• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दुई-ढाई घन्टा पैदल हिँडेर विद्यालय जान बाध्य विद्यार्थी




श्रवण कुमार यादव
राजपुर। “हामी बिहान २ घण्टाजति हिँडेर विद्यालय जान्छौं, बेलुका फर्किंदा त थकानले होशै रहँदैन,” जनज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत देविका बुढा मगरको स्वरमा थकानभन्दा बढी संकल्प सुनिन्छ।

वैशाख महिनाको टन्टलापुर घाममा हातमा किताब बोकी जंगलको बाटो हिँड्दै थिईन् देविका र पिपला। उनीहरू कक्षा ८ काे कोचिङ्ग पढेर घर फर्किदै थिए। अहिले आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षाकाे पुनः परीक्षा (रि-एक्जाम) को तिव्र तयारीमा जुटेको उनीहरू बताउँछन्।

देउखुरी उपत्यकाको राजपुर गाउँपालिका–१, रसरी खोलाका पिप्ला विटालु जस्तै रसरी खोला, मारारी खोला, ताउले, गुरुङ खोला लगायत जस्ता बस्तीहरूबाट दैनिक सयौँ बालबालिका शिक्षा प्राप्त गर्न हिंडेर विद्यालय पुग्छन्। उनीहरूको यात्रा भने कुनै सामान्य पैदलयात्रा होइन—यो यात्रा हो संघर्ष, दृढता र शिक्षाप्रतिको लगावको।

देविका जस्ता विद्यार्थीहरू बिहान ५ बजेदेखि नै उठ्छन्, घरको सामान्य काम सकेर दुई देखि ढाई घण्टा सम्म पैदल हिँडेर विद्यालय जान्छन्। विद्यालयमा १० बजेदेखि पढाइ सुरु हुन्छ, बेलुका ४ बजेसम्मको कक्षापछि उनीहरू फेरि त्यही दूरी पार गर्दै घर फर्किन्छन्।

गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि दुई-ढाई घन्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उनलाई सहज छैन। गाउँमै रहेको रामेश्वरी बाल जनता आधारभूत विद्यालयमा कक्षा ५ सम्मको शिक्षा लिएकी उनी कक्षा ६ देखि माथिल्लो तहको शिक्षा लिन दैनिक दुई देखि ढाई घन्टा पैदल हिँड्दै आइरहेकी बताउँछिन्। दैनिक आउन जान गरेर चार घन्टा भन्दा बढी पैदलमै खर्चिनुपर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चिन नपाएको विद्यार्थी मगरको गुनासो छ।

“बर्खामा खोला तर्नुपर्छ, चप्पल बगाउँछ, तर हामी रोकिँदैनौँ,” देविका भन्छिन्। ट्युसन पढ्ने समयमा बिहान ५ बजे नै घरबाट निस्कनुपर्दा जाडोयाममा विद्यालय पुग्न जङ्गलकाे बाटो, जंगली जनावरको भय र जोखिम मोलेर जानुपरेको उनले बताउँछिन्।रसरी खोला, मारारी खोला र गुरुङ खोला जस्ता खोलाहरू बर्खाको समयमा फुल्ने गर्छन्, जसले विद्यार्थीहरूको यात्रा झनै जोखिमपूर्ण बनाउँछ।

घरमा कहिलेकाहीँ कामको चटारो हुँदा सहयोग गर्नुपर्ने अवस्थामा टाढा विद्यालय भएकाले कक्षा छाडेर बस्नुपर्ने बताउँछिन्। विद्यालय टाढा हुँदा सधैं विद्यालय आउने जाने कुराले नै चिन्तित बनाउने उनको गुनासो छ। पढेर ठूलो मान्छे बन्ने सुन्दर सपना बोकेका विद्यार्थीहरूलाई व्यवस्थित रूपमा हामीलाई उच्च शिक्षा हाँसिल गर्नमा राज्यले लगानी गरिदिए विद्यालय आउनजान लाग्ने समय पढाइमा खर्च गर्न पाउने उनको भनाइ छ ।

राजपुर–१ रसरी खोलामा एउटा मात्र आधारभूत विद्यालय छ—रामेश्वरी बाल जनता आधारभूत विद्यालय, जहाँ कक्षा ५ सम्म मात्र पढाइ हुन्छ। “हामीकहाँ ८३ जना विद्यार्थी छन्, कक्षा ६ देखि माथि पढ्न टाढाको विद्यालय जानैपर्छ,” विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण पुन भन्छन्।

स्थानीय स्तरमा सडकको अवस्था दयनीय छ। “गाडी आउँदैन, बाटो पनि उस्तै छ—यात्रा हरेक दिनको संघर्षमय छ,” पुनले थपे। यतिसम्मको कठोर यात्रा हुँदाहुँदै पनि विद्यार्थीहरू नियमित रूपमा विद्यालय पुग्छन्, पढ्न चाहन्छन् र भविष्य बनाउने सपना बोकेर हिंडिरहन्छन्।

शिक्षाको उज्यालोमा पुग्न उनीहरूले पार गर्ने अँध्यारो बाटोले सुविधा नहुँदा पनि प्रयास नरोकिने हो भने पक्कै पनि एकदिन उज्ज्वल भविष्य तय हुने अध्यक्ष पुनले बताउँछन्।

Facebook Comments