• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा पहिलोपटक हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित




भालुबाङ । दाङको राप्ती गाउँपालिकामा पहिलोपटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन्।

गाउँपालिकाको आयोजना तथा राप्ती कृषि हाट बजार व्यवस्थापन तथा सञ्चालन समितिको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो।

राप्ती गाउँपालिका–३ मसुरीयादेखि उत्तरपट्टि रहेको सिरीचौर मैदानमा सञ्चालित हाटबजारमा ७५ किसानले आफ्नो उत्पादन बिक्रीका लागि राखेका थिए।

किसानले तरकारी, फलफूल, कपडा, डल्कुशन, साबुन, हार्पिक, धूप,दुना टपरी र बाँसका सामग्रीहरू समेत प्रदर्शन तथा बिक्री गरेका थिए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रबार हाटबजारको औपचारिक उद्घाटन गर्दै अबदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुने जानकारी दिनुभयो।

उहाँले हाटबजारले किसानहरूलाई उत्पादन बिक्री गर्न सहज बनाउने र बिचौलियाको चलखेललाई नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो।

“हाटबजार नहुँदा किसानले आफ्नो उत्पादन टोकरीमा राखेर घरघरमा बेच्नुपर्ने बाध्यता थियो। अब, हाटबजारले किसानलाई उत्पादनको उचित मूल्य दिलाउन मद्दत पुर्‍याउनेछ,” अध्यक्ष विष्टले बताउनुभयो। साथै, उहाँले हाटबजारको व्यवस्थापनलाई दीर्घकालीन बनाउने विशेष योजना अगाडि सारिएको जानकारी दिनुभयो।

पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले हाटबजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कृषकहरूलाई थप लगानी गर्न प्रोत्साहन दिने बताउनुभयो। “हाटबजारले उपभोक्ताहरूलाई गुणस्तरीय र सस्तो उत्पादन उपलब्ध गराउनेछ,” उहाँले भन्नुभयो।

वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले हाटबजारले स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने र कृषिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताउनुभयो।

राप्ती कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा पालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम पालिका उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी,हाट बजार व्यवस्थापन समितिका सचिव राजकुमार आर्चाय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।भने कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,५ का अध्यक्ष देव प्रसाद चाैधरी,राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यमेस चाैधरी लगायतअन्य जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गर्नुभयो।

हाटबजारको नियमित सञ्चालनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments