रुकुम । जनप्रतिनिधि खाली भएको ठाउँमा उपनिर्वाचनको मिति तोकिएसँगै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा चुनावको माहोल तातिएको छ । वडाध्यक्ष अलबहादुर खत्रीको मृत्यु भएपछि सानीभेरी ५ मा पनि देशभर जनप्रतिनिधि रिक्त रहेका ठाउँमा जस्तै मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ ।
उक्त वडामा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टी नेसपा सम्मिलित गठबन्धन र नेकपा माओवादी केन्द्रका बिचमा प्रतिस्पर्धा हुने भएको छ । २०७९ सालमा पनि यही प्रतिस्पर्धा भएको थियो । जसमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अलबहादुर खत्री २८ मतको झिनो अन्तरले विजयी हुनुभएको थियो ।
उपनिर्वाचनका लागि गठबन्धन र नेकपा माओवादी केन्द्र दुवैले उम्मेदवारको टुङ्गो लगाएका छन् । गठबन्धनले नेपाली काँग्रेसका मोतीराम खत्रीलाई उम्मेदवार बनाएको छ । उहाँ दिवङ्गत वडाध्यक्ष खत्रीका सहोदर भाइ हुनुहुन्छ । उहाँ शिक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको चुनाव लड्दै हुनुहुन्छ । ३६ वर्षीय मोतीरामले नेपाल राष्ट्रिय मावि घापाघारमा १५ वर्ष प्राविको अस्थायी दरबन्दीमा शिक्षण गर्नुभयो । उहाँको विरुद्धमा नेकपा माओवादी केन्द्रले पूर्व जनप्रतिनिधि जसिराम बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बस्नेत २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर एक कार्यकाल बिताइसक्नु भएको छ । पार्टीका सानीभेरी गाउँपालिका सदस्य ४५ वर्षीय बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र सानीभेरीका सचिव दीपक बाँठामगरले जानकारी दिनुभयो । दुवै पक्ष चुनावको तयारीमा जुटेका छन् । बैठक, छलफल, घरदैलो देखि अन्य प्रचारका काममा व्यस्त रहेको दुवै पक्षले बताएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।