• ३ चैत्र २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मछितालमा वर्षाैंदेखिको खानेपानीको समस्या समाधान हुँदै : श्रमदानबाट गरियो पाइप विस्तार




तुलबहादुर कवँर मगर
भालुबाङ। दाङको राप्ती गाउँपालिका–१ स्थित मछिताल गाउँमा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ। सोही वडाको शान्तिपुरबाट पानी ल्याउनका लागि पाइप विस्तार गरिए सँगै साे समस्या समाधान हुने भएको हाे। करिब १२ सय मिटर टाढा शान्तिपुरमा रहेको खानेपानी ट्याङ्कीबाट मछितालसम्म पानी ल्याउन पाइप बिछ्याउने काम सुरु गरिएको छ। यससँगै गाउँमा खानेपानी पुर्‍याउने कामको थालनी भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा अध्यक्ष गेम बहादुर खड्का, नेपाल उद्योग व्यापार संघ राप्तीका अध्यक्ष गञ्जबहादुर विष्ट, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका स्ववियु सभापति विनोद सोनी, समाजसेवी पदमबहादुर पाण्डे, रंगबहादुर सुनार, छपिन्द्र बुढाथोकी लगायत स्थानीयवासीहरूले श्रमदानमार्फत आइतबार पाइप विस्तारको काम गर्नु भएको हो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङको सहयोगमा पाइप खरिद गरि विस्तारको काम भइरहेको र छिट्टै मछितालका घरघरमा पानी पुर्‍याउने योजना रहेको स्थानीय नेत्र खनालले बताउनुभयो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मछितालको खानेपानी समस्या समाधान गर्न पालिका गम्भीर भएर लागेको बताउनुभयो। “खानेपानी मानवको आधारभूत आवश्यकता हो। मछितालमा खानेपानीको समस्या रहेको थाहा पाए देखि नै हामी समाधानको प्रयासमा थियौं,” उहाँले भन्नुभयो। “पाइप विस्तारपछि अब पालिकाले प्रत्येक घरमा धारा जडान गर्न आवश्यक पर्ने मिटरलगायतका सामग्री पनि उपलब्ध गराउनेछ,” अध्यक्ष विष्टले थप गर्नुभयो।

वडाध्यक्ष गेम बहादुर खड्काले खानेपानी समस्या समाधान वडाले पहिले प्राथमिकता दिएको बताउनुभयो। “स्थानीयको दुःख बुझेर हामीले ट्याङ्कीको पानी गाउँमा झार्ने योजना बनायौं। सबैको सहयोगमा पाइप विस्तार सम्भव भएको छ। अब छिट्टै गाउँमा पानी पुग्नेछ,” उहाँले भन्नुभयो।

मछितालमा करिब २२ घरधुरी रहेका छन्। ती घरधुरीका स्थानीयले वर्षौंदेखि राप्ती नदी किनारमा रहेको जरुवा पानी पिउँदै आएका थिए। वर्षातको समयमा त्यही पानी पनि धमिलो हुने भएकाले समस्या झनै बढ्ने गरेको स्थानीय हुमा कवरले बताउनुभयो। “सानो कुवा छ, सबैजना सोही कुवाको पानी पिउँछौं। बिहानैदेखि पालो कुर्दा कुर्दा घण्टौँ बित्छ। अन्य काम गर्न समय नै पुग्दैन,” उहाँले दुखेसो गर्नुभयो।

त्यसैगरी सोही ठाउँका दीपक सुनारले वर्षौंदेखिको खानेपानी समस्या अब समाधान हुने आशा पलाएको बताउनुभयो। “खानेपानीको समस्या कहिले समाधान होला भन्ने लाग्थ्यो। अहिले भने ट्याङ्कीको पानी गाउँमा झारिँदै छ। अब सबै घरमा पानी पुग्नेमा हामी ढुक्क भएका छौं,” उहाँले भन्नुभयो।

Facebook Comments