• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बेवारिसे महिलाबाट जन्मेकी बालिकाले नाम पाइन श्रद्धा मानव




दाङ । घोराहीको सडकमा अलपत्र फेला परेकी गर्भवती महिलाबाट जन्मेकी एक बालिकाको सामूहिक न्वारान गरी नामाकरण गरिएको छ ।

मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा सामूहिक न्वारन गरी बालिकाको नाम श्रद्धा मानव राखिएको छ ।

गत साउन महिनामा घोराहीमा अलपत्ररुपमा फेला परेकी महिलाको उद्धार गरी मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा राखिएको थियो । ती महिलाको स्वास्थ्य जाँच गर्दा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

ती महिलाले असोज २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्माएकी थिइन् । बालिकाको जन्म भएपछि लगातार २७ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । आमाको मानसिक सन्तुलनमा सुधार नआए पनि छोरी भने स्वस्थ रहेकी छन् ।
सेवाघरको प्रांगनमा छोरीको सामूहिक न्वारन भइरहँदा भित्र रहेकी आमाको भने कुनै सरोकार थिएन किनकि उनको मानसिक सन्तुलनमा प्रगति भएको छैन् ।

आमाको मानसिक सन्तुलनमा सुधार नआए पनि छोरीहरुलाई आफूहरुले स्याहार गरिरहेको र बालिका स्वस्थ रहेको सेवा घरका कार्यक्रम संयोजक सुस्मिता मानवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सडकआश्रित मानवको रुपमा भेटिएकी आमाको पहिचान हुन सकेको छैन । आमाको नै पहिचान नभएपछि बाबुको झन् पहिचान हुनै कुरै भएन्।
आश्रमले बेवारिसे महिलालाई सोनिया नाम दिएर संरक्षण गरिरहेको छ । उनको बोलीमा हिन्दी लवज रहेकाले भारतमा बिक्री भएर फिर्ता भएकी महिला पनि हुनसक्ने मानव कल्याण समाजका केन्द्रीय सचिव बिजयकुमार पोख्रेलले जानकारी दिनुभयो । उनले केही अंग्रेजी शब्द पनि उच्चारण गर्ने भएकाले पढेलेखेकी पनि हुनसक्ने तर पहिचान खुल्न नसकेको पोख्रेलले जानकारी दिनुभयो ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सामूहिक न्वारन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले यति धेरै सडकआश्रित मानवको स्याहार र संरक्षण गर्नु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै अलपत्र गर्भवती महिलाको उद्धार गरी बालिकाको नयाँ जीवनको आरम्भ गराउनु थप पुण्य काम भएको बताउनुभयो ।

समाजमा अपराधी र सेवक दुई खालका मान्छे रहेको यो घटनाबाट थप प्रष्ट भएको उल्लेख गर्दै उहाँले मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्रकी महिलामाथि समेत यौन दुव्र्यवहार गर्न पछि नपर्ने अपराधिक प्रवृत्तिलाई परास्त गर्नु समाजकै दायित्व भएको बताउनुभयो । उहाँले आफूले सेवा घरसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा सहयोग गर्दै जाने बताउनुभयो ।

यसैबीच सेवा घरको सञ्चालनलाई सहज बनाउन माघ १८ गतेदेखि महायज्ञ लगाइने भएको छ । महायज्ञको तयारी पूरा भएको संयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।

Facebook Comments