चीनः चीनको शिक्षा मन्त्रालयले स्नातक तहका कार्यक्रमहरूको परिमार्जित सूची सार्वजनिक गर्दै कृत्रिम बुद्धिमत्ता (AI) र कम उचाइको अर्थतन्त्र (low-altitude economy) जस्ता उदाउँदो क्षेत्रहरूमा २९ नयाँ विषयहरू थपेको जनाएको छ।
सरकारी वक्तव्यअनुसार, यी नयाँ विषयहरू राष्ट्रिय रणनीतिहरू, बजारको माग र प्रविधिको विकास आवश्यकतालाई ध्यानमा राखी थपिएका हुन्। राष्ट्रिय रणनीतिहरूलाई समर्थन गर्न क्षेत्रीय तथा राष्ट्र अध्ययन, कार्बन न्यूट्रालिटी विज्ञान तथा इन्जिनियरिङ, समुद्री विज्ञान तथा प्रविधि, र स्वास्थ्य तथा मेडिकल सुरक्षा जस्ता विषयहरू स्थापना गरिँदै छन्।
अत्याधुनिक प्रविधिहरूलाई अगाडि बढाउन बौद्धिक अणु इन्जिनियरिङ, मेडिकल उपकरण तथा प्रविधि इन्जिनियरिङ र स्पेसियो–टेम्पोरल सूचना इन्जिनियरिङ जस्ता कार्यक्रमहरू पनि सूचीमा थपिएका छन्।
उद्योगको मागअनुसार अन्तर्राष्ट्रिय क्रूज व्यवस्थापन र हवाइ खेलकुदजस्ता बजारमुखी विषयहरू समावेश गरिएको छ। साथै, आर्थिक तथा सामाजिक विकासमा एआईको भूमिका बढाउन एआई शिक्षाशास्त्र, बौद्धिक अडियोभिजुअल इन्जिनियरिङ र डिजिटल नाटक जस्ता विषयहरू थपिएको जनाइएको छ।
यी नयाँ विषयहरूले महत्त्वपूर्ण क्षेत्रमा समर्पित जनशक्ति उत्पादन गर्न मद्दत पुग्नेछ भने चीनको प्रतिस्पर्धात्मकता, प्रभावकारिता र औद्योगिक उन्नयनमा टेवा पुर्याउनेछ, बेइजिङ एकेडेमी अफ सोशल साइन्सेसका सह–अनुसन्धानकर्ता वाङ पेङले बताए।
शिक्षा मन्त्रालयले राष्ट्रिय प्राथमिकतासँग मिल्ने रणनीतिक रूपमा महत्त्वपूर्ण विषयहरूको लागि विशेष अनुमोदन प्रक्रिया पनि सुरू गरेको छ। यसमा सरकारको प्राथमिकता र उदाउँदो प्रमुख क्षेत्रसँग मेल खाने विषयहरूलाई तुरुन्तै अनुमोदन गर्न “हरित मार्ग” स्थापना गरिएको छ।
उदाहरणका लागि, कम उचाइको अर्थतन्त्रको तीव्र विकासको माग पूरा गर्न बेइजिङको बेहाङ विश्वविद्यालयसहित ६ विश्वविद्यालयहरूलाई परम्परागत केन्द्रीय आवेदन प्रक्रिया बिना नै कम उचाइ प्रविधि तथा इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने अनुमति दिइएको छ।
वाङका अनुसार, यस कदमले राष्ट्रिय रणनीतिक मागहरूलाई चाँडो सम्बोधन गर्न र आवश्यक जनशक्ति उत्पादनमा समयमै प्रतिक्रिया जनाउन मद्दत गर्नेछ, जसले कम उचाइको अर्थतन्त्रको विकासलाई गति दिनेछ।
परिमार्जित सूचीमा हाल ९३ वटा विषयगत श्रेणीहरू र ८४५ वटा कलेज तहका विषयहरू छन्। देशभरका उच्च शिक्षा संस्थानहरूमा ६२,८०० स्नातक कार्यक्रमहरू सञ्चालनमा रहेका मन्त्रालयको वक्तव्यमा उल्लेख गरिएको छ।
वाङले उदाउँदै गरेका बहुविषयगत क्षेत्रहरू विज्ञान तथा प्रविधिको तीव्र विकास र शैक्षिक विषयहरूबीचको बढ्दो एकीकरणका कारण भविष्यको प्रमुख मानव संसाधन विकासको दिशा हुने बताए। उनले उद्योग–शिक्षा एकीकरणलाई अझ गहिरो बनाउने र अन्तर्राष्ट्रिय गुणस्तरीय शैक्षिक स्रोतहरूलाई प्राथमिकता दिने आवश्यकता पनि औंल्याए।
विशिष्ट विषयहरूको सन्दर्भमा वाङले क्वान्टम सूचना विज्ञान, नयाँ ऊर्जा तथा ऊर्जा भण्डारण प्रविधि, जैवप्रविधि र जैव उत्पादन प्रविधि अन्तर्गत थप कोर्षहरू सुरु हुने अपेक्षा गरेका छन्।
Xinhua News Agency का पछिल्ला तथ्यानुसार, चीनमा एआई क्षेत्रमा ५० लाखभन्दा बढी, बिग डाटा क्षेत्रमा २३ लाख, नयाँ ऊर्जा सवारीमा १० लाख र कम उचाइ अर्थतन्त्रका लागि ड्रोन अपरेटरहरूमा पनि १० लाखभन्दा बढी जनशक्तिको अभाव छ।
स्रोतः ग्लोबलटाइम्स

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
