• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्पादनमा बदलिएको शोक




भिउमान पुन/अमाराज आचार्य

दाङ, २५ फागुन । परिवार जेनतेन चलेकै थियो । दुई छोरासहित घोराही–१८ स्थित ओतमा प्रताप पुन दम्पत्तिले मनग्य आर्थिक लाभको सपना देखिरहेका थिए । सन्ततीको उज्ज्वल भविष्यका लागि आर्थिक लाभको लोभले प्रतापलाई विस्तारै लोभ्याउँदै लग्यो ।

मुलुकमै स्वरोजगारको उपाय देखेनन्, उनले । त्यसपछि विदेश गएर मनग्य आर्थिक लाभ लिने योजनाका तानाबुना बुन्न थाले तर सानो मुलुकमा होइन, ठुलो मुलुकमा गएर लाखौँ आयआर्जन गर्ने लोभले प्रतापले आफूलाई अमेरिकाको बाटोमा डो¥याउने निर्णयमा पुगे । यो खबर परिवारलाई पनि सुनाए ।

सावित्रालाई श्रीमान परदेशी बनाउने मन थिएन तर अमेरिकामा पुगेपछि आर्थिक रूपमा परिवार बलियो बन्ने सुन्दर कल्पनाले सावित्रालाई कुतकुत्याइरहेको थियोे । केही समयपछि सपरिवार नै अमेरिकामा बस्ने सपना बोकेर तीन वर्ष अघि अमेरिकाको यात्रामा लागे, प्रताप तर उनको यात्रा अच्कल्टो बन्यो ।

उनको यात्रा दुबईमा रोकियो । उनी अमेरिका पुग्न पाएनन् । न त परिवारलाई अमेरिका लैजाने धोको पूरा गर्न सके । उनको सपना तुहिएन मात्रै, उनी आफैँ दुबईमा सेलाए । मनग्य आर्थिक लाभ लिने योजनाले तल्लोबाटो अमेरिका पुग्ने भनेर घरबाट हिँडेका प्रताप शव बनेर फर्किए । ‘अमेरिका पुगेर लाखौँ रकम कमाउने र परिवारलाई सुखसँग पाल्ने भनेर अमेरिका हिँड्नुभएका उहाँ (प्रताप) कहिल्यै नआउने गरी जानुभयो’, सावित्राले भनिन्, ‘दुबईमा उहाँलाई मारिदिए छन् ।’

उनका अनुसार प्रतापलाई उनकै दुई जना साथीले हत्या गरिदिएका थिए । यो खबर सावित्राले थाहा पाइन् तर सुरुमा उनलाई सत्य लागेन । ‘सुरुमा मलाई यो खबरप्रति विश्वास लागेन’, उनले भनिन्, ‘तर सत्य यही नै रहेछ, विश्वास नमानेर के गर्नु ?’ अमेरिका यात्रा तय गरेका प्रतापको दुबई पुग्दा झन्डै १० लाख बढी रकम खर्च भइसकेको थियो ।

उनको शव करिब एक महिना पछि काठमाडौंमा ल्याएर दाहसंस्कार गरिएको थियो । आर्थिक रूपमा परिवारलाई बलियो बनाउने सपना देखेर विदेश हिँडेका श्रीमान्को मृत्यु भएपछि परिवारको जिम्मेवारी सावित्राको काँधमा आइप¥यो । उता श्रीमान्को निधन यता अबोध सन्तानको पालनपोषणको जिम्मा आफ्नो काँधमा । जीवन विरक्तिएजस्तो भयो, उनको । तथापि दुई सन्तानका लागि आफूले हार्नु थिएन जित्नु थियो र बाँच्नु थियो अनि सन्तान बचाउनु थियो तर आयआर्जन गर्ने कुनै उपाय थिएन । आर्थिक अभावले उनलाइ दैनिकी चलाउन समेत समस्या बढ्दै गयो ।

आर्थिक समस्याले च्याप्दै गएपछि केही काम गर्ने योजना बनाइन् । ‘दैनिक खर्च बढ्दै गएको थियो, मनमा पीडा थियो तर पनि केही काम गर्नु पर्छ भनेर अगाडि बढेँ’, सावित्राले भनिन् । त्यसपछि उनले जग्गा भाडामा लिएर टमाटर खेती गर्न थालिन् । ‘अरू काम गर्नुभन्दा कृषि खेती गर्ने भनेर टमाटर खेती गर्न थालेको हँु’, सावित्राले भनिन् । घरमा बसेर कृषि खेती गर्न सकिने भएकाले टमाटर खेती गर्न थालेको उनको भनाइ छ । टमाटर गर्न थालेपछि घरव्यवहार चलाउन केही सहज भयो ।

टमाटर खेतीबाट भएको आम्दानीले सावित्राका दुई सन्तानले राम्रो शिक्षा आर्जन गर्न पाएका छन् । उनले दुई छोरालाई गोरखा बोर्डिङ स्कुलमा पढाइरहेकी छिन् । उनका एक छोराले कक्षा ५ र अर्कोले कक्षा ३ मा अध्ययन गर्ने गरेका छन् । यसैगरेर घरको सम्पूर्ण खर्च टमाटर खेतीबाट हुने आम्दानीले चलेको छ । ‘अरू आम्दानीको माध्यम छैन, टमाटर खेतीबाटै घर व्यवहार चलाएकी छु’, सावित्राले भनिन् ।

सावित्राले अहिले आफूसँगै टमाटर खेतीमा चार जनालाई रोजगार समेत दिएकी छन् । उनले करिब ३ वर्षदेखि टमाटर खेती गदै आएकी छिन् । उनले घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा एक बिगाहा जग्गा भाडामा लिएर टमाटर खेती गर्दै आएकी छिन् । प्रतिकट्ठा ५ हजारका दरले जग्गाको भाडा तिर्छिन्, उनले । टमाटर खेतीसँगै काँक्रा, सिमी, केराउ समेत उब्जाउने गरेको उनी बताउँछिन् ।

मसिनामा टमाटर खेती गरिरहेकी सावित्रालाई गाउँमा टमाटर खेती गर्न नदिने भनेपछि के गर्ने भन्ने चिन्ता बढ्न थाले उनले बताइन् । ‘अहिलेसम्म टमाटर खेती गरेर घरखर्च चलाइरहेकी छु, अब गाउँमा टमाटर खेती गर्न नदिने भनेका छन्, अब के गर्ने भन्ने चिन्ता छ’, सावित्राले भनिन् । विषादी प्रयोग नगर्ने टोलले गरेको निर्णय सावित्राको आयआर्जनको बाटोमा बाधक बनिदिने हो कि भन्ने त्रासदी उनलाई छ । अन्य खेतीभन्दा टमाटरबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । लगानी थोरै र आम्दानी धेरै हुने टमाटर खेती गर्त सहज हुने उनको बुझाइ छ ।

Facebook Comments