरे। प्रकृतिले सधैं भनिन्—“सर, तपाईं नभएको भए म कसरी गर्थें होला?” मानवले हाँस्दै मनमनै भन्यो “सौभाग्य पाएको छु, तपाईंको काम गर्न पाउँदा।”

तर यो सौभाग्य मात्र थिएन, त्यो सौभाग्यको पर्दा पछाडि एउटा अव्यक्त प्रेम थियो—शान्त, तर गहिरो। मानवको मुटुमा फेरि स्पन्दनको लहर चलेको थियो। त्यो प्रेम बाल्यकालको प्रेमभन्दा फरक थियो। यो परिपक्व थियो, मौन थियो, र सबैभन्दा बढी—दुविधासहितको थियो।

मानव थाहा पाउँथ्यो—ऊ विवाहित हो। उसले घर बसालिसकेको छ, जिम्मेवारीहरू काँधमा छन्। तर प्रेम त कुनै अनुबन्ध खोज्दैन, न कुनै वैधानिकताको प्रमाणपत्र। यो त केवल मनको गहिराइमा उब्जिने भाव हो—जुन मानव भित्र फैलिंदै थियो, प्रकृति प्रति।

प्रकृति सरल थिइन्, आफ्नै संसारमा रमाइरहेकी। उनी कहिल्यै आक्रामक भइनन्, न त कहिल्यै धेरै प्रश्न गरिन्। तर उनको मौनता आफैंमा गहिरो संवाद थियो। जब उनी “सर, भन्दै काम अराउँदै भन्थिन्, मानवको मुटुमा नयाँ उत्साह भरिन्थ्यो।

परीक्षा नजिकिँदै थियो। प्रकृति घोराही आइन्, परीक्षा दिन। उनको सबै कागजात मानवले तयार गरिदियो—रजिस्ट्रेसन फारम, प्रवेश पत्र, केन्द्र छनोट… सबै। उनी मुस्कुराउँदै क्याम्पसको प्राङ्गणमा आइन्। मानवले स्वागत गर्‍यो, “तपाईंको तयारी कस्तो छ?”
उनले लजाउँदै भनिन्—“अलिअलि”।

त्यो लाजको मुस्कानमा मानव हरायो। उसले भन्यो—“तपाईं पनि मलाई परिक्षामा सिकाइ दिनु होला है”।

परीक्षाका ती केही दिन, उनीहरू सँगै भए। पढाइका नोट्स साटासाट, क्यान्टिनको खाजाको साझा स्वाद, अनि परीक्षा पछिका समीक्षा—सबै साझा। ती क्षणहरूमा मानवले बिर्सन थाल्यो कि ऊ विवाहित छ। उसले आफूलाई फेरि एकपटक जवान, स्वतन्त्र, र प्रेममा बाँचिरहेको महसुस गर्न थाल्यो।

तर उसको आत्मा जान्दथ्यो—यो प्रेम केवल मौनतामा बाँचेको प्रेम हो। ऊ कहिल्यै प्रकृतिलाई “म तिमीलाई प्रेम गर्छु” भन्ने साहस गर्न सकेन। डर थियो—कहीं प्रकृति टाढा नहोस्। कहीं उसले यो बन्धनलाई गलत नठानुन्। प्रेम छ तर विवाहित जीवनको सीमामा बाँधिएको।

प्रकृति पनि कहिल्यै केही भन्दिन्थिन्। तर उनका आँखाहरूमा प्रश्न हुन्थे, कहिलेकाहीँ। ती प्रश्नहरू जसको उत्तर मानवसँग थियो, तर उसले दिने आँट गरेन।

ती परीक्षाका दिनहरू सकिए। जीवन पुनः पुरानै लयमा फर्कन थाल्यो। तर अब त्यो लय भित्र नयाँ धुन मिसिएको थियो—प्रकृति नामको धुन। उनी अझै सम्पर्कमा थिइन्, अझै “सर” भन्दै सन्देश पठाउँथिन्। तर त्यो सम्बोधन अब पनि एक पर्दाजस्तै थियो—जुनले नजिक ल्याउँथ्यो तर छुने अनुमति दिंदैनथ्यो।

कुनै साँझ मानव एक्लै टहलिरहेको थियो। उसको मनभित्र द्वन्द्व थियो। ऊ सोचिरहेको थियो—“के म गलत छु? के प्रेम गर्न पाउनु विवाहित भएपछि अपराध हो?” तर ऊ उत्तर दिन सक्दैनथ्यो। उसले थाहा पायो, यो प्रेम अब उसको जीवनको मौन कविता बनेको छ। त्यो कविता जो लेखिँदैन, तर भित्रभित्रै गुनगुनाइरहन्छ।

एकदिन मानवले फेसबुकमा एउटा पोस्ट लेख्यो—बिना नाम, बिना उल्लेख।

“कतिपय सम्बन्धहरू वर्णन गर्न शब्दहरू कम पर्छन्,
त्यसैले ती मौनतामा बाँच्छन्।
जीवनका हरेक पाटामा तिमी हौ—तर तिमीलाई कहिल्यै भन्न सक्दिन।
मेरो प्रेम, तिमी मौनताको महासागर हौ।”

प्रकृतिले त्यो पोस्ट लाइक गरिन्। केही सेकेन्डपछि एउटा म्यासेज आयो—

“सर, तपाईंको लेखाइ ह्दय छुन्छ।”

मानवले हाँस्दै मोबाइल बन्द गर्‍यो। उसले फेरि केही लेखेन, केही भन्यो पनि छैन। तर मनमनै उसले भने—

“म तिमीलाई प्रेम गर्छु… तर यो प्रेम केवल मौनतामा बाँच्नेछ।”

क्रमशः

Facebook Comments