नेपालमा दश वर्षसम्म चलेको माओवादी जनयुद्ध एउटा महाअभियान थियो। नेपालकै इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको जनयुद्ध एक राजनीतिक अभियान मात्र थिएन, बहुवैकल्पिक बिधिद्वारा सञ्चालित एक लम्बे यात्रा पनि थियो। कुनै बेला रोल्पा, रुकुम, सल्यान, जाजरकोटजस्ता जिल्लामा ढुंगामाटोलाई पनि माओवादी भनिन्थ्यो। राज्यको आँखामा त्यो पूर्वाग्रहको चरम रुप थियो तर अन्तर्य केलाउँदै जाँदा यस क्षेत्रमा कुनै वस्तु वा मानिस जनयुद्धबाट निरपेक्ष थिएनन्।
बिसं २०५० देखि ६० को दशकसम्म यस क्षेत्रका कोही पनि नागरिक जनयुद्धप्रति अन्जान पनि थिएनन्। घाँस काट्ने घसारादेखि ग्वाला जाने गोठालासम्मले चिठीपत्र ओसारे, ढिलो रोटी पकाउन जान्नेदेखि बन्दुक पड्काउन जान्नेसम्मले जनयुद्धमा योगदान दिए। तर, सबैका गाथा इतिहासमा कोरिन संभव हुँदैन। जसले मेहनत गरेर त्यस्ता पूँजी संरक्षण गरी इतिहास लेख्छ, उसले आफूलाई इतिहासकारको रुपमा मात्र दर्ज गर्दैनन्, त्यतिबेलाको समाजको चित्र वर्तमान र भावी पुस्तासम्म हस्तान्तरण गर्दछ। त्यस्तै अभिभारा पूरा गर्ने एक यौद्धा देखा परेका छन्– तिलकराज भण्डारी, जो माओवादी आन्दोलनकै भट्टीबाट जन्मिएका एक परिवक्व युवा नेता हुन्।
भण्डारीले जनयुद्धकालमा लेखेको र पाएका ११२ वटा पत्र संकलन गरेर एक कृतिमार्फत हालै सार्वजनिक गरेका छन्। ‘जनयुद्धको हस्ताक्षर’ नाम दिइएको यो पत्र संगालोमा भण्डारीका निजी र सांगठनिक जीवनसँग जोडिएका पत्र मात्र छैनन्, त्यतिबेलाको जीवन र संस्कृति पनि यसमा छ। माओवादी जनयुद्ध प्रभावित गाउँहरुका लागि जीवनशैली भइसकेको थियो तर धेरै पछिसम्म पनि शहर बजारका लागि भने एउटा रहस्य र रोमान्स थियो।
जनयुद्ध पढ्न चाहने तर नजिकबाट नबुझेकाहरुका लागि यो कृति गजबको सन्दर्भ सामग्री हुनेछ। त्यसो त जनयुद्धकालीन सञ्चारबारे सोध गर्न चाहनेका लागि यो एक सोध सामग्र पनि हुनेछ। त्योभन्दा अझ महत्वपूर्ण जनयुद्ध कसले लडेको थियो, केका लागि लडिएको थियो र कसरी लडिन्थ्यो आदि जान्न चाहने नयाँ पुस्ताका लागि यो महत्वपूर्ण अध्ययन सामग्री हुनेछ। जनयुद्ध राजनीतिक आन्दोलन मात्रै थियो ? यस कृतिमा छापिएका पत्रहरु बोल्छन्– थिएन्, यो शैक्षिक जागरणको महाअभियान पनि थियो, जतिबेला यौद्धाहरु लड्न मात्र होइन, गाउँका गाउँ साक्षर बनाउन स्वयंसेवी अभियन्ता बनेर खटिन्थे।

कृतिका रचनाकार (जसले आफूलाई सम्पादक मात्र भनेका छन्) भण्डारी स्वयं २०६० सालमा चुनबाङ जनसाक्षर अभियान लिएर साउनदेखि मंसिर महिनासम्म खटिन्छन्। निरक्षर युवाहरुलाई अक्षर मात्र चिनाउँदैनन्, राजनीतिक चेतनाको दियो पनि सल्काएर फर्कन्छन्।
भण्डारीसहितको टीमले अक्षर चिनाएर साक्षर बनाएकी चुनबाङ भेरीडाँडाकी प्रेमकुमारी ओलीले अक्षर जान्ने भएपछि भण्डारीलाई पत्र लेख्दै भन्छिन्– तपाइँले हाम्रो ठाउँका दिदीबहिनी र दाजुभाइलाई ठूलो सहयोग गर्नुभयो। अबदेखि हामी साक्षर भएका छौं, तपाइँको यो सहयोगले मलाई पार्टीले सदस्यता दिएर सेल कमिटीमा राखेको छ र वडा जनसरकार सदस्य पनि बनाएको छ (पेज २४७)। प्रेमकुमारीको यो पत्र बिशुद्ध पत्र मात्र होइन, राजनीतिको ‘र’ अनि बाह्रखरी नजान्ने निरक्षर महिलाहरु कसरी साक्षर बने र कसरी बलिदानी भावका साथ आन्दोलनमा होमिए भन्ने बुझ्न यही छोटो पत्र काफी छ।
कृतिमा ११२ वटा पत्रलाई सात भागमा बिभाजन गरिएको छ। सबै यौद्धाले यौद्धालाई लेखेका पत्र हुन्। अझ कतिसम्म भने कृतिमा उल्लेखित पत्र लेख्नेहरु आठजना त सहिद नै भइसकेका छन्। सहिदका पत्र महत्वपूर्ण दस्तावेज हुन् नै, तत्कालीन यौद्धाहरु कुन भावका साथ सहादतसम्मको बलिदानका लागि तयार हुन्थे भन्ने विचार र भाव पक्ष यहाँ प्रष्ट बुझ्न सकिन्छ। पत्रहरु पढ्दै जाँदा कतै आँसु झार्ने पीडा भेटिन्छन् भने कतै रगत उमाल्ने उमंग र उर्जाको वहार पनि। देश र जनताको मुक्तिका लागि भन्दै मृत्यु या मुक्तिको कसम खाएर होमिएका यौद्धाहरु मारिंदा वा आफन्त गुमाउँदाका पीडाले आज पर्यन्त पनि निकै पीडाबोध गराउँछ। हजारौं घाइते, अपांग तथा सहिद र बेपत्ता परिवारका प्रतिनिधिमूलक पीडा बोलिएका ती पत्र पढ्दा एकपटक नेतृत्वलाई प्रश्न गर्न मन लाग्छ– के जनयुद्धका सपना पूरा भए त ?
केही यौद्धाका भावनाहरुको सम्मान भयो त ? सल्यान कालागाउँकी बालिका पुन ‘साधना’ले युद्धकै बीचमा श्रीमान गुमाउँछिन् तर पनि युद्धको बाटो छाड्दैनिन्। बहिनी मोती बस्नेत (कृतिकारकी जीवनसाथी) लाई लेखेको पत्रमा साधना भन्छिन्– ‘उहाँ मलाई छाडेर जानुभयो होला भन्ने विश्वास लाग्दैन। म जिल्लामा फर्कदा अब हाम्रो लाल शिशुसँगै हाम्रो दुबैको दरिला हात मिलाउने बाचा थियो। सहादत भएको अझै विश्वास लाग्दैन। अझै कतै बा आउनुहुन्छ कि, फर्मेशनमा साथीहरुसँग हुनुहोलाजस्तो लाग्छ। घर्तीभित्र गएर भेट हुन्छ कि आकाशभित्र गएर भेट हुन्छ जस्तो लाग्छ। तर यी भावनाका कुरालाई विचारले गाइड गर्दै अघि बढ्दैछु। हाम्रो झोला बिसाउन दिने छैन…(पेज २७७)।’ गाउँका सामान्य छोरीहरु श्रीमानसँगै युद्धमा होमिनु र श्रीमान् गुमाउँदा पनि श्रीमान्को झोला बिसाउन नदिने बाचासहित घरपरिवारलाई सान्त्वनासहितको पत्र लेख्नु जनयुद्ध लडेका नेपाली महिलाहरुको वीरताको गाथा हो। राजनीतिक नेतृत्वले कुन बिन्दुमा ल्याएर युद्ध बिसायो, यो छुट्टै बहसको बिषय होला तर समाजमा दोस्रो दर्जाको नागरिक बनाइएका महिला, अपहेलनामा पारिएका जनजाति, दलितलगायत आधारभूत वर्गले कसरी जनयुद्ध लडेका थिए, यसको गहिरो समाजशास्त्रीय अध्ययन जरुरी छ। यसका लागि भण्डारीको यो कृति महत्वपूर्ण सन्दर्भ स्रोत हुनेछ।
जनयोद्धाहरु बन्दुक मात्रै बोक्दैनथे, उनीहरु कलमबाट मीठा साहित्य सिर्जना पनि गर्थे। कैयौं यौद्धाका रचना युद्धमै गुमेका, कैयौं प्रकाशनको पर्खाइमा रहेका तर वातावरण नपाएका जस्ता पीडा पनि पत्रहरुमै पढ्न पाइन्छ। त्यसैले जनयुद्ध राजनीतिक आन्दोलन मात्र थिएन, संस्कृति निर्माणको वृहत अभियान पनि थियो भन्ने यस कृतिका पत्र पढ्दा सहजै बुझ्न सकिन्छ। त्यसैले सबै पत्र ऐतिहासिक छन्।
जनयुद्धको शुरुवात ताका कुनै आधुनिक सञ्चार प्रविधि थिएन। त्यतिबेला पत्र व्यवहार नै महत्वपूर्ण युद्ध सञ्चारको माध्यम थियो। कृतिकार भण्डारीले नै भनेका छन्– ‘जनयुद्धको छापामार चरणमा एउटा इकालाबाट अर्को इकालासम्म एउटा चिठी पु¥याउन दुश्मनलाई छल्दै कयौं दिन लगाएर हिड्नुपर्ने अवस्था थियो। पर्याप्त कार्यकर्ता र जनसंगठन नभएको सन्दर्भमा सूचना सञ्चारको अभावमा कयौं कार्यक्रम र कारवाहीहरु समयमै सम्पन्न गर्न नसक्ने अवस्था थियो। …पत्रहरु पु¥याउने क्रममा नै दुश्मनको कब्जामा पर्दा सबैभन्दा पहिले चिठीपत्रहरु चपाएर निल्ने वा अन्य तरीकाले नष्ट गर्ने विषयमा क्रान्तिकारी यौद्धाहरु सचेत भइसकेका हुन्थे। त्यतिबेला सञ्चारका मुख्य माध्यम नै पत्रव्यवहार थियो।
शहरबजारमा प्रयोग गरिने सीमित फोनहरुबाहेक चिठीपत्रको माध्यमबाट नै पार्टी र जनसेनाको निर्देशन र परिपत्र तथा रिपोर्टहरु संप्रेषण गरिन्थ्यो (पेज १७)।’ यसबाट जनयुद्धमा सञ्चार प्रणाली कसरी चलेको थियो, सहज बुझ्न सकिन्छ।
प्रेम र जनवादी विवाहको कुरा कृतिमा समेटिएका सातवटै भागका पत्र महत्वपूर्ण छन्। त्यसमध्ये पनि भाग पाँच अलि बढी रोमाञ्चक र शिक्षाप्रद छ। जनयुद्धका यौद्धाहरु पनि मानिस नै थिए, उनीहरुका पनि निजी जीवन थिए। उनीहरु पनि मायाँ प्रेम र विवाहजस्ता आधारभूत मानवीय प्रक्रियाभन्दा बाहिर हुँदेन्थे। उनीहरुले प्रेम र विवाहको मूल्य मान्यता कसरी स्थापित गरेका थिए भन्ने जान्न चाहनेका लागि यो निकै उपयोगी सामग्री छ।
स्वयं कृतिकार भण्डारीले सहकर्मी मोतीकला बस्नेतलाई मन पराउँछन् र प्रेम प्रस्तावसहितको पत्र लेख्छन्। आफ्नो प्रस्ताव स्वीकार वा अस्वीकार जे गरे पनि जवाफी पत्र लेख्न आग्रह गर्दै पहिलो पत्र पठाउँछन्। बस्नेतबाट झण्डै छ महिनापछि प्रस्तावमाथि ‘विश्वास र शंका दुबै रहेकाले’ आफूले निर्णय लिन नसकेको आशयसहितको जवाफी पत्र आउँछ। फेरि भण्डारीबाट संकीर्णताको घेरा तोडेर खुला छलफलमा बस्ने आग्रहसहितको जवाफी पत्र जान्छ। झण्डै दुई महिनापछि बस्नेतबाट ‘राजनीतिक आन्दोलन र प्रेम सँगसँगै अघि बढाउने शर्त’सहित प्रेम प्रस्ताव स्वीकार गरेका पत्र जान्छ।
दुबैले प्रेम प्रस्ताव स्वीकार गरेपछि यो प्रस्ताव विद्यार्थी संगठनको जिल्ला समितिमा प्रस्तुत गरिन्छ, जिल्ला समितिबाट प्रेम प्रस्ताव स्वीकार गरेपछि दुबैले प्रेम सम्बन्ध अघि बढाउँछन् र यो सम्बन्ध परिवक्व भएपछि जनवादी विवाह हुन्छ।
यो भागमा उल्लेखित पत्रबाट जनयुद्धकालमा योद्धाहरुले प्रेम र विवाहको कस्तो मूल्य मान्यता बनाएका थिए र त्यसलाई पालना गर्न कति प्रतिबद्ध हुन्थे भन्ने बुझ्न सकिन्छ। यसबाट बुझ्न सकिन्छ कि जनयुद्ध एक वृहत सांस्कृतिक आन्दोलन पनि थियो। तर, आज जनयुद्धबाट आएको पंक्ति र जनयुद्धकालीन पार्टीकै निरन्तरतास्वरुप चलेको पार्टीमा पछि थपिएका नेता कार्यकर्ताको सांस्कृतिक मूल्य निरन्तर बिघटनको प्रक्रियामा छ।
यो कृतिलाई सरसर्ती हेर्दा हिजोको क्रान्तिकारी वीरताको गाथा स्पष्ट पढ्न पाइन्छ, सँगसँगै जनयुद्धकालीन राजनीति, विचार, भावना र संस्कृतिमा अहिले भइरहेको निरन्तर प्रतिक्रान्तिको पनि समुचित मूल्यांकन गर्न सहयोग नै पुग्छ। जनयुद्ध एक बृहत् राजनीतिक, वैचारिक, सांगठनिक, सैन्य र सांस्कृतिक अभियान थियो, जो भोलिको पुस्ताका लागि ठूलो इतिहास हो तर धेरै कुरा लेखिएका छैनन् वा लेख्न बाँकी नै छ।
योद्धाहरुले नै लेखेको कृति सबैभन्दा उत्कृष्ट हुन्छन् किनकि त्यसमा प्रथम पात्र कृतिकार नै हुन्छन्। जनयुद्धकालीन साहित्यमा देखिएको ठूलो खडेरीका बीच स्वयं एक यौद्धा भण्डारीले जसरी जनयुद्धकालीन पत्रसाहित्यको अभिलेख गर्न सफल भए, यो उनको ऐतिहासिक रचना ऐतिहासिक सन्दर्भ सामग्रीको रुपमा रहनेछ र थप अध्ययन गर्न चाहनेलाई बाटो देखाउनेछ।

केसी सिस्ने अनलाइनका सम्पादक हुनुहुन्छ ।
