तुल बहादुर कवँर मगर
सिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा २ हजार ८ सय १२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका २ हजार ७ सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने छ। माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ।
कार्यक्रमका लागि पालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्था र विद्यालयहरुलाई खाेप केन्द्र निर्धारण गरिएको छ। खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ।
यसै विषयमा आइतबार गाउँपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष एवं खोप समन्वय समितिका संयोजक प्रकाश विष्टले पछिल्ला वर्षहरूमा क्यान्सरका बिरामीको संख्या बढ्दै गइरहेको उल्लेख गर्दै यो खोपले रोग न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले लक्षित उमेर समूहका सम्पूर्ण किशोरीहरूलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्नुभएको छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।