सल्यान । सल्यानमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।
कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका १ का वडा अध्यक्ष रविलाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।
सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो ।
उहाँका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।