बिक्रम सहयात्री
सुनसान रातको अन्धकारमा,
तिमीलाई सम्झँदा आँसु झर्छ, रोक्छु।
बा, सबैले तिमीलाई बहादुर नायक भन्छन्,
तर तिम्रो अभावले मेरो संसारलाई चिसो बनाउँछ।
धुलोले छोपिएको तिम्रो तस्बिर,
पुरानो एल्बम टक्टकाउँदै दिदीले देखाएकी,
“यिनै हुन् हाम्रा बा, हेर त!”
त्यस दिनदेखि मेरो मनमा तिमी गहिरोसँग खोपियौ।
अनकन्टार रातको तिम्रो संघर्ष,
तिमीले छोडेको बलिदानको कथा
भोकले पिल्सिएको मेरो पेटले के बुझोस्?
मसँग त केवल एक छाक खाना, एकसरो नाना,
र रात बिताउन छाना खोज्ने सपनाहरू छन्।
साथीहरूसँग आलिशान महल, गाडी, पजेरो छ।
उनीहरू थ्री-स्टार, फाइभ-स्टारमा डिनर गर्छन्।
तर मैले के नै मागेको थिए र?
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार—
यी आधारभूत कुराहरू पनि किन बोझ बन्दिन्छन्?
माफ गर, बा!
मेरो भोको पेटले तिम्रो स्वाभिमानका गाथा बोल्न सकेन।
तिम्रा सहकर्मी नेता बने,
‘वीर शहीद अमर रहुन्’ भन्दै भाषण गरे।
तर २० वर्ष बित्दा पनि मेरो भोक भरिएन,
बर्ष फेरिए, तर आशा फेरिएन।
मेरो हातमा वीरताको गाथा छ,
तर यो सानो मनले तिम्रो माया खोज्छ।
तिम्रो न्यानो स्पर्श, मार्गदर्शनको तिर्सना छ।
सडक उज्याला छन्, तर मन अन्धकार।
मेरो मौन चीत्कार कसले सुन्छ?
बा, तिम्रो बलिदान व्यर्थ भएन भन्छन्,
तर मेरो भविष्य हरेक दिन खाली लाग्छ।
तैपनि, मेरो मनमा आगो बल्छ।
तिम्रो रगत मेरो रगतमै बोल्छ।
तिम्रा सपना केवल कथा होइनन्,
एकदिन ती सत्य बन्नेछन्।
मेरो आँसु क्रान्तिको बीउ बन्नेछ,
सुनौलो बिहानीको उदय अवश्य हुनेछ।
तिमीले देखेको उज्यालो,
म पूरा गर्नेछु।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।