२०२२ सालमा स्याड्जाको साविक दरौ गाविसको कुन्चेबारीमा जन्मिएका पौडेलको परिवार २०३४ सालमा माडी बगौडा चौवाहमा बसाइँ सरेको थियो । कर्मथलोे माडीमै उनले अन्तिम श्वास लिए।
माडी बसाइँ सरेपछि उनले शिक्षा र राजनीतिक यात्रालाई अगाडि बढाए । २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलनमा होमिएका उनी पछिल्लो समय नेकपा केन्द्रीय सदस्य थिए।
माडी नगरपालिका मेयर एवं उनका राजनीतिक सहयात्री ठाकुर ढकालका अनुसार मोहनविक्रम सिंह र निर्मल लामानिकट नेकपा (चौथो महाधिवेशन)का विद्यार्थी संगठनबाट उनले राजनीति सुरु गरेका थिए । २०३९मा उनी उक्त विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य भए।
२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएका उनी दुई वर्षभित्रै चितवन जिल्ला सदस्य भए । तत्कालीन चौथो महाधिवेशनबाट प्रचण्डले नेतृत्व गरेको ‘मशाल’ (मोटो श)मा जोडिए उनी । पछि बाबुराम भट्टराईको नेतृत्वको ‘नेकपा मसाल’ सँग नजिकिए ।
२०४७ सालमा माडीको शीतलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि पौडेल अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य थिए ।
सर्वहारावादी श्रमिक संगठन, जनमुक्ति शहीद पार्टी हुँदै २०४९ सालमा नेकपा एकताकेन्द्रमा आबद्ध भए, जसको महासचिव थिए प्रचण्ड । २०५१ सालमा आइपुग्दा प्रचण्ड र बाबुरामहरूले जनयुद्धको बाटो समाते, नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेकपा एकता केन्द्र बन्यो।
प्रचण्डसँग पार्टी विभाजनपछि मोहनविक्रम नेतृत्वको मसाल र नारायणकाजी नेतृत्वको एकाताकेन्द्र मिलेर नेकपा एकताकेन्द्र मसाल बन्यो, जसमा पौडेलले केन्द्रीय सदस्यको जिम्मेवारी पाए।
यसबीच, २०४१ सालमा केन्द्रीय सदस्य हुँदै २०५१ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र) विभाजनपछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजकको जिम्मेवारीसमेत कुशलतापूर्व निर्वाह गरे।
२०५१ सालमा मसाल फुट्यो । उनी नारायणकाजीको एकताकेन्द्रसँगै रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि एकताकेन्द्र र माओवादी मिलेर एकीकृत माओवादीमा उनी पोलिटब्युरो सदस्य थिए । यसबीचमा उनी समानुपातिक तर्फबाट सभासद् र पछि शिक्षामन्त्री समेत भए।
दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् र पछि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डलमा शिक्षामन्त्री भए।
पछिल्लो समय उच्चस्तरीय शिक्षा आयोगमा पूर्वशिक्षामन्त्रीका रूपमा पौडेल सदस्य थिए ।
सादा र सरल जीवनशैली अपनाउँदै आएका पौडेलले दिवाकर भुसालको स्मृति पुस्तकको सम्पादन गरिरहेका थिए । मन्त्री हुँदा पनि उनी आर्थिक विवादमा कहिल्यै जोडिएनन् ।
पौडेलका सात दिदीबहिनी, एक भाइ, श्रीमती र दुई छोरी छन् । महिला आन्दोलनबाट आएका श्रीमती गंगा बेल्बासे नेकपा केन्द्रीय सदस्य हुन् ।
माओवादी र एमाले एकीकरण भएर नेकपामा बन्ने प्रक्रियामा भने धनीराम सन्तुष्ट थिएनन् । तर, पनि प्रक्रिया छाडेर हैन, जोडिएर संघर्ष गर्ने लाइन लिए उनले । नवगठित नेकपामा उनी केन्द्रीय सदस्य थिए।
उनले पटकपटक यस्ता असन्तुष्टि व्यक्त गर्ने गरेका थिए । पछिल्लो समयमा देखिएको वैचारिक संकटप्रति पौडेल चिन्तित थिए । सरकारले ०६४ र ०७० का संविधानसभा सदस्यहरुलाई ‘संविधानसभा पदक’ बाट सम्मान गर्दा मोहन वैद्य ‘किरण’लाई छुटाएको घटनाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
‘संविधानसभामा कार्यरत रहँदै गर्दा पार्टी निर्णय अनुसार राजिनामा दिएर सदस्यको रुपमा पदमुक्त भएका मोहन बैद्य ‘किरण’ को नाम समावेश रहेनछ । संविधानसभाको कार्यकाल बाँकी छँदै पदमुक्त भएकाको हकमा जुन सुकै कारणले पदमुक्त भएको भए पनि विभेद नगरी पदक दिएको भए राम्रो हुन्थ्यो होला कि ?’– उनले फेसबुकमार्फत सरकारलाई सुझाएका थिए ।
त्यसो त सरकारले विप्लव नेकपाप्रति लिएको नीतिसँग पनि उनी असन्तुष्ट रहँदै आएका थिए । गृहमन्त्रीले राजधानीको बमकाण्डमा मारिनेहरु नागरिक नभएको अभिव्यक्ति दिएपछि उनले फेसबुकबाटै कडा टिप्पणी गर्दै प्रश्न सोधेका थिए– ‘के कुनै पार्टीको कार्यकर्ता नागरिक हुँदैन ? एउटा पार्टीको नेतारकार्यकर्ताले अर्को पार्टीका कार्यकर्तालाई नागरिक नै होइनन् भन्न मिल्दैन ।
राजनीतिक पार्टीका कार्यकर्ता चाहे विप्लव नेतृत्वको नेकपाका हुन् चाहे नेकपा (नेकपा)का वा अन्य पार्टीका उनीहरु पनि यो देशका नागरिक हुन् । काठमाडौं विस्फोटमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता मारिएका हुन्, नेपाली नागरिक मरेका हुन ।’ त्यसो त उनले भोजपुरमा मारिएका विप्लव नेकपाका कार्यकर्तालाई सहिद घोषणा गर्नुपर्ने तर्क पनि अघि सारेका थिए ।
यस सन्दर्भमा उनले भनेका थिए– ‘विद्रोहीलाई जिस्क्याएर राज्यसत्ताले हत्या र ईन्काउन्टरको नीति लिन थाल्ने हो भने विद्रोह नजिकिन्छ भन्ने कुरा त बादल कामरेडलाई थाह हुनु नै पर्ने हो ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।