घोराही ।दाङको प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ बर्ष अघि लुम्बिनी प्रदेश सरकारले ६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गर्यो ।
दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयहरुको असहमतीका कारण लक्षित काम हुन सकेन । तर दुई बर्ष सम्म काम सम्पन्न गर्ने गरि चयन भएको योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद भने थप भइरहेको छ । बाह्रकुने दहमा पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले चार बर्ष अघि छनौटमा रहेको योजनालाई निरन्तरता दिन वर्तमान प्रदेश सरकारले चासो राखेको छ ।
यहाँ निर्माण हुने भनिएका संरचनाहरुको निर्माणमा भइरहेको ढिलाई बारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिचाई मन्त्री सीता चौधरीले जानकारी लिन स्थलगत अनुगमन समेत गरेका छन् ।
मंगलबार दह परिसरको स्थलगत अनुगमन गर्दै विवाद नहुने ढंगबाट काम गर्न उनिहरुले सम्बन्धीत पक्षलाई निर्देशन दिएका छन् । ‘प्रदेश सरकारबाट छनौटमा परेको यो योजनाको काम स्थानीयहरुको बिमतीका कारण ढिलाई बन्दै आएको अवस्था रहेछ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानले भने ‘जिल्लामा पर्यटकहरु भित्र्याउन सकिने बाह्रकुने दहको विकासका लागि कसरी काम गर्न सकिन्छ ? कसरी चार बर्ष अघि बनेको योजना अनुसार काम गर्न सकिन्छ ? भन्ने बिषयमा छलफलका लागि मुख्यमन्त्री ज्यूलाई समेत स्थलगत अनुगमन गराएर समस्याको निकासका लागि पहल गरेका हौँ, स्थलगत अध्ययन र छलफलबाट यो कामलाई गती दिने र यो बर्ष भित्रै योजना निर्मााणको काम सम्पन्न गर्ने सहमती भएको छ ।’
मन्त्री न्यौपानेका अनुसार चार बर्ष अघि बनेको योजना अनुसार दह परिसरमा तालको आकार फैलाउने भन्ने थियो । तर दहको आकार बदलिँदा बाह्रकुनेको एैतिहाँसिक महत्व नासिने भन्दै स्थानीयले बिरोध गर्दै आएका थिए । यहि बिरोधका कारण चार बर्ष अघिको डिपिआर अनुसार काम नहुने भएकाले काममा बिलम्ब हुँदै आएको थियो । तर वर्तमान सरकारले दह परिसरमा रहेको तालको आकार नफेरिने गरि बाँकी कामहरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । त्यसका लागि कानुनी बाटो सहज बनाउने काम सरकारले गर्ने भएको छ । ‘यहाँ स्थानीय स्तरमा विवाद नहुने गरि तपाईहरुले काम अगाडी बढाउनुस्,’ मुख्यमन्त्री आचार्यले भने ‘काम गर्दा आइ पर्ने कानुनी जटिलतालाई सरकारले फुकुवा गर्छ ।’ प्रदेशको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन रहेकाले पर्यटन क्षेत्रको विकासमा कसैले पनि बिलम्ब गर्न नहुने उनको भनाई थियो ।
निर्माण पक्षले पनि दह परिसरको विकासका लागि बनेको गुरुयोजना अन्तर्गत यसै बर्ष भित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेका अनुसार अब यो पर्यटकीय स्थलमा पार्क, मन्दिर संगै ड्याम निर्माणको काम हुने छ । डुंगा सञ्चालन गर्ने गरि ड्याम निर्माण हुने छ भने जंगली जनावर अवलोक गर्न सकिने गरि पार्क निर्माणको काम यसै बर्ष सम्पन्न गरिने छ । घोराही १३ मा रहेको बाह्रकुने दह दाङको प्रमुख धार्मिक गन्तव्य मध्यको एक हो । जिल्लाको प्रमुख पिकनीक थलो संगै धार्मिक महत्व बोकेको यो स्थलमा आन्तरिक पर्यटकहरुको भिड रहने गर्दछ । यहाँ माघमा ठूलो मेला समेत लाग्ने गर्दछ । आन्तरिक संगै बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिने गरि यो दह क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।