सल्यान । बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले सल्यानका सामुदायिक बिद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाइ तिब्रता दिइएको छ । चालू आर्थिक बर्षको हाल सम्म जिल्लाका २४ सामुदायिक बिद्यालयमा पुस्तकालय संचालनमा आएका छन् । जिल्लाका स्थानीय तह, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालमैत्री पुस्तकालय स्थापनाको अभियानलाई तिब्रता दिइएको हो ।
बुधबार मात्रै जिल्लाको बागचौर नगरपालिकामा ८ वटा बालमैत्री पुस्तकालय उद्घाटन भएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । सरस्वती माबि जामुनेचौर, अमरज्योती माबि, शिशु जागरण माबि खोरबारे, महेन्द्र माबि पिपलनेटा, सरस्वती आबि चिनाली, जनचेतना आबि दह, राष्ट्रिय आबि बैलडांडा र शिसुकल्याण आबि हारिचारमा बालमैत्री पुस्तकालय उद्घाटन गरिएको हो ।
४ वटा बिद्यालयमा पुस्तकालय उद्घाटन गर्दै बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले विद्यालयमा शैक्षिक गुणस्तर बढाउन पुस्तकालयको महत्वपुर्ण भुमिका हुने बताए । बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला रमाइला बालकथाका पुस्तक पढ्न पाउने, आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्न पाउने भएकाले शैक्षिक क्षेत्रमा यो निकै महत्वपूर्ण लगानी रहेको उनको भनाइ छ ।
पुस्तकालय उद्घाटन कार्यक्रममा विभिन्न बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष, शिक्षा शाखा तथा रुम टु रिड र दलित बिकास समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बालबालिकाको पढ्ने सीप र बानीको बिकास गरि स्वतन्त्र पाठक बनाउने उदेश्यले नगरपालिकासंगको साझेदारीमा बालपुस्तकालय खोलिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत पोखरेलले जनाए । उनले भने, “कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने भिभिन्न अध्यनले देखाएको छ । बालवालिकालाई आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गर्नका लागि पुस्तकालय संचालनमा ल्याइएका हुन् ।”
यस अघि बागचौरकै दुर्गा सरस्वती माबिमा तथा छत्रेश्वरी र त्रिवेणि गाउँपालिकामा ६/६ वटा एवम दार्मा गाउँपालिकामा ३ वटा बाल पुस्तकालय संचालनमा आइसकेका छन् । बालचित्र, कथा कलगायतका पुस्तक पढ्न पाउँदा स–साना विद्यार्थीमा पठनसीपको विकास संगै उनीहरुलाई अध्ययनशील पनि बनाउने भएकाले बालबालिकाहरुको व्यक्तित्व विकासमा बालपुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक टेकराज शाहीले बताए । सामुदायिक विद्यालयका बालबालिकालाई पुस्तकप्रेमी बनाउन अभिभावक संगै स्थानीय तह, शिक्षक तथा विद्यालय व्यवस्थापक एवम् सरोकारवालाहरुले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।