काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।
माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः
आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ ।
कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो ।
कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ ।
हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।