मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् ।
कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् । तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी÷बुहारी र नातिनातिना छन् ।
घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन् । सबैको विवाह भइसकेको छ । यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ । साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन् । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन् ।
गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो । संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली हुनुहुन्छ । आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उहाँ बताउनुहुन्छ ।
आमाबुवा र छोराछोरी मात्रै भएको परिवार पनि मिलेर बस्न नसकिरहेको बेला पाँच दाजुभाइका सन्तान मिलेर बस्दा अङ्ग्रेजीलालको खुसीको सीमा नै छैन । ७५ वर्षीय उहाँ भन्नुहुन्छ, “म धर्तीको यस्तो भाग्यमानी व्यक्ति हुँ, जसले यति धेरै सदस्य एकैसाथ बसेको देख्न पाएको छु । ”
माइलो भाइको जेठो छोरा बलिचरण नेपाल सरकारको जागिरे हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका बलिचरणले परिवारका सदस्यको स्वास्थ्य हेरचाहदेखि आवश्यक सरसल्लाह दिँदै आउनुभएको छ ।
ठूलो परिवार भएकाले चाडपर्वबाहेक अरू दिन सबै सदस्य घरमा सँगै हुँदैनन् । कोही न कोही हरेक दिन बाहिर जाने गरेको बताइएको छ । परिवारका लागि साँझबिहान दुई÷तीन जना गृहिणीले मिलेर खाना पकाउने गर्दछन् । दिनभरि खानाको मेस चल्ने गरेको छ ।
भान्साको काम गर्दै गरेको अवस्थामा भेटिनुभएकी सुशीलाले संयुक्त परिवारका लागि खाना पकाउँदा राम्रै लाग्ने गरेको सुनाउनुभयो । दुई÷तीन जना मिलेर खाना पकाउँछौँ, उहाँले थप्नुभयो, ‘परिवार ठूलो भए पनि मिलेर खाना पकाउँदा झ्याउ लाग्दैन । ’ उक्त परिवारका लागि एकै छाकमा झन्डै २०/२५ किलो चामल पाक्ने गरेको छ । घरका सदस्यहरू पालैपालो आएर खाना खाने गरेको अर्की गृहणी सीता चौधरी कठरियाले सुनाउनुभयो ।
वर्षमा दुईपटकसम्म परिवारका सदस्यलाई लत्ताकपडा खरिद गर्ने गरिएको छ । यसैगरी, चाडपर्व र विशेष अवसर पारेर परिवारलाई मासु खुवाउने गरेको घरमूली डिल्लीराजले बताउनुभयो । “एकै छाकका लागि कम्तीमा दुईवटा खसी आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “वर्षभरि मासुमा मात्रै तीन लाख रुपियाँ खर्च गर्ने गरेको छु । ”
कठरिया परिवारको आर्थिक पाटो
ठूलो परिवार, खर्च पनि ठूलै । खर्च धेरै भए पनि यो परिवारको पैतृक सम्पत्ति धेरै छैन । नम्बरी जग्गा दुई कट्ठा र ऐलानी घरबाससमेत गरेर चार बिघा जमिन छ । जग्गा जमिन धेरै नभएकाले कठरिया परिवारको विगत कहाली लाग्दो थियो । मजदुरी गरेर जीवनयापन गरेका उनीहरू अहिले भने राम्रो अवस्थामा पुगेका छन् ।
युवापुस्ता विभिन्न पेसामा आबद्ध भई आर्थिक आर्जन गर्न थालेपछि परिवारको अवस्थामा सुधार आएको माइलो भाइ रामचन्दर बताउनुहुन्छ ।
‘पहिले अवस्था नाजुक थियो, अहिले छैन’, उहाँले भन्नुभयो । अचेल यो परिवारले ठेक्का÷बटैया गरेर झन्डै २० बिघा जमिनमा खेतीपातीगर्दै आएको छ । जसमध्ये खानका लागि एक बिघा जमिनमा तरकारी खेती मात्रै गर्ने गरिएको जनाइएको छ ।
यसैगरी, यो परिवारको मेडिकल, कस्मेटिक र किराना गरी तीन पसल छ । कुटानीपिसानीको मिल पनि सञ्चालन गरेका छन् । तीनवटा ट्याक्टर र एउटा गहुँ काट्ने मसिनसमेत खरिद गरेका छन् ।
पसल, मिलका साथै ट्याक्टर र हार्वेस्ट मसिन चलाएर आम्दानी गर्ने गरेको घरमूली डिल्लीराजले बताउनुभयो ।
‘आम्दानी गर्ने बाटो भएपछि अचेल वर्षभरिलाई खान लाउन पुगेको छ’, उहाँले भन्नुभयो, ‘वर्षभरि करिब ५० लाख रुपियाँको कारोबार भइरहेको छ । ’
साभारः गोरखापत्र अनलाइन
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।