भ्यूमान पुन
घोराही । नेपाल मगर संघको ४२ औं स्थापना दिवस घोराहीमा मनाइएको छ । मगर समुदायलाई एकतावद्ध गराउन मगर संघ स्थापना गरिएको दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको छ ।
घोराहीमा गरिएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले मगर समुदायको कला, संस्कृति, भेषभुषा तथा मातृभाषा संरक्षणका लागि एकजुट भएर लाग्न जोड दिए । उनीहरुले मगर खाम भाषामै अध्ययन अध्यापनको माग समेत गरे । कार्यक्रममा प्रमुख अतिथी एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मगर खाम भाषामै शिक्षा प्रदान गर्न तयारी भइरहेको बताउनुभयो । मगर समुदायको पहिचान र विकासका लागि राजाको नाममा रहेको पार्कलाई प्रथम सहिद लखन थापाको नाममा नामाकरण गर्ने काम स्थानीय सरकारले गरेको भन्दै समग्र समुदायको विकासका लागि तयार रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथी एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले मगर समुदाय आफै एकतावद्ध हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा एकताको कुरा गर्ने तर चुनावमा विर्सिने काम भएको भन्दै दुख व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष एवं दाङ इन्चार्ज दर्जित बुढामगरले मगर समुदायलाई एकतावद्ध हुन नदिने प्रयास भइरहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले मगर समुदायको एकता दिवसकै रुपमा रहेको स्थापना दिवसमा एक दिन सार्वजनिक विदा दिनुपर्ने बताउनुभयो ।
नेपाल मगर संघ दाङका कार्यबहाक अध्यक्ष मुक्त बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा राना, नेपाल मगर संघका निवर्तमान अध्यक्ष खलु पुनमगर, पूर्व अध्यक्ष जंगबहादुर पुन मगर, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोकामगर, मंगोल नेष्नल अर्गनाइजेशनका राजबहादुर घर्ती, मगर संघका सल्लाहकार भानसिंह बुढामगर, दाङ उवासंघका सदस्य मिनबहादुर बुढाथोकीले शुभकामना व्यक्त गर्नुभएको थियो । संघका उपाध्यक्ष प्रेमबहादुर बुढामगरले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सहसचिव नरेन्द्र बुढामगरले गर्नुभएको थियो । सभा हुनुअघि बाजा, मगर भेषभुषासहितको झाँकीले घोराही बजार परिक्रमा गरिएको थियो ।
उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार
नेपाल मगर संघ स्थापना दिवसको अवसर पारेर जिल्लामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने दुई जना छात्र,छात्रालाई पुरस्कार तथा चार जना छात्र छात्रालाई सम्मान गरिएको छ । नेपाल मगर संघका पूर्व अध्यक्ष एवं पूर्व व्रिटिस आर्मी जंगबहादुर पुनले बुवा नन्दलाल र आमा सम्झना पुनको स्मृतिमा स्थापना गरेको ५ लाखको नन्दलाल–सम्झना स्मृति अक्षयकोषबाट प्राप्त व्याज रकमले गुरुजजुर मावि रक्षाचौरकी ममता बुढामगर र आदर्श मावि देउपुर देउखुरीका चुडामणी पुनमगरलाई जनही १६ हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यस्तै बराहक्षेत्र मावि घोराहीकी दिपीका घर्तीमगर, आदर्श मावि देउपुरकी पूर्णिमा घर्तीमगर, मावि रझेनाकी रुक्मीना पुन मगर र मावि अश्वाराका ओमविक्रम आलेमगरलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा युगबोधकर्मी फोटो पत्रकार कुलदीप न्यौपानेलाई पनि मगर संघले सम्मान गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।