काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आइतबार हुने भएको छ । त्यसमा १ सय ४२ खेलाडी सहभागी हुनेछन् । नेपाल क्रिकेट संघ क्यान का अनुसार कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएकामा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनका लागि चयन गरिएको हो ।
नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।
क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ । सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन् । यी सबै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।