
सर्जन गौतम
का. जलजला उपन्यासमा ७० परिच्छेद छन् ।
पहिलो परिच्छेद पढ्दा यस्तो लाग्छ – लेखक मोहन विक्रम सिंहलाई जलजलाको कथा अगाडि बढाउन कुनै हतार छैन ।एक परिच्छेद लगाएर उनले गरेको काम के हो भने जलजलालाई थवाङ पठाउनु । उनलाई ७० परिच्छेदसम्म तन्काएर न कथा सक्नु छ !
तर पहिलो परिच्छेदमै उनले हामीलाई प्लेटो, बर्कले, हेगेल, मार्क्स ,गान्धी र सांख्य लगायतका दर्शनको छलफलमा उतारिसकेका छन् । पहिलो परिच्छेदमै परिचय गराइएकी प्रमुख पात्र सुनन्दा( नन्दादेवी ) को रुचि नै इतिहासमा भएकोले इतिहास त कथामा आउने नै होला । यसले उपन्यासमा केही छ भन्ने त स्पष्ट पारेको छ । तर कथात्मक वा औपन्यासिक मूल्य कायम गर्न कति सफल छ , पूरै उपन्यास पढेपछि नै बताउन सम्भव हुनेछ।
उपन्यासको बिचमा दर्शन वा शास्त्र चर्चा अन्य लेखकले पनि गराउने गरेको देख्न पाइन्छ । जस्तो कि उपन्यास माधवीमा मदनमणि दीक्षितले पनि त गालबलाई पटक पटक शास्त्र संवाद गराएका छन् । त्यसमध्ये शिव कापालिक सम्प्रदायका महन्तसँगको शास्त्र संवाद दार्शनिक दृष्टिले महत्त्वपूर्ण छ ।
दोस्रो परिच्छेदमा भने कथा अलि रोचक तरिकाले अगाडि बढाइएको छ । त्यसमा कुमाउँं क्षेत्रका कैयौँ ठाउँ, परम्परा , तिब्बतसँग जोडिएको व्यापारिक सम्बन्धका अतिरिक्त भेंडा हेर्ने गोठालाहरुको जीवनशैलीमाथि प्रकाश पारिएको छ ।परन्तु मुख्यरुपमा दोस्रो परिच्छेदले उपन्यासकी एक प्रमुख पात्र सुनन्दाको व्यक्तित्व विकासलाई नै मुख्य ध्यान दिएको छ ।
कथा कुमाउँको भएपनि भाषामा भने प्युठानी भाषिकाको आंचलिकताको प्रभाव देखिन्छ ।।
तेस्रो परिच्छेदमा जाँदा थैँचोका कारण हरिसिँहसँग हुन लागेको विवाह छोडेर जेठा बाको सहयोगमा भागेकी सुनन्दाको चरित्र विकासमा लेखकले पुरै जोड लगाएका छन् । सुनन्दाको उनले बहुआयामिक विकास गराएका छन् – पहिलो त पर्वतारोही तालिम सम्पन्न गराएर , दोस्रो कराँतेमा ब्ल्याकबेल्ट दिलाएर र तेस्रो इतिहासमा एमएसम्मको जाँच दिन लगाएर चौथो विचारको हिसाबले गान्धीवादी बनाएर ।
तर सम्भवत: सहायक पात्र विद्याको भने चरित्र चित्रण हुनुपर्ने भन्दा उच्चस्तरको बनाएजस्तो लाग्यो । उनको का. जलजलासँग भेट ७ कक्षामा पढ्दा भएको छ , उनले भर्खर लखनउमा म्याट्रिकको जाँच दिएकी छिन् । तर उनले मार्क्सवाद ,लेनिनवाद र माओत्सेतुङ विचारधाराका उपर प्रकट गरेका विचार, सुनन्दासँग गरेको बहस, डा. जगदीशको बारेमा गरेका मुल्यांकन ( सोभियत संसोधनवादी) वा समाजवादको बारेमा प्रकट गरेका विचार उनको तहभन्दा निकै माथिल्लो स्तरको देखिन्छ ।
यसले उपन्यासको प्लट बग्न गाह्रो बनाएको छ । कतै उपन्यासको कथात्मकता सरसर्ती बगेको छ तर कतै राजनीतिक लेख पढेझैँ अनुभूति हुन्छ ।
जलजलाबारे का. अजितले लेखेको लेख पहिलो परिच्छेदमै आएको थियो । तेस्रो परिच्छेद पढ्दै जाँदा अजितको प्रसङ्ग पुन: आएपछि मैले सम्झिए, कुनैबेला मोहन विक्रम सिँहले अजित सिँह नामबाट लेखहरू लेख्ने गर्दथे । त्यसकारण उपन्यासको पात्र अजितमा मोहनविक्रम सिँहले स्वयं आफूलाई त प्रत्यारोपित गरेका होइनन् ?
चौथो परिच्छेदमा सुनन्दा कसरी गान्धीवादी बनिन् भन्ने प्रसङ्ग विस्तारपूर्वक चर्चा गरिएको छ । त्यहाँ उनको भेट कामरेड गढवालीसँग गराइएको छ । उनीहरूकोबीचमा संवाद पनि भएको छ । पाँचौँ परिच्छेदमा कामरेड गढवालीको विस्तृत परिचय दिइएको छ । अन्य कैयौँ त्यसबेलाका वास्तविक पात्र महात्मा गान्धी, मोतीलाल नेहरु जवाहरलाल नेहरु, सुवासचन्द्रहरुका प्रसङ्ग आएकै छन् । ठाउँहरु कुमाउँ, गढवाल, दिल्ली देखि पेसाबर जता पनि जुनसुकैबेला फड्को हान्न सक्छ ।
त्यहीक्रममा सुन्दरलाल वहुगुणाको प्रसङ्ग अगाडि आएको छ सायद अबको परिच्छेदमा चिप्को आन्दोलनको बारेमा विस्तृत चर्चा आउँदैछ । सुन्दरलाल बहुगुणाको चिपको आन्दोलन एक उल्लेखनीय पर्यावरणीय आन्दोलन हो जसलाई पहिलेनै समाचार र इतिहासको रुपमा कैयौँ पटक पढिएको छ । त्यस वास्तविक आन्दोलनलाई कथाको रुपमा उपन्यासकार सिंहले कसरी चित्रण गर्ने छन् ? पढ्न बाँकी छ ।
पाँचौँ परिच्छेद पढ्दा नै हामीले आशंका गरेका थियौँ । हामीले अखबारमा पढेको चिपको आन्दोलन र उपन्यासकारले लेख्ने चिपको आन्दोलनमा केही फरक पर्न सक्छ । लेखकले सुन्दरलाल बहुगुणाको प्रसङ्ग नै ल्याएनन् । तर खिराकोटको पर्यावरण आन्दोलनमा त्यहाँका महिलाको मुख्य भुमिका रहेको तथ्य अगाडि सारे । एक साधरण महिला मालतीदेवीको संघर्षको क्रममा नेतृत्व विकास भएको तथ्य अगाडि सारेर संघर्षले नेतृत्व जन्माउने कुरालाई पुष्टि गरे ।
१९७३ को बहुचर्चित चिपको आन्दोलनकालागि सुन्दरलाल बहुगुणा भन्दा बढी जस चण्डिकाप्रसाद र गौरीदेवीलाई दिए ।
यसको साथै एक ऐतिहासिक घटनालाई पनि उल्लेख गरे कि कसरी जोधपुरका राजा अजित सिँहले १७३० मा खेजागुडीको जंगल काट्न थाल्दा अमृतादेवीदेखि लगायत ३६३ महिलाले रुखमा टाँसिएर ज्यान दिएका थिए ।
उपन्यासमा केही काल्पनिक र केही वास्तविक पात्र आइरहेछन् र यो उपन्यास अर्ध उपन्यासको स्वभावतर्फ अग्रसर छ ।
सातौँ परिच्छेदमा सुनन्दाको अध्ययन अघि बढेको छ । उनी पिएचडी गर्नुभन्दा पहिले सिनोप्सिस तयार गर्दैछिन् । डा. जगदीशसँग छलफल भएपछि क्रमशः छलफल दर्शनशास्त्रतर्फ अगाडि बढेको छ । त्यसले ल्याएको परिवर्तन के छ भने प्रकृति र मानवसमाजका कतिपय रहस्यहरूलाई सुनन्दाले मार्क्सवादी दृष्टिकोणले समेत सोंच्न थालेकी छिन । तर , उनमा गहिरोगरी बसेको गान्धीवादी विश्वासका कारण मार्क्सवादी निश्कर्षलाई भने स्वीकार गर्न सकेकी छैनन् ।
एउटा संवादमा भने मेरो विशेषरुपले ध्यान पुग्यो – तिमी कुनैदिन गान्धीवादीबाट कम्युनिष्ट पनि बन्न सक्छ्यौ भन्ने जगदीशको भनाइमा उनले उत्तर दिएकि छिन् कुनै दिन तपाईं पनि कम्युनिष्टबाट पुँजिवादी बन्न सक्नुहुन्छ।
यो संवादले ममा के विचार उत्पन्न भयो भने थाहा छैन कति गान्धीवादीहरु कम्युनिष्ट बनेका छन् ? तर नेपालका प्राय: सबैजसो कम्युनिष्टहरु पुँजीवादीमा भने जरुर बदलिएका छन् ।
का. जलजलाको आठौँ परिच्छेदमा सुनन्दा र विद्याको नेपाल जाने ठेगान भएको छ ।
एकातिर सुनन्दाको पिएचडीको विषय जेएनयले स्वीकृत गरेको छ – ‘ भारतको गढवाल कुमाउँ तथा पश्चिम नेपालको मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन ‘
त्यसका लागि सन्दर्भ सामाग्री जुटाउनुका अतिरिक्त का. जलजलालाई खोजी गर्ने उनीहरूको लक्ष्य रहेको छ । उनीहरु नेपाल जाने कुरा गर्दा उनका फुपूका परिचित हिन्दुस्थान टाइम्सका पत्रकार उमाशङ्कर भट्ट र परराष्ट्र मन्त्रालयमा कार्यरत रमेशचन्द्र श्रीवास्तवले नेपालमा निरङ्कुश व्यवस्था भएको र मण्डले नामका सरकारी गुण्डाहरुबाट महिलाहरुलाई अपहरण , बलात्कारको खतरा हुने भएकोले नेपाल नजान सल्लाह दिएका छन् ।
तर सुनन्दाले जस्तोसुकै बाधा र प्रतिकूल परिस्थिति उत्पन्न भएपनि नेपाल गएरै छोड्ने दृढता व्यक्त गरेकी छिन् । ततपश्चात तिनीहरुले आफ्ना परिचितहरूको ठेगाना दिएर र चिठी लेखिदिएर सहयोग गर्ने बताएका छन् । यससँगै परिच्छेद आठसम्म रहेको भाग १ सम्पन्न भएको छ र हामी भाग दुईको परिच्छेद ९ तर्फ लागेका छौँ ।
परिच्छेद ९ बाट कथा अलि अगाडि बढेको छ , अब यो साँच्चै उपन्यासको कथाजस्तो लाग्न थालेको छ । नेपालको भैरहवा आउने क्रममा सुनन्दा र विद्याले अलग अलग भन्सार काटेका थिए तर लजमा आएर एकसाथ बसेका थिए । उनीहरुको पिछा गरेको सिआइडीले गिरफ्तार गर्ने संकेत पाएपछि उनले कागजातसहित विद्यालाई भगाएकी थिइन् । तर आफू गिरफ्तार परेकी थिइन् । भैरहवा जेलमा उनले पार्वती थापा, विन्दु गुरुङ, सुभद्रा केसी, रामपतिया चौधरी, उमा वि. क. र कमला शर्मा लगायतलाई भेटेकि थिइन् । ती महिलाहरुको बेग्लाबेग्लै कथाबाट उनलाई थाहा हुन गएको थियो कि नेपालका साहु, प्रधानपञ्च , मण्डले र प्रहरी प्रशासनले कसरी अत्याचार गरेर मानिसहरुलाई जेलमा पठाउने गरेका थिए ?
का. जलजलाको दसौँ परिच्छेदमा सुनन्दाले जेलमा केही मार्क्सवादी पुस्तक भेटेकी छिन् र अध्ययन गरेकी छिन् ।
जेलमा केही कम्युनिस्ट राजबन्दी आएका छन् , उनीहरुसँग उनले जलजलाको बारेमा जिज्ञासा राखेकी छिन् तर उनी भारतीय सिआइडी हुनसक्ने आशंकाले उनीहरु खुलेका छैनन् । तथापि उनीहरुले उनको चिठी फुपूकहाँ पुर्याइदिएका छन् । फुपु भेट्न आएकी छिन् । फुपूबाट विद्या सुरक्षित रहेको र उनलाई छुटाउने प्रयत्न भएको जानकारी प्राप्त भएको छ ।
एकजना नयाँ राजबन्दी आएकी छन् – उजेली । उनले जलजलालाई चिन्ने बताएकी छिन् । यसबाट सुनन्दा उत्साहित भएकी छिन् ।
एघारौँ परिच्छेदमा का. गढवालीले भारतीय दूतावासमा गरेको प्रयत्न स्वरुप काठमाडौँमा ल्याइएकी जलजला जेलबाट छुटेकी छिन् । विद्यासँग उनको भेट भएको छ , विद्या कसरी हर्के र का.श्रीराम घिमिरेको सहयोगमा काठमाडौँ आइपुगेकी थिइन् ? प्रष्ट पारेकी छिन् । सुनन्दा र विद्या दुवैले का. जलजलाको बारेमा जिज्ञासा राखेको भएपनि जलजलाको बारेमा प्रष्ट केही थाहा पाउन सकेका छैनन् ।
का. जलजलाको परिच्छेद ९ मा सुनन्दा भैरहवा जेलमा परेको मिति २०३८ बताइएको छ ।
परिच्छेद १२ मा उनी जेलबाटछुटेपछि उनले शोधको सिलसिलामा बाबुराम आचार्यसँग पनि भेट गरेको बताइएको छ । तर इतिहास शिरोमणि बाबुराम आचार्यको मृत्यु २०२९ सालमा नै भएको थियो । यसरी त्यस भेटमा कालक्रम मिलेको देखिएन ।
यद्यपि बाबुराम आचार्यसँग उनीहरुको खास के विषयमा संवाद भयो खुलाइएको छैन । तर लैनसिँह वाङ्देल र सत्यमोहन जोशीसँगको संवादबाट उनीहरु काठमाडौं उपत्यकामा प्रचलित सप्तमातृका, अष्टमातृका एवं चौबिस मातृकाको परम्पराप्रति आकर्षित भएका छन् । यसै सन्दर्भ पारेर लेखकले काठमाडौंमा प्रचलित मातृशक्तिको पूजा , अष्टभैरव, त्रिपुरासुन्दरी, विभिन्न जात्रा, बौद्ध परम्परा, कुमारी पूजा आदिको विस्तृत विवरण दिएका छन् ।
यसैबिचमा सुनन्दालाई रुसबाट डा. जगदीशले पत्रबाट पठाएको प्रेम प्रश्ताव प्राप्त भएको छ ।
का. जलजला उपन्यासको परिच्छेद १३ मा पत्रकार शिवध्वज बस्नेतको सहयोगबाट र उनले दिएको सम्पर्कबाट कम्युनिस्ट पार्टी छोडेर पञ्चायत प्रवेश गरि सिडिओ बनेका नन्दबहादुरबाट धेरै कुरा थाहा भएको छ ।
उनको वास्तविक नाम विद्या ढकाल भएको र उनको घर चितवन भएको थाहा भएको छ ।
उनको बारेमा यकिन जानकारी मोहनविक्रम निकट कम्युनिस्ट नेता खगुलाल गुरुङलाई थाहा हुन सक्छ भनेर उनीहरुले उनको प्युठानको ठेगाना लिएका छन् ।
एकातिर खासै ठूलो दार्शनिक समझ नभएकी विद्यामा पुँजीवादी भ्रष्ट जीवनशैलीप्रतिको आकर्षणले ल्याएको आन्तरिक द्वन्द र पञ्चायत प्रवेश गरेर अकुत सम्पत्ति कमाए पनि नन्दबहादुरको भित्री मनमा रहेको ‘म गद्धार हुँ ‘भन्ने भावना पनि आन्तरिक द्वन्दको रुपमा प्रकट भएका छन् तर उनको मनमा रहेको त्यस्तो भावना धेरै बेर टिक्दैन।
चौधौँ परिच्छेदमा जलजलासँगको सम्पर्क सूत्र भेटिदै गएको छ । जस्तोकी चन्द्रनरसिंह । उनले पार्टीको नेताबाट जलजलासँग भेट हुने वातावराण मिलाउने आश्वासन दिएका छन् । चन्द्रनरसिंहले सम्पादन गरेको पत्रिकामा जलजलाका दुई लेख पढेपछि सुनन्दाले उनीसँग वैचारिक स्तरमा सम्बन्ध भएको महसुस गरेकी छन्।
का. जलजलाको पन्ध्रौँ परिच्छेदमा खासै विचारणीय कुरा कम छन् ।का. चित्रबहादुर केसीले उनलाई चितवनका जलजलाको घरको अन्य सम्पर्क सूत्रको ठेगाना दिएका छन् । सुनन्दाले जलजलाले गरेको वोल्सेविक कम्युनिष्ट पार्टीको इतिहासको अनुवादभन्दा अघिको टिप्पणी पढेकी छिन् र जलजलाको दृष्टिकोण बुझ्ने मौका पाएकी छिन् । त्यसपछि उनी जेठा बाको पर्वतारोहण टिमसँग माउन्टेन फ्लाइटमा पुगेर सगरमाथा लगायतका हिमालको अवलोकन गर्ने मौका पाएकी छन् ।त्यहाँ उनले प्रकृतिको स्थिरता र गतिको द्वन्द्वात्मक सम्बन्धमाथि विचार गरेकी छिन् ।
सोह्रौँ परिच्छेदमा उनले पशुपतिनाथको अवलोकन गरेकी छिन् । त्यहाँ उनले पशुपतिनाथबारे पिएचडी गर्दै गरेका गोविन्द टन्डनबाट पशुपतिनाथसँग जोडिएका कथाहरुको जानकारी प्राप्त गरेकी छ्न् । अर्कोतिर पशुपतिनाथको वृद्धाश्रममा भेटिएकी सुन्तली नामक वृद्धाबाट योगमायासम्बन्धी विस्तृत जानकारी र कविताको एउटा कापी समेत प्राप्त गरेकी छिन् । यहाँसम्म आइपुग्दा एउटा कुरा प्रष्ट भएको छ अब सुनन्दा र विद्याकोबिचमा विचारमा ठूलो भिन्नता आइसकेको छ । तर त्यो शत्रुतापूर्ण अन्तरविरोधको रुपमा भने प्रकट भइसकेको छैन ।
का. जलजला उपन्यासको परिच्छेद १७ मा सुनन्दाले योगमायाका कविताहरू( योगवाणी) पढेकी छन् । ती कविताहरुमा उच्च प्रकारको दार्शनिक चेतना अभिव्यक्त भएको छ ।
साधरण अशिक्षित महिला भएर पनि उनका विचारहरु कसरी मार्क्सको नजिक र निश्कर्ष हेगेलको नजिक छ, लेखकले प्रष्ट पारेका छन् । लेखकले उनको जलसमाधी वा आत्महत्याको तरिकालाइ सही त ठहराएका छैनन्, तर त्यसको कारणलाई विश्लेषण गर्ने प्रयत्न गरेको छन् ।
त्यससँगै संसारभर भएका त्यसप्रकारका सामूहिक आत्महत्याका घटनाका विवरण र विश्लेषण प्रस्तुत गरेको छ ।सारमा योगमायाको व्यक्तित्वका अन्य पाटालाई उच्च मुल्यांकन गरेको छ ।
परिच्छेद १८ मा सुनन्दा र विद्या जलजलाको घर चितवनको तोरीखेत पुगेका छन् । त्यहाँ तिनीहरुले जलजलालाई भेट्न नसकेपनि सुनन्दाले उनका बुवा आमाबाबुबाट जलजलाको व्यक्तित्वको बारेमा विस्तृत जानकारी प्राप्त गरेकी छन् र त्यसको बारेमा विचार गरेकी छन् । तर विद्याको सोचाइमा १८० डिग्रीको फरक आएको छ । उनी अब दिव्याजस्तै सम्पन्न जीवन विताउनुलाई नै जीवनको लक्ष्य बनाउन थालेकी छिन् । जसको कारण उनी सुनन्दा र जलजलालाई घृणा गर्ने विन्दुमा आइसकेकी छिन् तर त्यसप्रकारको सोचाइलाई खुलेर प्रकट भने गरेकी छैनन् ।
का. जलजलाको १९ औँ परिच्छेदमा मुख्यत: डा. गुडरनको अध्ययनमा आधारित भएर नवलपरासीको डण्डा , बुटवलको तिनाउ, दाङ देउखुरीको लमही, कुहिरेपानी,हापुर खोला,दारेखोला , तुई उपत्यका, कर्णाली , दोलखाको चरिकोट,काभ्रेको जुगु, ललितपुरको लुभु गाउँमा भेटिएका ढुङ्गे र नवढुङ्गे युगका बङ्गारा र हतियारहरुको बारेमा विस्तृत विवरण दिइएको छ ।
केही हतियारहरु र अवशेषहरू जनकलाल शर्माले फेला पारेको तथ्य समेत समावेश गरिएको छ ।अर्को परिच्छेद नेपालमा फेला परेको रामापिथेकसको बारेमा हुनेछ ।
का. जलजलाको परिच्छेद २० मा रामापिथेकसको ईतिहास, परिच्छेद २१ मा होमोसेपियन , परिच्छेद २२ मा लुम्बिनी, परिच्छेद २३ मा तिलौराकोट र परिच्छेद २४ मा कपिलवस्तुकै कुस्मा गाउँको विवरण दिइसकेपछी परिच्छेद २५ मा थारु जातिको बारेमा बुझ्न रश्मिराज नेपालीले टेकनाथ गौतमको पुस्तक सुनन्दालाई उपहार दिएका छन् ।
मस्टो पूजा जसलाई कुलपूजा वा देवाली पनि भनिन्छ , बाट के कुरा पत्ता लाग्दछ भने तिनीहरु अर्थात मस्टो पूजा गर्ने जातिहरु वैदिक हिन्दु नभएर पछि हिन्दुकरण गरिएका खसहरु हुन् ।
आधारभूत रुपमा मस्टो एक निराकार ढुङ्गो, प्रकारका हिसाबले दूध र फलफूल चढ्ने दूधे मस्टो र बोका लगायतका मासु चढ्ने दाह्रे मस्टो गरि दुई , सबैभन्दा प्रचलित कथाका अनुसार कर्णाली प्रदेशमा बाह्र भाइ मस्टो र उनका ९ बहिनी दुर्गा रहेको मानिने तर स्थानीयकरणमा आधारित नाम अनुसार कर्णाली प्रदेशमा ८४ मस्टोसम्म पुग्ने खस सम्बन्धी अध्ययन गरेका विभिन्न विद्वानको हवाला दिंदै का. जलजलाको २९ औँ परिच्छेदमा मोहन विक्रम सिंहले बताएका छन् ।
परिच्छेद ३१ लेखकको स्वैरकल्पनाले उडान भरेको छ । उनले जलजलालाई चन्द्रमा, सूर्यका आठवटै ग्रह र तीनका चन्द्रमाहरू, यम र सूर्यमात्र होइन, मिल्कवे, अल्फा सेन्चुरी,ब्ल्याक होल, ट्याङ्गुर र एन्ड्रोमेडालगायत तीन आकाशगंगा एवं अन्तरिक्षको यात्रा गराउँदै अन्तरिक्ष प्रणालीको व्याख्या गराउने प्रयत्न गरेका छन् । अर्कोतिर पृथ्वीमा ल्याण्ड गर्नेबेला पृथ्वीका अनेक महादेश, जङ्गल, झरना , पर्वत, सभ्यता र दर्शनको समेत व्याख्या गराएका छन् ।
तर त्यसो गर्दा उपन्यासको कुनै पात्र वा जलजलाले स्वयम् कल्पना गरेको वा सपना देखेको आदि कुनैकुरो नबताएकोले यो औपन्यासिक कथानकसँग नजोडिएको एक स्वतन्त्र अध्यायजस्तो देखिन गएको छ । त्यसकारण यसलाई लेखककै कल्पना मान्नुपर्ने हुन्छ ।
तथ्यगतरुपमा दक्षिण अमेरिकाका ९ वटा देश ओगटेर बोकेको अमेजनलाई उत्तरी अमेरिकामा पर्ने जङ्गल भनिएको छ । यस्ता स- साना नजरअन्दाज गर्नमिल्ने त्रुटीहरु अन्य परिच्छेदमा पनि देखिएका छन् । [जस्तो जलजलाको मृत्युको धेरै पछि १९९२ (२०४८विसं ) मा गिरफ्तार गरिएका पेरुका गोन्जालोको गिरफ्तारी जलजलाको मस्तिष्कमा कसरी आयो ? जबकि जलजलाले केवल २०४१ सम्मको मात्र कथा भन्छ ]
तैपनि परिच्छेद ३२ मा पुगेर भने छतमा सुतेकोबेला लेखकले जलजलालाई अन्तरिक्ष यात्रा गरेको कल्पना गर्न लगाएका छन् तर ३१ औँ परिच्छेदमा नै यसो गर्न लगाएको भए कथाको तारतम्य राम्ररी जोडिन्थ्यो ।
का. जलजलाको परिच्छेद ३४ एक सहायक पात्र सरस्वतीको कथा खास गरेर स्वतन्त्रता संग्राममा लागेका उनका पतिसँगको अन्तरविरोध र पुन: प्रेमको कथा अगाडि सारिएको छ । सोही अध्यायमा जलजलाद्वारा व्यक्तिगत सफलता वा सामाजिक सेवाबाटप्राप्त आनन्दकाबीचमा कुन श्रेष्ठ भन्ने तुलना गर्ने प्रयत्न गरिएको छ।
अन्त्यमा गीताको दर्शन वा सांख्य दर्शनमा भनेजस्तै निष्काम कर्ममा जोड दिनुपर्ने बताइएको छ । त्यसको अर्थ अलौकिकता होइन तर सामाजिक सेवाका काममा व्यक्तिगत लाभहानीबाट मुक्त रहनुपर्छ भन्ने निकालिएको छ ।
परिच्छेद ३५ र ३६ पनि जलजलाको मन्थनमा नै आधारित छन् । परिच्छेद ३५ मा उनले स- साना वस्तुहरु जस्तै कुचो र गमला, सक्कली र नक्कली फूल , कार्पेट, रेडियोजस्ता वस्तुहरुलाई बृहत् ब्रम्हाण्डको अंशको रुपमा कसरी अन्तरसम्वन्धित छन् , तिनीहरुमा नियमितता र संयोगको द्वन्द्ववाद
कसरी लागू भइरहेको हुन्छ भन्ने विषयमा प्रकाश पारेकी छन् । परिच्छेद ३६ मा उनले शोषणमुलक समाजको कारण व्यक्तिगत सम्पत्ति र शोषणमुलक समाजलाई टिकाइराख्ने कारण समाजका पिछडिएका जनताका आपसी अन्तरविरोधले शोषक वर्ग विरुद्ध चल्ने संघर्षमा एकीकृत हुन नसक्नु हो भन्ने निष्कर्ष निकालेकी छन् ।
परिच्छेद ३७ मा पनि जलजलाको मन्थन जारी नै छ । यसमा उनले सोभियत समाजवादी सत्ताको पतन र चिनियाँ समाजवादको पतनको कारण खोजेकी छन् । रुसको समाजवादको पतनको कारण वर्गसंघर्ष समाप्त भएको स्टालिनको निष्कर्षका कारण सर्वहारा अधिनायकत्व कमजोर हुनु र उत्पादनका साधनको सामाजिकिकरण गरिएपनि वितरणको क्षेत्रबाट पैदा भएको पुँजीवादलाई रोक्ने सम्बन्धमा ध्यान नपुग्नु भएको निष्कर्ष निकालेकी छन् ।
अर्कोतिर चीनको सांस्कृतिक क्रान्तिले प्रतिक्रान्तिका खतराहरु रोक्न दक्षिणपन्थी शक्तिहरुविरुद्ध संघर्ष गरेको भएपनि मध्यपन्थी तत्त्वका विरुद्ध संघर्ष नगरेर पुँजीवाद पुनर्स्थापनाको झ्याल कायमै राखेकोले त्यहाँको समाजवादी सत्ताको पतन भएको निष्कर्ष निकालिएको छ ।
परिच्छेद ३८मा जलजलाले मानवीय व्यवहारमा भावनाको भूमिका ,मार्क्सवादी दर्शन, अजितसँगको उनका छलफलका प्रसङ्गजस्ता कुरामा मन्थन गर्दै गर्दा सुनन्दा आइपुगेकी छन् र जलजला र सुनन्दाको भेट भएको छ ।
प्रथम भेट भएपनि उनीहरुकोबीचमा प्रगाढ र आत्मीय सम्बन्ध स्थापित भएजस्तो महसुस दुवैले गरेका छन् । तर विद्याको व्यवहार भने आत्मीय छैन । यसका दुई कारण छन् : एक, उनी मार्क्सवादी दर्शनबाट टाढा गएकी छन् र दुई, उनको मनमा सुनन्दाको ठाउँमा डा. जगदीशलाई आफुले प्राप्त गर्न पाए हुन्थ्यो भन्ने लालसा पलाएको छ । त्यसप्रकारको रुचिको पछाडी डा. जगदीशको पैसा पद र प्रोजेक्ट नै विद्याका लागि मुख्य आकर्षण भएको छ ।
परिच्छेद ३९ मा बनारस जाने क्रममा सर्वप्रथम अयोध्या आइपुगेका छन् त्यहाँ उनीहरुले पारिजातको बारेमा छलफल गरेका छन् । खासगरी शिरीषको फूलजस्तो मृत्युको दर्शनबाट प्रगतिशील लेखकको रुपमा ‘ पर्खालभित्र र बाहिर ‘ लेख्ने क्रममा पारिजातले गरेको वैचारिक संघर्ष र त्यसमा निर्मल लामा र सुकन्याको सहयोगका विषयमा मुख्य छलफल छ ।
ततपश्चात अयोध्याको राम मन्दिर र बाबरीमस्जिदको विवादको प्रसङ्ग आएपछि उनीहरुले धर्मको नाममा चलेका एघारौँ शताब्दीका इसाई र मुस्लिमका युद्ध, सोह्रौँ र सत्रौँ शताब्दीमा चलेका प्रोटेस्टेन्ट र क्याथोलिककाबीचका युद्ध, मुसलमानहरुका शिया र सुन्नी सम्प्रदायहरुकाबीचका युद्ध,बोक्सीका नाममा सोही कालमा चर्चले महिलाहरूलाई दिएका मृत्युदण्ड आदिबारे विचार गर्दै धर्मको नाममा मानवता उपर कसरी अत्याचार भएको छ ? त्यसको बारेमा प्रष्ट पारिएको छ ।
का. जलजलाको ४० औँ परिच्छेदमा बनारसमा तृतीय महाधिवेशनपश्चात पार्टीमा आएको फुट देखि चौथो महाधिवेशनसम्मका अवस्थाहरुका बारेमा मुख्यत: निर्मल लामाले त्यसका मुख्य घटना र दार्शनिक कारणहरु सहित प्रष्ट पारेका छन् जसमा रश्मि नेपाली, खगुलाल गुरुङ र जय गोविन्द शाहले समेत पुरक टिप्पणी गरेका छन् ।
अब सुनन्दाले दिल्ली गएर पार्टीको काम गर्नुपर्ने ठेगान भएको छ । परिच्छेदको अन्तिमतर्फ जलजलाको विवाहित अजितसँगको प्रेमको प्रसङ्ग आएको छ । जुन प्रेमलाई अनैतिक भनेर पार्टीले कारबाही गरेको थियो ।जलजला र अजित सम्बन्धी प्रेम अगाडि आएपछि सुनन्दाले नैतिकता सम्बन्धी अलग अलग समाजमा अलग अलग मान्यता हुने र त्यसम्बन्धी मान्यताहरु सधै बदलिँदै जाने सम्बन्धी एक भाषण दिएकी छिन् ।
जलजलाले नैतिकताको प्रश्नलाई बेग्लाबेग्लै ढंगले हेरिने गरेको भए पनि अहिलेको हाम्रो पार्टीको अभ्यास , सिद्धान्त र प्रचलनमाथि विचार गर्दा हाम्रो प्रेम सही थियो भनेर दावा गर्न नसकेकाले आफुहरुले पार्टीको कारबाहीलाई स्वीकार गरेको परन्तु भावनात्मक दृष्टिले आफूहरुको प्रेम जीवनको एक अभिन्न अंग भएको स्वीकार गरेकी छिन् ।
त्यसको साथै जतिसुकै कारबाही भएपनि आफुहरु सो प्रेमबाट अलग नहुने एकातिर बताएकी छन् भने अर्कोतिर पार्टी र क्रान्तिप्रति इमान्दार र दृढ रहने प्रतिबद्धता पनि दोहोर्याएकी छन् ।
का. जलजलाको परिच्छेद ४१ अपाङ्गताको बारेमा केन्द्रित छ । बनारसकी गल्लीमा गीत गाउँदै हिंड्ने दृष्टिविहीन र उनकी सहयोगी महिलासँगको छलफलपछि नै अपाङ्गता सम्बन्धी छलफल अगाडि बढ्छ ।
तर छलफल अगाडि बढेपछि अपाङ्गता भएको क्षेत्रले समाजलाई दिएका महान् प्रतिभाहरुजस्तो कि आइन्स्टाइन, हकिङ्स , मोहम्मद अली, एस्टर भर्गेर, जोन नास,फ्रिडा काहलो, आन्द्रे बोसेइ,सुदान चन्दन, अरुणिमा सिन्हा, सुरदास, लुइस ब्रेली,निकोलाई ओस्त्रोवास्की,हेलेन किलर लगायत नेपालका अपाङ्ग प्रतिभाहरु खगेन्द्र बहादुर बस्नेत,पारिजात, झमक कुमारी, कमल लामिछाने मोहन सुन्दर श्रेष्ठ,नरबहादुर लिम्बू,गोबिन्दप्रसाद आचार्य, निलम ढुङ्गाना, रोमा नौपाने, रश्मि खरेल, सृष्टि केसी,सुशील कुमार लम्साल, निर्मला ज्ञवाली,गणेशलाल शर्मा, खुबिराम शर्मा र मेनुका पौडेल सम्मको योगदानको चर्चा गरिएको छ ।
जुन विषयवस्तुहरु सुनन्दा वा जलजलालाई थाहा छैन , त्यसलाई समेत लेखकले थपिदिएका छन् । कथावाचक ( न्यारेटर ) स्वयं लेखक भएकोले यसो गर्नु स्वाभाविकै मानिन्छ ।
ततपश्चात अपाङ्गता अधिकारका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय प्रयत्नमाथी प्रकाश हाल्दै अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिदोष हटाउनुपर्ने मान्यता अघि सारिएको छ ।
परिच्छेद ४२ मा पुन: जलजला र अजितको प्रेमप्रसङ्ग आएको छ ।त्यसमा जलजलाले ‘ एकातिर जुन पतिपत्नीकाबीचमा प्रेम टुटिसकेको हुन्छ , उनीहरुकाबीचमा सम्वन्ध विच्छेद हुनु राम्रो हो भने , अर्कोतिर जसकाबीचमा प्रेम हुन्छ, उनीहरुका बीचमा विवाह हुनुपर्दछ’ भन्ने मार्क्सवादी मान्यता अनुसार आफुहरुको प्रेमलाई व्यवहार नगरिएको असन्तोष पोखेकी छन् ।
यसमा का. अजितले सर्वप्रथम आफ्नो विवाह सम्बन्धलाई विच्छेदमा बदलेर उनको र जलजलाको प्रेमलाई मार्क्सवादी एकनिष्टता मा बदल्नु उचित हुन्थ्यो नै । यसमा का. अजितको कमजोरी नै रहन गएको छ र अर्कोतिर का. अजितलाई जुनप्रकारले कारबाही गरिएको थियो चौथो महाधिवेशनमा र पाँचौँ महाधिवेशनमा मसाल समूहमा आएका नेतृत्व सम्बन्धी दाउपेचका परिणामस्वरुप आवश्यकता भन्दा चर्को कारबाही भोग्न का. अजित बाध्य भएको हुनसक्ने सम्भावनालाई पनि अस्वीकार गर्न भने सकिन्न ।
त्यसपछाडिको भाग भने लक्ष्मीप्रसाद देवकोटामाथि केन्द्रित छ । जलजलाले देवकोटाको साहित्यिक जीवनलाई पूर्व मुनामदन काल, मुनामदन काल , पहाडी पुकार काल र प्रमिथस कालको रुपमा वर्गीकरण गर्दै उनको पहाडी पुकार, पागल कविता,प्रमिथस र तासकन्दको भाषणको उच्च मुल्यांकन गरेकि छन् ।
परिच्छेद ४३ र ४४ मा पनि उनले रेलबाट दिल्ली जाने क्रममा विभिन्न पक्षमाथी विचार गरिरहेकी छन् , जन्म , मृत्यु, चेतन , जड, आत्मा, भौतिक पदार्थ, क्रान्ति, प्रतिक्रान्ती, भावना , प्रेम आदि वस्तुहरु । तर धेरैजसो विषयवस्तुहरु सुनन्दाको कोठामा बस्दा उनले विचार गरिसकेका विषयवस्तु भएकोले खासै नयाँ कुराहरु छैनन् ।
परिच्छेद ४५ मा दिल्ली गएकोबेला जेएनयु युनिभर्सिटी नजिक भएको बस दुर्घटनामा मृत्यु भएको छ । जसको जानकारी यमलाल पोख्रेलले दिएपछि सुनन्दा विक्षिप्त भएकी छन् । केही दिनमा उनको पीडा केही कम भएपछि उनले जलजलाले राख्न दिएका अजित र जलजलाबीचका पत्रहरु पढेकी छन् । त्यसमा पार्टीबाट कारबाहीमा परेपछि अजित र जलजला मुख्यत: जलजला के कस्तो आर्थिक, सामाजिक र मनोवैज्ञानिक तनावको अवस्थाबाट गुज्रिएका थिए भन्ने कुरो पत्ता लागेको छ । खासगरी जलजलाको बुवाको स्वास्थ्यस्थिति निकै नै बिग्रेकोले पनि उनी चिन्तित थिइन् ।तर यी समस्या समाधान गर्न नपाउँदै उनको मृत्यु भएको छ ।
परिच्छेद ४६ मा पनि सुनन्दाले अजित र जलजलाका पत्रहरु नै पढेकी छन् जसमा उनले जलजला र अजितको प्रेमका जटिलता र मनोवैज्ञानिक असहजताको बारेमा जानकारी प्राप्त गरेकी छन् ।
का. जलजलाको परिच्छेद ४७ मा सुनन्दाले जलजलाको डायरी, अजित र उनको पत्रव्यवहार र स्वयं जलजलाले उनलाई सुनाएका संस्मरणका आधारमा जलजलाको व्यक्तित्व बुझ्ने प्रयास गरेकी छन् ।
पञ्चायती कालरात्रीको बेला पूर्णकालीन कार्यकर्ताको रुपमा थवाङमा गएर काम गर्नु नै उनको साहसिक कदम थियो । त्यसदेखी बाहेक अजितसँग कपिलवस्तु , अर्घाखाँची हुँदै अनेक प्रतिकुलताका ( प्रहरी प्रशासन, जंगली जनावर आदिबाट बच्नु ) बीच प्युठान ओखरकोट पुग्नु,मच्छी एरियामा बसेर भूमिगत रुपमा काम गर्नु साथै २०३४ को पर्चा काण्डपछि प्रहरीको आँखा छल्दै बनारससम्म जानेबेलासम्मका संस्मरणका आधारमा उनी उनको बुवाले नाम दिएजस्तै , अजितले बनाउन खोजेजस्तै र उनले बन्न प्रतिबद्धता गरेजस्तै साँच्चै रणचण्डी थिइन् भन्ने निश्कर्ष निकालेकी छिन् ।
परिच्छेद ४८ मा सुनन्दाले जलजलाको ब्यागमा भेटिएको अलि लामो कविता पढेकी छन् । त्यसको लेखकको नाम नखुलेको भएपनि त्यसमा अभिव्यक्त भावनाले अजित पार्टीबाट जलजलासँगको सम्बन्धको कारण पार्टीबाट तीन वर्ष निष्कासित भएको अवस्थालाई व्यक्त गरेको हुनाले उनले त्यसको शीर्षक राखिदिएकी छन् , निष्कासित । देश , पार्टी र हँसिया हतौडायुक्त झण्डालाई अभिनन्दन गर्दै सुरु भएको कवितामा गंगा कावेरी एक्सप्रेसको गतिभन्दा पनि तीव्र गतिमा उनका भावना दौडिरहेका थिए ।त्यसमा कविको मनमा तीव्र अन्तर्द्वन्द्व छ । उनले अतितमा छुटेको कडीलाई सुदूर आकाशमा खोज्ने प्रयत्न गरेका छन्। त्यसले उनको जलजलाबाट र क्रान्तिबाट टाढा हुनुपरेको अवस्थालाई देखाएको छ ।
तर पनि कविले जस्तो अवस्थामा पनि क्रान्तिको दिशामा अघि बढ्ने दृढता व्यक्त गरेका छन् । कवितामा उनको सर्वहारा अन्तर्राष्ट्रवादको भावना अभिव्यक्त भएको छ । उनले एसियाको सबैभन्दा सुन्दर मानिने कोभलमको तिरमा उभिएर हिन्द महासागरको पानीलाई बादल बनेर नेपालमा गएर मुसलधारे पानी भएर वर्षनु र मेरो यो सन्देश सबैतिर फैलाइदेउ भनेर लेखेको कुरालाई सुनन्दाले कालिदासको प्रसिद्ध काव्य मेघदूतमा यक्षले बादलको माध्यमबाट आफ्नी पत्नीलाई पठाएको प्रेमको सन्देशसँग तुलना गरेकी छन् ।
यसैबीच डा. जगदीशले पत्रबाट पठाएको विवाहको प्रस्ताव सुनन्दालाई पुन: प्राप्त भएको छ ।जसलाई उनले उत्साहको भावबिना स्वीकार गर्ने सङ्केत देखाएकी छन् ।
परिच्छेद ४९ मा सुनन्दा डा. जगदीशको योजना अनुसार पेरिस लागेकी छन् । डा. जगदीशको मास्कोमा सुनन्दासँग विवाह गर्ने योजना छ । तर उनले त्यसको सुरुवात रोमान्टिक मानिएको सहर पेरिसबाट गर्न खोजे ।
डा. जगदीश जो एक रसियन कम्युनिष्ट थिए । कम्युनिष्ट भएको नाताले धेरै फाइदा लिएका थिए ।अब उनमा मार्क्सवादी दृष्टिकोणप्रती खासै आस्था रहेको थिएन । गान्धीवादी सुनन्दाका लागि उनी अब कम्युनिष्ट पार्टी वा विचार परित्याग गर्न सक्थे । एकतिर रसियाको कम्युनिष्ट पार्टी नै ‘ सिर्जनात्मक ‘ बन्न पुगेको थियो , डा. जगदीश त्यो भन्दा पनि अघि बढेर मार्क्सवाद परित्याग गर्न तयार भएका थिए ।
अर्कोतिर उनीहरुले पेरिस घुम्न प्राप्त गरेकी गाइड जुलियट मार्क्सवादी विचारकी थिइन् । उनले पेरिस कम्युन र मार्क्सवादको पक्षमा र साम्राज्यवादको विपक्षमा अभिव्यकति दिइरहेकी छन् । सुनन्दाले मनमनै कम्युनिष्ट विचारको पक्षमा दृढता व्यक्त गर्दै गइरहेकी छन् । सुनन्दाको विषयलाई हेर्ने तरिका पनि मार्क्सवादी बन्दै गएको छ । यसरी यस परिच्छेदबाट सुनन्दाको रुपान्तरण नायक ( Protagonist ) र डा. जगदीशको रुपान्तरण खलनायक( Antagonist ) को रुपमा विकास हुँदै गएको देखिन्छ, कमसेकम वैचारिक रुपमा ।
परिच्छेद ५० मा एकातिर फ्रान्समा राजतन्त्र र गणतन्त्रका उत्थान पतनका कारणहरु केलाइएको छ र स्पष्ट पारिएको छ कसरी गणतन्त्रवादीहरुका कमजोरीले गणतन्त्रको गर्भबाट राजतन्त्रको जन्म भएको थियो ।
अर्कोतिर किशोरावस्थामै अङ्ग्रेजकाविरुद्ध बहादुरीसाथ लडेर अङ्ग्रेजहरुद्वारा जलाएर हत्या गरिएकी जोन अफ आर्कको बहादुरीपूर्ण इतिहासमाथी प्रकाश पारिएको छ। जोन अफ आर्कको कथा जति प्रेरणादायी छ , त्यो भन्दा कैयौँ गुणा बढी मार्मिक छ ।
का. जलजलाको परिच्छेद ५१ मा लुभ्र म्युजियम , जुन संसारकै अति प्रसिद्ध म्युजियम हो, को बारेमा विस्तृत विवरण दिइएको छ । फ्रान्सका राजाहरुको लुभ्र दरबारलाई नै सङ्ग्रहालयमा परिणत गरिएको थियो ।
सुरुमा त्यहाँ दरबारियाहरुले बनाएका कलाकृतिहरु र युद्धमा अन्य देशबाट लुटेका कलाकृतिहरुनै थिए ।तर पछि फ्रेन्च क्रान्तिका विभिन्न कलाकृतिहरु, मेसोपोटामिया , मिस्र, युनान र मुस्लिम देशहरुका कलाकृतिहरका विशाल भण्डार त्यहाँ राखिएको छ । जति फ्रेन्च क्रान्तिको र पेरिस कम्युनको इतिहास पढिएको थियो , त्यसको तुलनामा लुभ्रका कलाकृतिहरुको बारेमा पढिएको थिएन । मोनालिसाको बारेमा त अनेक कथा,किस्सा सुनिएको थियो । त्यसको विवरण पनि यहाँ राखिएको छ ।
अन्य विभिन्न महत्त्वपूर्ण कलाकृतिको बारेमा पनि यहाँ विस्तृत विवरण दिइएको छ । मैले लुभ्र म्युजियमको डा. तारानाथ शर्माले गरेको वर्णन कहिँ पढेको थिएँ । तर त्यो लेख अहिले मसँग उपलब्ध छैन । तर एउटा मार्क्सवादी लेखकले त्यहाँका कलाकृतिको वर्णन गर्दा त्यहाँ भएका लाखौँ कलाकृती मध्ये केही छनौट गर्नुपर्दा प्राथमिकता त बदलिने नै भए ।तसर्थ क्रान्ति र स्वतन्त्रताका भाव बोकेका चित्रहरुका अत्यन्त सुन्दर वर्णन यस अध्यायमा गरिएको छ ।
जीन पल सात्र र सिमन डु वुभाको पनि राम्रै चर्चा गरिएको छ । अन्त्यमा जुलियटले सुनन्दालाई दार्शनिक अवेलार्ड र हेलोसीका प्रेमपत्रहरु उपलब्ध गराएकी छन् । जसलाई पढेर अजित र जलजलाका प्रेमपत्रसँग तुलना गर्ने उनको इच्छा छ ।’ चेरी टाइम’ को अङ्ग्रेजी अनुवादको एक अंश दिइएको छ , त्यो रातो रङको चेरी जुन रक्तिम क्रान्तिकारी युद्धमा लड्न जान लागेका युवाहरुलाई दिएर तिनीहरुका प्रेमिकाहरुले विदा गरेका थिए ।
‘ When we shall sing out ” cherry time”
The merry nightingales and mocking blackbirds
Will all rejoice in mirth
The maidens’ heads will fill with fervor’
परिच्छेद ५२ मा डा. जगदीश र सुनन्दाको जर्मनीको यात्रा सुरु भएको छ ।डा. जगदीश सुनन्दासँग रोमान्टिक भएर जर्मनी घुम्न चाहन्थे तर संयोगले सुनन्दासँग सँगै पर्वतारोहणको तालीम गरेकी युवती अर्चना श्रीवास्तव उनको श्रीमान् फ्रेडरिकसँगै भेटिएकी छन् । उनले सुनन्दा र डा. जगदीशलाई जर्मनी घुमाउने भइन् । जसलाई इन्कार गर्ने डा. जगदीशको प्रयास सफल भएन । सुनन्दाले हिटलरको पालामा बनेका कन्स्न्ट्रेसन क्याम्प, साहित्यकार गोथे, मार्क्स , एङ्गेल्स , रोजा लग्जम्वर्ग र लिब्निचका स्थानहरु हेर्ने इच्चा व्यक्त गरेपछि डा. जगदीशलाई आश्चर्य लागेको छ ।पहिलो दिनको उनीहरुको भ्रमण म्युजियम आइल्याण्डबाट सुरु भएको छ ।
परिच्छेद ५३ मा हिटलरले होलोकास्ट गरेका कन्सन्ट्रेसन क्याम्पहरुको वर्णन छ जसबाट अर्चना र सुनन्दा दुवै व्यथित भएका छन् । खास गरेर बालकको हत्या गरिएका प्रसङ्गहरु ।
कुनै क्याम्पहरुमा ७७ हजारसम्म युहुदी , कम्युनिष्ट र सोसल डेमोक्रेटहरुको हत्या गरिएको थियो ।
युद्ध सुरु हुनु भन्दा अगाडि स्टालिनका छोरालाई हत्या गरिएको क्याम्पको समेत त्यहाँ वर्णन गरिएको छ । स्टालिनले नै संसारलाई नाजीवाद र फासिवादबाट बचाएका थिए र अहिलेका कम्युनिष्ट जस्तो आफ्ना सन्तानलाई धनदौलत सुख, सत्ता उपलब्ध गराउन गरिबका छोराछोरीलाई लडाएर कुर्सी प्राप्त गर्ने करियरिष्ट उनी थिएनन् । साँचो अर्थमा कम्युनिष्ट योद्धा थिए । उनले आफ्नो सम्पूर्ण परिवारलाई सोभियत सत्ताको रक्षाकोलागि युद्धमा होमेका थिए । उपन्यासमा उनको छोराको नाम दिइएको छैन तर उनको नाम Yakov Dzhugashvili थियो, उनको हत्या भएको १० वर्षपछि बल्ल त्यो कुरो प्रकाशमा आएको थियो ।
खासगरी महिलाहरुको लागिमात्र बनाइएको क्याम्पमा महिला र बच्चाहरुलाई अत्यन्त बीभत्स तरिकाले गरिएको हत्याको विवरण दिइएको छ ।
का. जलजलाको परिच्छेद ५४ मा पनि झन्डै ५६ हजारको हत्या गरिएको डाचु क्याम्पको विवरण दिइएको छ । साथमा हिटलरले युरोपभरि गरेको युहुदीहरुको नरसंहारको विवरण संलग्न गरिएको छ ।
परिच्छेदको सबैभन्दा महत्त्वपूर्ण प्रश्न सुनन्दाले उठाएकी छन् – महान दार्शनिक र उच्च सांस्कृतिक धरातल भएको देशमा हिटलरजस्तो व्यक्ति र नाजी पार्टीको उदय कसरीहुन सक्यो ?
उनको प्रश्न पछाडि डा। जगदीश, सुनन्दा, फ्रेडरिक र अलेक्जेण्डरले पनि त्यसको विश्लेषण गर्ने प्रयत्न गरेका छन् । केवल हिटलरले मात्र त त्यस्तो अत्याचार गरेको होइन, जर्मनको जनसंख्याको ठूलो हिस्सा यस्तो अत्याचारमा सहभागी भएको थियो । भिडको मनोविज्ञान किन यस्तो बन्न जान्छ ? उ यति परपिडक र अत्याचारी भएर प्रकट हुन्छ । यहाँसम्मकी महिला र बालबालिकाको हत्या गर्ने बेला आफ्ना घरका बालबालिका पनि सम्झन्न । लेखकले यो विवरण पनि दिएका छन् , महिलाहरुलाई क्याम्पमा यातना दिने र हत्या गर्ने काममा स्वयं महिलाहरु पनि संलग्न थिए ।
पहिले गान्धीवादीबाट मार्क्सवादी बन्ने बेला सुनन्दाको मनमा प्रकट भएको अन्तर्द्वन्द्व , जलजलाका मानसिक तनाव र संघर्ष, हिटलर वा त्यहाँको ठूलो हिस्सामा देखिएको विकृत मनोविज्ञान आदिले मलाइ के लाग्यो भने यो उपन्यास मुख्यत: मार्क्सवादी रचना भएपनि यसभित्र मनोवैज्ञानिक अध्ययन वा समीक्षाका लागि पनि त्यति नै ठाउँ छ । अझ जातिहत्याको त्यस्तो भयावह अवस्था भोगेर आएको युहुदी राष्ट्र इजरायलले मध्यपूर्वमा केवल आतंकवादी संगठन मात्र होइन, बालबालिका र महिलाहरुको पनि कत्लेआम गर्छ , भिडको मनोविज्ञान अध्ययनको विषय बन्छ नै । यसतर्फ लेखकले पाठकको मनलाई डोर्याउन खोजेका छन् ।
यो परिच्छेद पढ्दा जब पुरै पुस्तक यसरी दर्शनशास्त्रको भण्डारको रुपमा उभिएको छ , हिटलरको वा नाजीपार्टीको त्यस्तो मनोविज्ञानका पछाडि नाजी पार्टी र मुसोलिनीको फासिवादी पार्टीले बढी नै उल्लेख गरेको फ्रेडरिक नित्सेको विचारमा आधारित शक्तिमा पुग्ने इच्छा (will to power) र अतिमानव ( सुपरम्यान ) को निर्माण सम्बन्धि धारणाले हिटलरको व्यक्तित्वमा परेको प्रभावको चर्चा आउला भन्ने लागेको थियो , तर त्यससम्बन्धी कुनै चर्चा परिच्छेदमा आएन।
वास्तवमा फासिवाद र नाजिवादी दर्शनमा नित्सेको दर्शनको काफी प्रभाव परेको थियो ।
का. जलजलाको परिच्छेद ५५ मा पहिले त सुनन्दाले रुसका आदिवासीहरुको बारेमा डा. जगदीशसँग सोधेर केही जानकारी बटुलेकी छन् ।
अक्टोबर क्रान्तिपछि १४ वटा साम्राज्यवादी राष्ट्रहरुको आक्रमणबाट जोगिएको रूस, स्टालिनको नेतृत्वमा स्टालिनग्रादको युद्धमा हिटलरको सेनाको हार भएपछि नै स्टालिनले नाजीवादीहरुबाट विश्वलाई जोगाउन सफल भएका थिए । यो इतिहासको स्मरण गर्दा सुनन्दाको स्टालिनप्रति सम्मानको भावना बढ्दै गएको छ । अर्कोतिर डा. जगदीश सोभियत संसोधनवादी थिए र २० औँ पार्टी महाधिवेशनको ख्रुस्चेवको लाइन अनुसार स्टालिनप्रति नकारात्मक दृष्टिकोण राख्दछन् ।
खासगरी ख्रुस्चेवले स्टालिनको शव लेनिनको नजिकबाट हटाएको कुराको डा. जगदीशले समर्थन गरेबाट उनको मनमा हलचल मच्चिएको छ ।यद्यपि त्यो अन्तरविरोध उनको सोचाइको तहमा मात्र छन् , बाहिर प्रकट भएका छैनन् । उनले त्यहाँका म्युजियमहरुमध्ये लेनिनको शव, १९१७ को क्रान्तिमा मृत्यु भएका बोल्सेभिकहरुको स्मारक, अर्नोल्डको शालिक आदि अवलोकन गरेकी छन् ।
डा . जगदीश अब विवाहको मिति तय गर्न हतारिएका छन् तर सुनन्दाले एकप्रकारले विवाहको मिति पन्छाउँदै आएकी छन् । अब उनले स्टालिनग्राद र लेनिनग्राद हेरेर आएपछि नै विवाहको बारेमा छलफल गर्ने बताएकी छन् ।
परिच्छेद ५६ मा डा. जगदीश र सुनन्दाले स्टालिनग्राद सहर र त्यहाँको स्टालिन म्युजियम अवलोकन गरेका छन् । उनीहरुलाई त्यहाँको अवलोकन गराएका छन् उत्तरप्रदेशबाट आएर त्यहिँ युनिभर्सिटीमा प्राध्यापन गर्ने र लेनिनग्रादकी युवती विवाह गरेका विपिन श्रीवास्तवले । यहाँ विपिन र सुनन्दा स्टालिनको उच्च मुल्याङ्कन गर्दछन् भने जगदीश त्यसप्रति नकारात्मक दृष्टि राख्दछन् । यसले गर्दा सुनन्दाको मनमा उनीहरुको विवाहलाई लिएर अनेकौँ शंका उपशंका बढ्दै गएका छन् ।कहिले उनलाई विचार नमिल्ने व्यक्तिसँग कसरी वैवाहिक सम्बन्ध सफल हुनसक्छ भनेर तनाव उत्पन्न हुन्छ भने कहिले भने जगदीशको विचारमा परिवर्तन आउने कामना गरेर वा शान्तिपूर्ण सहअस्तित्वका आधारमा जीवन चलाउने निर्णय गरेर आफैलाइ सान्त्वना दिन्छिन् ।
का. जलजलाको परिच्छेद ५७ मा विपिन श्रीवास्तवकी छोरी भेलिन्टिनाले उनलाई वोल्गा नदीको तिरमा रहेको डिफेन्स अफ स्टालिनग्राद म्युजियम देखाएकी थिइन् । भेलिन्टिनाकी हजुरआमाले त्यो युद्धमा सेनाको लागि सामान पुर्याउने काममा लागेर मद्दत गरेकी थिइन् ।नागरिक र सेनाको संयुक्त प्रतिरोधस्वरुप जर्मन सेनाको हार भएको थियो । जर्मन सेनापति एबगगिग सहित एकलाख बढी सेनाले आत्मसमर्पण गरेका थिए । यही त्यो निर्णायक युद्ध थियो, जसले विश्वलाई फासीवादबाट बचाएको थियो ।
भेलिन्टिनाले आफ्नी हजुरआमालाई उद्धृत गर्दै ख्रुश्चेवले रुसलाई पुँजीवादतर्फ लगेको बताइएकी थिइन् । सो म्युजियममा भेलिन्टिना नामक महिलालाई मोडल बनाएर बनाइएको एक स्मारक थियो ।भेलिन्टिनाको अर्थ मातृभूमिको आह्वान हुन्छ । उनकी हजुरआमाले त्यहीबाट उनको नाम भेलिन्टिना राखेकी थिइन् । त्यो स्मरणबाट उनी भावुक बनेकी थिइन् ।
सुनन्दाले जतिजति स्मारक हेर्दै गएकी थिइन् , उतिनै उनको मनमा स्टालिनप्रति सम्मानको भावना बढ्दै गएको थियो । उनीहरु लेनिनग्रादतर्फ जाँदै गर्दा डा. जगदीशले विवाहको मिति तय गर्न आग्रह गरेका थिए । पहिला उनले तिमी गान्धीवादी भएकोले म मार्क्सवादी विचार छोडेर विहे गर्न तयार छुँ भन्दै कम्युनिष्ट सिद्धान्तको भर्त्सना गरेका थिए ।
उनको विचार सुनेर सुनन्दाले विवाह नगर्ने निर्णय सुनाएकी थिइन् । पछि उनले आफू मार्क्सवादी भएको बताएपछि डा. जगदीशले आफू पनि मार्क्सवादी भएकोले विवाह गर्ने आधार तयार भएको बताएका थिए ।
तर सुनन्दाले उनी सोभियत संसोधनवादी भएको बताएपछि उनले पुन: आफुले अब सोभियत संसोधनवादलाई समर्थन नगर्ने बताएका थिए । विवाह गर्नकै लागि सिद्धान्त बदल्ने यस्तो अवसरवादी मानिससँग विवाह नगर्ने उनले स्पष्ट निर्णय गरेकी थिइन् । तैपनि उनीहरुकाबीचमा लेनिनग्राद र युनान सँगै घुम्न गएर भारत फर्कने सहमति भएको छ । जगदीशको मनमा सुनन्दाको मन जित्न सक्ने झिनो आशा अझै बाँकी छ ।
परिच्छेद ५८ मा सुनन्दाले आफूले डा. जगदीशसँग विवाह नगर्ने निर्णय गरेको कुरा भेलिन्टिनालाई सुनाएकी छन् र नतासाले पनि छोरीबाट सो कुरा थाहा पाएकी छन् । उनीहरुले विचार नमिल्ने मानिससँग विवाह नगर्ने सुनन्दाको निर्णयको समर्थन गरेका छन् । परिच्छेदमा लेनिनग्रादमा हिटलरले लगाएको ८७२ दिन लामो नाकाबन्दी , आक्रमण र रुसी जनताले त्यसविरुद्ध गरेको विरतापूर्ण प्रतिरोधको ईतिहास छ ।
परिच्छेदमा क्याथोरिन द ग्रेटले १७६४ मा निर्माण गरेको हरमिटेजका दरबारहरुमा बनेका सङ्ग्रहालय , जुन विश्वकै दोस्रो ठूलो म्युजियम मानिन्छ , को विस्तृत वर्णन छ ।
परिच्छेद ५९ मा अवेलार्ड र हेलोसीको बीचको प्रेमको चर्चा गरिएको छ । इसाई दार्शनिक अवेलार्डले हेलोसीसँग प्रेम गरेका थिए र त्यसबाट एक सन्तान पनि प्राप्त गरेका थिए । तर इसाई धर्ममा आधारित एक पादरीले आफुलाई सांसारिक प्रेममा होइन भगवानमा समर्पित गर्नुपर्ने ठानेका कारण आफूले गरेको पाप कटाउन उनलाई भिक्षुणी बनाएर परित्याग गरेका थिए र आफूले धार्मिक विद्यालय खोली विद्यार्थीहरुलाई शिक्षा दिन थालेका थिए । तर उनीहरुले प्रेमलाई भूलेर आफुलाई पूर्णरुपले ईश्वरलाई समर्पित गर्ने प्रतिज्ञा गरेका भएपनी एकआपसको प्रेमलाई भूल्न सकेका थिएनन् । त्यसले उनीहरुको हृदयमा दु:खको बीजारोपण गरिदिएको थियो । यो कुरा उनीहरुको पत्रहरुबाट खुल्न आएको थिए । यसमा दार्शनिक अवेलार्ड भन्दा हेलोसीले व्यक्त गरेका विचारहरु बढी उच्चस्तरीय छन् ।
परिच्छेद ६० प्राचीन ग्रीक दर्शन,१८०३/मा टर्किस् सेनाको आक्रमणबाट वचन महिलाहरुले नाच्दै आत्महत्या गरेको ठाउँ जलोङ्गोको नाच र ग्रीक माइथोलोजीहरुको वर्णन छ ।
परिच्छेद ६१ मा युरोपबाट लखनउ आएपछि सुनन्दाले आजितले छोडेर गएको डायरी प्राप्त गरेकी छन् । जसबाट उनलाई जलजलाको अन्तिम संस्कार र त्यसबेलाको अजितको दु:खमा डुबेको मनस्थिति ज्ञात भएको छ ।
परिच्छेद ६२ मा अजितको खोज गर्ने क्रममा सुनन्दा गोरखपुरमा भेट भएका खगुलाल गुरुङसँगै प्युठानतर्फ लागेकी छन् । का. खगुलालले उनलाई प्युठानका ऐतिहासिक एवम् किसान / कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित ठाउँको परिचय गराउँदै गएका छन् ।
का. जलजला उपन्यासको परिच्छेद ६३ मा ओखरकोटको, जुन लेखक मोहनविक्रम सिँहको आफ्नो गाउँ पनि हो, मानवशास्त्रीय बनोट, त्यहाँ जाट राजाहरुले राज्य गरेको भन्ने किंवदन्ती , घर्तीक्षेत्री राजाहरुको राज्य , ओखरकोटको राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना र ओखरकोटको कोटको पूजाविधिबारे स्पष्ट पारिएको छ ।
त्यहाँ मुख्य नेताको रुपमा आनन्दको नाम आएको छ , पहिले मोहनविक्रम सिंहले आनन्द बहादुर क्षेत्रीको नाममा लेख लेख्ने गरेको र जसमध्ये गद्दार पुष्पलाल नामक चर्चित पुस्तक समेत भएकोले पाठकको मनमा कतै सुनन्दाले खोजी गरेको अजित र आनन्द एउटै व्यक्ति त होइनन् भन्ने शंका उब्जन्छ । तर उपन्यासकी पात्र सुनन्दालाई भने त्यससम्बन्धी जानकारी नभएकोले कुनै सन्देह छैन । बरु उनी अजितको सट्टा आनन्दको नाम सुन्दा झन् निराश भएकी छन् ।
परिच्छेद ६४ मा असमान सामाजिक अवस्थाका हर्के र उजेलीको प्रेमप्रसङ्ग , गाउँका मुख्खे , जिम्वालहरुले हर्केमाथि सोही विषयमा गरेका अत्याचार मुख्यत: कम्युनिस्ट आन्दोलन र जनता शिक्षण शिविरमा हर्केको सहभागिताका कारणबाट भएको उनीहरको मिलन र कम्युनिस्ट आन्दोलनमा दुवैको समान सहभागिताको विषयमा चर्चा गरिएको छ ।
परिच्छेद ६५ मा प्युठानको नारिकोटको ऐतिहासिक किसान आन्दोलनको चर्चा गरिएको छ, त्यससँगै कम्युनिष्ट पार्टीको स्थापना र जेलमा मोहनविक्रम सिंह,खगुलाल गुरुङ लगाएतले गरेको संघर्ष , थवाङका वर्मन बुढा लगायतलाई कम्युनिष्टको झुटा आरोप लगाएर जेलमा हालिएको , उनले जेलमा कम्गुनिष्ट विचारको प्रशिक्षण पाएको र मोहनविक्रमहरु जेलबाट छुटेपछि थवाङमा कम्युनिष्ट पार्टीको कमिटी गठन गरेको र थवाङ कम्युनिष्टहरुको बलियो किल्ला बनेको उल्लेख छ ।
का. जलजलाको परिच्छेद ६६ गौमुखी जुन झिम्रुक नदीको मुहान हो, त्यसको बारेमा केन्द्रित छ ।
पुरै परिच्छेद एकातिर त्यहाँको प्राकृतिक सौन्दर्यको वर्णन र अर्कोतिर कथा र किंवदन्तीले भरिएको छ ।अर्खाको समाजशास्त्रीय बनावट पनि दिइएको छ । लुप्लुङका कामी महिलासँग विवाह गरेका बाहुनबाट जन्मिएका बाह्रघरे कामीहरु,भूमेपूजा गर्न चोरेर ल्याइएको मगर केटाका सन्तानहरू ,पछि आएका सन्यासी,दमाई र क्षेत्रीहरु र प्युठानमा अन्यत्र नपाइने तामाङहरू समेत त्यहाँका बासिन्दा रहेका छन् ।
त्यहाँ उत्पत्ति भएका नदी, खोला, वनमा पाइने वनस्पति, जनावर र चराचुरुङ्गीको समेत विस्तृत विवरण दिइएको छ ।
त्यहाँका मेलाहरुसम्बन्धी अनेक कथा, चलन, परम्परा, भूमे पूजा गर्ने तरिका,बाईस मूलको झरनाको वर्णन , इस्मादेवी मन्दिरको किंवदन्ती र उनलाई बली दिइने काला पाठीहरुको मासु जुठो नबारीकन खोसाखोस गरेर खाइने प्राग्ऐतिहासिकजस्तो लाग्ने चलन जस्ता अनेकन् सांस्कृतिक विविधता झल्काइएको छ ।
रजवाराको गाउँमा तामाको खानीबाट तामा प्रशोधन हुने गरेको कुरो पनि थाहा भएको छ ।
का. जलजलाको परिच्छेद ६७ मा प्युठानको बिजुवारदेखि सुनन्दा र खगुलाल गुरुङ पैदल हिंडेका छन् । बाटामा पर्ने नदी , गाउँहरुको वर्णन छ – जस्तो कि अरेस गाउँ, चिन्ने,ओखरेनी, सुलिचौर, धनचौर , रुनिवाङ आदि ।
बाटामा उनीहरु सुनछहरी छहरामा पुगेका छन् ।सुनछहरीको सौन्दर्यको साथसाथै , त्यहाँबाट बगेर गएका खोलामा बालुवा चाल्दा सुन भेटिने बताइएको छ ।
खगुलालले मोहनविक्रम सिंहले करिब २४ वर्ष ( उपन्यासको कालक्रमको हिसाबले १८/२० सालमा होला ? ) अगाडि मोहनविक्रम सिँहले बाबियोको बाक्लो रस्सीको सहाराले छहरालाई नापेर तुलना गरी यसलाई एसियाको दोस्रो सबैभन्दा अग्लो झरना बताएको र त्यो कुरा काठमाडौंका अखवारहरूमा पनि प्रकाशित भएको बताएका छन् ।
तर उनले त्यसको उचाइ आफुलाई याद नरहेको बताएका छन् ।
मैले गुगल गर्दा सुनछहरी झरनाको उचाइ २१८ मिटर उल्लेख गरेको पाइयो । तर ३०० मिटरभन्दा माथिका अन्य केही झरना समेत एसियामा भएकोले सुनछहरीलाई दोस्रो ठूलो छहरा भन्ने दाबी पुष्टि गर्न सकिएन । तर आफू खस्दा खेरिको वेगले टाढा टाढासम्म छाल पुर्याउने सो झरना अत्यन्त सुन्दर रहेको कुरामा कुनै शंका रहेन । जुनसमयमा मोहनविक्रमले नापेको बताइएको छ , त्यसबेला धेरै छहराको नाप नभएको वा प्रकाशमा नआएको समयमा सुनछहरी नै दोस्रो ठूलो झरना मानिएको हुन पनि सक्दथ्यो ।
साँझ उनीहरु थवाङ आइपुगेका छन् र वर्मन बुढाका घर बास बसेका छन् ।
का. जलजलाको परिच्छेद ६८ खगुलाल, सुनन्दा र वर्मन बुढाकी बहिनी तुलकुमारी भएर थवाङ गाउँगुम्न गएका छन् । त्यहाँ थवाङ वगरमा मिलेर रुकुमको भेरीतर्फ जाने सबै खोलाको नाम छ । जलजलाधुरीमा गोठ राखेर गाई , बाख्रा, भेडाहरु पाल्ने, गाइबाख्रा चराउन ढोरपाटन र कर्णाली सम्म जाने , थवाङका वनमा गाईबाख्रा चराउन आउनेसँग बनौलो उठाउनेचलनको बारेमा व्याख्या गरिएको छ ।
त्यहाँका घरहरुको संरचनाको बारेमा पनि खुलाइएको छ । वर्मन बुढालाई कसरी कम्युनिष्ट भएको झुठा मुद्दामा फसाइएको थियो, जेलमा उनी कसरी साँच्चै नै कम्युनिष्ट भएका थिए । थवाङ कसरी कम्युनिष्टको किल्ला बनेको थियो र रोल्पा पुरै नै कम्युनिष्टमय बनेको थियो जस्ता कुराको विवरण दिएको छ ।यसका अतिरिक्त थवाङलाई मुख्य केन्द्र बनाएर माओवादीहरुले सशस्त्र संघर्ष गरेपछि थवाङ अन्तर्राष्ट्रिय रुपमा नै प्रसिद्ध भएको विवरण लेखकले घुसाएका छन् । नत्र उपन्यासको कालखण्डभित्र यो प्रसङ्ग पर्दैन ।
थवाङमा गरिने भूमे पूजाको बारेमा तुलकुमारी र वर्मन बुढाकी पत्नीले प्रकाश पारेका छन् । त्यो मेलामा केटाकेटी हात समातेर दगुर्ने वा दुईजनाका एक एक खुट्टा रुमालले बाँधेर तीन खुट्टाले दगुर्ने त्यसो गर्दा कहिलेकाहिँ हातखुट्टा भाँचिने समेत हुँदो रहेछ ।
भूमेमा बोकालाई कटुवालले चोर्ने, लतार्ने ,काट्ने, तरबारले धुपी सल्लाका हाँगाहरुकाट्ने , जलजलाका फूल टिप्न जाने , भोंपु ल्याउने आदि चलनको पनि व्याख्या गरिएको छ ।
अर्कोदिन उनीहरु जलजलाको पहाड चढेका छन् – खगुलाल, सुनन्दा र उमा रोका । बाटोमा जलजलाले उमालाई जलजलाकाबारेमा धेरै कुरा सोधेकी छन् ।
जलजलाको लेकमा पुगेपछि उनीहरुले एउटा भोकाएको जस्तो देखिने, त्यहाँको जस्तो नभएर टाढाको जस्तो देखिने एउटा व्यक्तिलाई देखेका छन् ।
का. जलजलाको परिच्छेद ६९ मा जलजलाको धुरीमा अजित र सुनन्दाको भेट भएको छ र त्यहाँ भावुक दृश्य पैदा भएको छ । जलजलालाई सम्झेर र अर्कोतिर अजित र सुनन्दाले एक अर्काको भावनामा एकरुपता भएको महसुस गरेर ।
केही छिन् पछि अजितलाई पक्रन गाउँमा पुलिस आएको खबर दिन हर्के आइपुग्छन् । केहीबेरमा प्रहरीहरु पनि । उनीहरु अजितलाई पक्रेर लैजान खोजेका थिए । प्रहरीको संख्या सानो थियो । सुनन्दाको कराँतेले र हर्केको लकडीहातले अजितलाई जोगाएको छ । लेखकले सुनन्दालाई लखनउमा उनको व्यक्तित्व विकासको चरणमा कराँते खेल्न सिकाएर ब्ल्याक बेल्ट लिन लगाउनुको रहस्य यहाँ खुलेको छ ।
अजितलाई सुनन्दामा नै जलजला देखेको अनुभूति भएको छ ।
परिच्छेद ७० मा थवाङमा जलजला बसेको घरमा अवलोकन गर्दै गर्दा एउटा केटाले गाउँमा बन्दुकधारी १०० जति प्रहरी आएको बताएपछि वर्मन बुढाले अजित, सुनन्दा, खगुलाल र हर्केलाई सुरक्षित रुपले गुप्त बाटोबाट कामीखोर्रे , प्लेटाखर्क हुँदै गुराँसे पुर्याइदिएका छन् । त्यहाँबाट अर्कोदिन खगुलाल , अजित, सुनन्दा र हर्के मलागिरीतिर लागेका छन् । सुनन्दाले लगातार रुपमा जलजलालाई सम्झिइरहेकी छन् र उनको मनमा अजितप्रतिको प्रेम गाढा बन्दै गइरहेको छ ।
अन्त्यमा, उपसंहार आएको छ । नेकपा मसालको पिवीको वैठकले अजित र सुनन्दाको विवाहको लागि स्वीकृति दिने निर्णय गरे अनुरुप उनीहरुको विवाह बनारसको गंगा नदीमा एक मोटरबोटमा आयोजना गरिएको छ ।
जर्मनीबाट आएकी अर्चना श्रीवास्तवको सुनन्दाकी फुपू सरस्वतीको मद्दतबाट माइतीसँग मिलन भएको छ ।
विवाहमा दुलहीकी आमा, सरस्वती , दुलहीका जेठाबा अनुप सिंह,का. गढवाली, भेलिन्टिना,रश्मिराज नेपाली,जीवन शर्मा , वसन्त,चित्रबहादुर केसी लगायतले शुभकामना दिएका छन् । जर्मनीबाट आइसकेपछि अर्चना वा फ्रेडरिक मध्ये एकलाई पनि शुभकामना दिन लगाएको भए राम्रो हुन्थ्यो ।
अजितको मन्तव्य सकिएपछि सुनन्दाले अलि लामो मन्तव्य दिएकी छन् । सुनन्दा बोल्दै जाँदा अजितलाई उनमा जलजला प्रतिबिम्बित भएकी छन् । अर्थात् उनी स्वयं जलजला बनेकी छन् । तसर्थ का. अजितले उनलाई का. जलजला भनेर अङ्गालो हालेपछि उपन्यासको कथा समाप्त भएको छ ।
अजितको पहिली श्रीमतिसँगको सम्बन्ध विच्छेदमा टुङ्गिएको थियो वा उनलाई जलजलासँगको सम्बन्धमा कारबाही गर्नेहरु चौथो महाधिवेशन र मशालतर्फ गइसकेकोले उनलाई सजिलै सुनन्दासँग विहे गर्ने बाटो खुलेको हो , उपन्यासले केही बोलेको छैन ।
यसरी जलजला महाउपन्यासको अध्ययन समाप्त भएको छ

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
