• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थारू बस्तीमा सखिया नाचको रौनक




नेपालगञ्ज । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ ।

दसैंको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । सखिया नाचिने थारू गाउँमा दसैं शुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारु अगुवा बिक्रम थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंको दिन दिनभरी नाच्ने गरिएको बताउनुभयो ।

अगुवा थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार पाँचजना मादल बजाउने युवा हुन्छन् । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके बनकटुवाका अर्का थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो ।

महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।

थारु पहिरनमा सजिएर नाच्ने गरेका युुवतीहरुले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, अ‍ैरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गरेको टिटिहिरियाकी मिना चौधरी बताउनुहुन्छ । सखिया नाच नभए गाउँमा चाडपर्व आएको महसुस नहुने उहाँको भनाइ छ ।

Facebook Comments